मसँग निर्देशक बन्ने क्षमता छैन : बिपना थापा

माइती आएको हुँ । खासमा भन्नु पर्दा छोराको छुट्टी छ । त्यसको सदुपयोग गर्नको लागि पनि हो । नेपाल आइराख्छु ।

नेपाली फिल्म इन्डस्ट्रीमा केही योजना छ ? नेपाली फिल्म क्षेत्रको लागि ?

म त्यसरी बिदेशिएर गएको चाँही होइन । बिहे गरेपछी आफ्नो श्रीमानको घर जहाँ छ त्यहाँ बस्नुपर्ने हुन्छ हरेक हिन्दू नारीले । हिन्दू सस्कृतिको कारणले पनि । इन्डस्ट्री छोडेर बिदेश गएको चाँही होइन । एउटा परम्परागत विवाह गरेर पतिको घरमा गएको हो ।

तर, माया लाग्छ धेरै नै इन्डस्ट्रीको । बिपना थापा भनेर आमा बाबुले जन्माए पनि चिनाएको इन्डस्ट्रीले नै हो । इन्डस्ट्रीबाट टाढा भएको हैन । कुनै न कुनै रुपमा इन्भल्व छु । एभ्रेस्ट एकेडेमीमा एडभाइजरको रुपमा पनि छु । अरु धेरै संघ सस्थाहरुमा छु । फिल्ममा एक्टिङ मात्रै गर्न नपाएको हो ।

विवाह पछि एक्टिङ चटक्कै छाड्नु भो ?
समय परिस्थितीले गराएको हो । बच्चा भयो । मैले जीवनमा हरेक रोल गर्नु पर्छ । घरमा छोरी भएर छोरीको रोलमा पनि एउटा नमुना बनेर बसेको इन्डस्ट्रीमा पनि सबैको माया पाएर सक्सेस हिरोइनभन्दा पनि सक्सेस कलाकार विपनाको रुपमा सपोर्ट गर्नु भयो । मेरो परिचय बनाइदिनु भयो । इन्डस्ट्रीलाई कहिल्यै पनि माया मार्न सक्दिन ।

कम्ब्याकको सम्भावना छ ?
पक्कै पनि कमब्याक त गर्नु नै छ । बच्चाले गर्द अलिकती टाढा भएको थिए म । अब छोरा पनि ठुलो भइसक्यो । एक्ट्रेसभन्दा पनि कलाकारको रुपमा र अरु कुनै तरिकाबाट छिट्टै नै इन्भल्व चाहिँ हुन्छु ।

निर्माताको रुपमा हामीले हेर्न पाउने हो ?
हेरौँ, एउटा सर्प्राइज प्याकेजको रुपमा आउन सक्छु । इन्डस्ट्रीमा मैले योगदान गरेकोभन्दा पनि मैले धेरै कुरा पाएको छु । बिशेषत दर्शकहरुको माया पाएको छु । इन्डस्ट्रिमा एउटा कलाकारको रुपमा सन्देश दिने काम चाहिँ मैले गरेको थिए होला ।

अभिनेत्री वा कलाकारको रुपमा । तर, त्यो भन्दा पनि धेरै माया मैले पाएको छु । त्यो मायाको ऋण तिर्न त नसकूँला तर पक्कै पनि इन्डस्ट्रीका लागि केही गर्नेछु ।

तपाईंले काम गर्दाको फिल्म इन्डस्ट्री र अहिलेको फिल्म इन्डस्ट्री कस्तो देख्नु भएको छ ?
धेरै फरक चाँही पाइन । लास्ट टाइम ‘सुनकेशरी’ फिल्म हेरेको थिए । तेती धेरै फरक पाइन । सुनकेशरी भन्दा धेरै राम्रा फिल्महरु पहिला पनि थिए । त्योभन्दा धेरै नराम्रा फिल्म पनि थिए । टेक्नोलोजी चाँही धेरै राम्रो छ अहिले ।

नेपाली इन्डस्ट्रीको पहिलो सिनेमास्कोप फिल्म ‘माइली’मा मैले गरेको थिए । अहिले सबै डिजिटलाइजेसन भएसक्यो । अरु त खासै त्यस्तो धेरै परिवर्तन पाइन मैले ।

अहिले हिरोइन कै अभाव छ भनिन्छ ?
अहिले पनि छन । पहिला चाँही हिरोइन भन्दा कलाकारको रुपमा प्रेजेन्ट हुन्थ्यौँ हामी सो पिस, डमी भन्दा पनि । पब्लिक रिलेसन, संचारकर्मीसँगको सम्बन्ध लगायत सम्पूर्णसँग पारिवारिक बातावरण हुन्थ्यो, मेहेनत हुन्थ्यो । प्रोफेसनल पनि धेरै थिए पहिला । त्यो कुराहरुमा अहिलेको कलाकारहरुले अझ धेरै गर्नु पर्छ ।

किनभने, वहाँहरुसँग धेरै सुबिधा छ पहिले हाम्रो पालाको तुलनामा । मैले १०० भन्दा बढी फिल्ममा त ड्रेस डेजाइन पनि गरेको छु । धेरै रमाइलो बातावरण थियो । अहिले कलाकारले पनि धेरै मेहेनत गर्नु पर्छ । आफ्नो मात्रै सोच्ने होइन इन्डस्ट्रीलाई कसरी अगाडि बढाउने कसरी राम्रो फिल्म दिने भन्ने कुरामा सबैले ध्यान दिनु पर्छ ।

