निश्चललाई निर्देशन भन्दा अभिनय प्यारो

निश्चल बस्नेत नेपाली फिल्मलाई संकटकालबाट जोगाउने व्यक्ति हुन् । फिल्म लाइनमा संकटकाल लगाउन तयार भएकै समयमा उनले लुट बनाए । लुटले संकटकालको अवस्थालाई पार गरिदियो । लुट निर्देशन गरेका निश्चल सेलिव्रेटी भए । उनलाई नेपाली फिल्म बनाउन जान्ने निर्देशक भनेर हेरियो ।

निश्चलले लुट बनाएपछि टलकजंग भर्सेस टुल्के र लुट २ बनाए । दुबै फिल्मले लुटको जस्तो संचारमाध्यममा चर्चा पाए तर व्यापार कम गरे । दुबै फिल्मबाट निश्चललाई लुटको जस्तो क्रेडिट मिलेन । लुट २ आफूले दर्शकको अपेक्षा अनुसार बनाउन नसकेको निश्चलले स्विकार गरिसकेका छन् ।

लुट २ पछि निश्चल आइटम ब्वाई पनि भए, हिरो पनि भए । २ रुपैयाँमा हिरो भए, काले दाई काले दाई गीतमा आइटम ब्वाई भए । निश्चलले अर्को फिल्म बनाउने भनेर खबर पनि आएका थिए । तर, निश्चलले विपिन कार्कीलाई लिएर बनाउन लागेको फिल्मको निर्माण काम स्थगित भयो ।

निश्चल फिल्म निर्देशन गर्न डराइरहेका छन् । उनलाई आफूले पाएको हाइप गुम्ला कि भन्ने डर छ । यसैले उनी निर्देशन भन्दा अभिनयमा तल्लिन छन् । उनले, निर्देशक दिनेश राउतको फिल्म प्रसादमा काम गर्दैछन् । विपिन कार्की र नम्रता श्रेष्ठको अपोजिटमा उनी देखिने छन् ।

निश्चलको काम गराई हेर्दा अझै उनी फिल्म निर्देशन गरिहाल्ने मुडमा छैनन् । फिल्म निर्देशन अपजसको पेशा हो । अभिनयबाट स्टार बन्न पनि सकिन्छ । निश्चललाई निर्देशन भन्दा अभिनय प्यारो लाग्न थालेको छ ।