स्टारको दौडमा पल कहाँ छन् ?

केही महिना अगाडीसम्म नायक पल शाहको तामझाम निकै थियो । उनलाई लिएर फिल्म बनाउन चाहने निर्माताहरुको लाम लामै थियो । ‘नाई नभन्नु ल ४’ बाट फिल्ममा डेब्यु गरेका उनले त्यस यता फिल्म ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेन्टल मेन’, ‘शत्रु गते’ लगायतमा अभिनय गरे ।

उनले पछिल्लो समय अभिनय गरेको फिल्म शत्रु गतेले प्रदर्शनको ५१ दिन मनाउन सफल भयो तर त्यसको जस पलले प्राप्त गर्न सकेनन । उनको अभिनयको तारिफ पनि उति हुन सकेन । जोनी जेन्टल मेन बाट झन्डै सुतेका पललाई शत्रु गतेले उठाउन त उठायो तर उनलाई ब्यस्त बनाउन सकेन ।

हुन त पल आँफैले शत्रु गते पछी केही समय फिल्ममा ब्रेक लिने बताएका थिए । तर, केहि समय भन्दा पनि ७४ सकिएर ७५ सालको पनि दोश्रो महिनाको अन्त्यतिर आउँदासम्म पल कुनै फिल्ममा आबद्ध भएको खबर बाहिरिएको छैन । आतारिक कुरा उनलाई नै थाहा होला तर यहाँ जसको हल्ला धेरै हुन्छ उही चल्ने गर्छ ।

उनी पछिल्लो समय फिल्ममा भन्दा पनि म्युजिक भिडियोमा नै रमाइरहेका छन । म्युजिक भिडियोबाट छोटो समयमा राम्रो कमाइ हुने भएकाले पनि होला पल म्युजिक भिडियोमा लोभिएका ।

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा युवा स्टारहरुको दबदबा छ । गन्ति गर्ने हो भने एक हातका औँला पनि बढी हुने नेपाली युवा स्टारहरुको भिडमा पल बलियो सहभागी बनेका थिए । तर पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिनुले कतै उनको त्यो सहभागिता फितलो हुने त होइन भन्ने चर्चा चल्न थालेको छ । यो पनि भन्न थालिएको छ की ‘स्टारको दौडमा पल कहाँ छन् ?’

म्युजिक भिडियोमा नै रमाइरहेका उनले अब भने सोच्ने बेला आएको छ । ब्रेक लिएर बस्दा बस्दै यस्तो होला कि निर्माता निर्देशकले पल शाह पनि छन भन्ने नै बिर्सेंलान ।
सम्पर्कमा समेत खासै नआउने पलले पछी आँफैले सम्पर्क गर्दा पनि कोही नभेटिएलान ।

एकातिर उनलाई सोलो हिरो लिन निर्माता निर्देशक तर्सिएका छन अर्कोतिर पल मल्टिस्टारर फिल्म खेल्दा आफु छाँयामा पर्छु कि भनेर तर्सिएका छन । यो तर्साइले घाटा पललाई नै छ ।