कलाकार र हिरोइन भनिरहनु भएको छ । के फरक छ ?
फरक छ । हिरोइन भनेको एउटा निस्चित समयसम्म पर्दामा देखिने हो साथै राम्रो लुक्स हुनु पर्यो फिगर हाइट एक्टिङ पनि हुन पर्यो । समग्रमा भन्दा बाहिरी आवरण देख्दा नै वाह भन्ने हुनै पर्छ हिरोइन । अब कलाकारले कला प्रदर्शन गर्ने हो । उसको देखावटी रुपभन्दा पनि कला राम्रो हुन पर्छ ।

त्यसो भए पछिल्लो समय फिल्म क्षेत्रमा कलाकारको उपस्थिती धेरै छ कि हिरो-हिरोइनहरुको ?
म महिला भएकाले बिशेष महिलाकै कुरागर्छु । केही समय अगाडीसम्म महिलामुखी फिल्म नै बन्दैन थियो । आजकल ‘सुनकेशरी’, ‘रोजी’ जस्ता महिला केन्द्रित फिल्म बन्न थालेका छन् । त्यसले चाहिँ एउटा हिरोइनलाई कलाकार बन्ने मौका दिन्छ ।

हिरोइनलाई कलाकार बन्न एउटा राम्रो कथा, स्ट्रोङ रोल चाहिन्छ । उसले त्यसमा आफ्नो कला निखार्न सक्छ । अझ भनौँ सहयोग गर्छ । त्यस्तो फिल्मको ग्याप भएको थियो । अहिले पनि ट्यालेन्टेड हिरोइनहरु छन । सम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियंका कार्की, रिचा शर्मा लगायतको अभिनय धेरै राम्रो छ ।

बिचमा चाहिँ दु:ख लागेको थियो । धेरै समस्या देखिएको थियो तर अब राम्रो हुँदै आएको छ ।

बिहे अगाडी पाएको चिज जुन तपाईंले बिहे पछाडि गुमाउनु भयो ?
म फिल्म, पारिवारिक जिम्मेवारी, पत्नी, बुहारी, गृहिणी, आमा सबै भुमिकामा सफल बन्न चाहन्थेँ । मलाई लाग्दैन मैले केही गुमाए । कहिले काहीँ चाहीं अभिनयको भोक भएकोले अभिनय गर्न मन लाग्थ्यो तर म टाढा भएकोले र बच्चा सानु भएकोले सम्भव भएन । काठमाडौंमा भएको भए कुनै न कुनै तरिकले इन्भल्व हुन्थेँ होला । पछुतो चाहिँ छैन ।

मेरो इन्डस्ट्री हो मेरो ठाउँ हो कुनै न कुनै तरिकाबाट गर्न सकिहाल्छु नि । मलाई दर्शकहरुले माया मार्नु भएको छैन । म एउटा हिरोइन मात्रा नभएर एउटा कलाकार पनि हो । कलाकारको कुनै बोर्डर हुँदैन । कहाँसम्म काम गर्ने भन्ने । जिन्दगी मा ३ वटा कुरालाई अपनाएर हिन्छु अन्डरस्ट्यान्डिङ, कम्प्रमाइज र स्ट्रगल । त्यसैले म मेरो पारिवारिक जिन्दगीमा पनि खुशी छु ।

सबै भन्दा ठुलो कम्प्रमाइज के थियो ?
इन्डस्ट्रीबाट १० बर्ष टाढा बस्नु नै हो । बिपन थापा बिर्सेंर बिपना भारद्वाज भएर बसेँ । म दिल्ली, मुम्बई होइन मथुरा जस्तो धार्मिक स्थलमा बस्छु । बिकासको हिसावले पछाडी छ । म काठमाडौं मै जन्मेर हुर्केको त्यो ठाउँँमा बस्न अलिकती कम्प्रमाइज त गर्नै पर्यो् ।
अन्डरस्ट्यान्डिङमा आउन कती मेरो श्रीमानको कुरा मैले बुझे कती मेरो कुरा मेरो परिवार र श्रीमानले बुझ्नु भयो ।

जिन्दगी भरी स्ट्रगल नै गर्ने हो । खानको लागि, बाँच्नको लागि सबै कुरामा । त्यो कहिले अन्त्य हुँदैन । यि तीन कुरा सबैको जिन्दगीमा हुन्छ । यो कुरालाई कसैले सही तरिकाले एड्जस्ट गर्न सक्छ कसैले सक्दैन त्यती नै हो ।

पछिल्लो समय तपाईका सहकर्मी महिलाहरु निर्देशक बन्न थाल्नु भएको छ । तपाइको पनि सोच छ कि ?
मसँग त्यत्रो क्षमाता छैन कि म निर्देशक बन्न सकुँ । वहाँहरुसँग क्षमता थियो बन्नु भयो । म सँग छैन । मैले १०० भन्दा बढी फिल्ममा अभिनय गरिसकेको छु भन्दैमा निर्देशक बन्ने हैसियत राख्छु भन्ने पनि होइन । जे चिज गर्न सक्दिन त्यो गर्दिन ।

दर्शकलाई कसरी सम्झिनु हुन्छ ?
धेरै सम्झिन्छु । धेरै माया दिनुभएको छ मलाई । अब त चिन्नुहुन्न होला जस्तो लग्थ्यो । तर बाटोमा हिन्दा पनि अझै सबैले बोलाउनु हुन्छ । म फिल्मको पर्दाबाट टाढा भएको भए पनि अझै पनि त्यही माया पाएको छु । उहाँहरुको मनको पर्दामा अझै बसेको रहेछु ।

अब सबैले ब्याक हुन पर्यो भन्नु भएको छ । चाँडै त्यो पनि सम्भव होला । हेरौँ के के हुन्छ । कुन रुपमा कमब्याक हुन्छ । त्यो सरप्राइज प्याकेज हुनेछ ।