सलमान कुट्नुस्, दुई लाख पाउनुस् !

बलिउड अभिनेता सलमान खानको होम प्रोडक्सन फिल्म ‘लवरात्री’समस्यामा फसेको छ । यो फिल्मको नाम प्रति हिन्दूवादीहरुले आपत्ति जनाएका छन् । हिन्दूहरुको चाड ‘नवरात्री’ वा ‘शिवरात्री’ लाई होच्याउने खालको नाम भएको कारण विश्व हिन्दू परिषदले यो नाममा आपत्ति जनाएको थियो र फिल्म रिलिज हुन नदिने चेतावनी दिएको थियो । तर, अहिले अर्को हिन्दू संगठन ‘हिन्दू हि आगे’ले अझ कडा चेतावनी दिएको छ । उसले सलमानलाई कुट्नेलाई दुई लाख ईनाम दिने घोषणा गरेको छ । संगठन प्रमुख गोविन्द परासरले भिडभाडमा सलमान खानलाई घाइते हुने गरी पिट्नेलाई दुई लाख दिइने बताए ।

विरोध आएपछि सलमानले लवरात्री नाम परिवर्तन गर्ने मनसाय बनाइसकेका थिए । उनले वैकल्पिन नामको सिफारिस गर्न सबैसँग आग्रह गरेका थिए । तर, अहिलेसम्म नाम परिवर्तन भने गरिएको छैन । यो फिल्मबाट सलमान खानले आफ्ना ज्वाईं आयूष शर्मालाई डेब्यू गराउँदैछन् ।

यसअघि सञ्जय लिला भन्सालीको फिल्म पद्मावतले पनि धार्मिक समुहहरुबाट विवादको सामना गर्नुपरेको थियो । फिल्म रिलिज गर्न नै मुस्किल भएको थियो । पछि ‘पद्मावती’ बाट ‘पद्मावत’ बनाएर प्रदर्शन गरियो र फिल्मले राम्रो कमाई पनि गर्यो । सलमानको फिल्मलाई पनि यो विवादले कत्तिको फाइदा मिल्ने हो हेर्न बाकी छ ।