नेपालकै सबै भन्दा बढी पुरस्कार राशीको फोटो प्रतियोगिता घोषणा

नेपाली फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा फोटो प्रतियोगिता तथा प्रदर्शनीको छैटौं संस्करणको घोषणा गरेको छ । राजधानीमा बुधबार एक कार्यक्रमका बीच क्लबले पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले बुधबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेभसाइटमा गएर फोटो दर्ता गर्न सकिने छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबै फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् ।

बुधबारबाट सुरु हुने दर्ता प्रक्रिया असार ६ गते सम्म चल्ने छ । पुरस्कार वितरणपछि साउन १५ देखि २१  गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढी उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । त्यस पछि विराटनगर, धनगढी, नेपालगञ्ज र पोखरामामा पनि फोटो प्रदर्शनी गरिने छ ।

आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा हुन लागेको प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आइएमएस डेली लाइफ, ३एक्सपिरीयन्स नेपाल कल्चर एण्ड टुरिजम,  नेचर एण्ड वाइल्डलाइफ, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछ ।

५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

कार्यक्रममा मुख्य प्रायोजक आइएमई समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीको प्रायोजनलाई निरन्तरता दिइने वचन दिए । नेपाल चेम्बर अफ कमर्स तथा आइएमएसका अध्यक्ष दीपक मलहोत्राले यस्ता प्रतियोगिताको आयोजना गरेर पिजे क्लबले सह्रानीय काम गरेको बताए । उनले भने, ‘ हामी ६ वर्षदेखि साथमा छौं । हरेक वर्ष सहयोग गर्न तत्पर छौं ।’

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहँदै आएको विचार राखे । उनले भने, ‘फोटोले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गरेको छ । हामी पिजे क्लबसँग हातेमालो गर्न पाउँदा आभारी छौं । सधैं साथ रहने छ ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले फोटोले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले बोर्डले सधैं यस्ता कार्यकक्रमलाई सहकर्मीको रुपमा साथ दिने बताए । यसैगरी शिखर इन्स्योरेन्सका म्यानेजर सुरज राजबहाकले पिजे क्लबले आयोजना गर्दै आएको यो प्रतियोगितामा आफ्नो कम्पनीले तीन वर्षदेखि सहकार्य गर्न पाउँदा खुशी महसुश गरेको बताए ।

डिस मिडियाका मार्केटिङ म्यानेजर मनोज न्यौपानेले लामो समयदेखि यो प्रतियोगिता आयोजना भएको भएपनि आफूहरु यो पटकदेखि जोडिन पाउँदा खुशी लागेको बताए । यस्तै अर्घाखाँची सिमेन्टका जनरल म्यानेजर रमेश थापाले पाँचौं र छैटौं संस्करणमा आवद्ध हुन पाउँदा खुशी लागेको बताए । मनराम ग्रुप तथा नेप्टोसका अध्यक्ष सुजन कुमार श्रेष्ठले फोटोको माध्यमबाट अभिव्यक्त गर्दा यथार्थ देख्न सकिने र प्रत्येक फोटोले कहानी उद्घोष गर्ने भएकोले यस्ता प्रतियोगिताको महत्व रहेको बताए ।