अनमोलको बलिउड फिल्म : सम्पूर्ण तयारी पूरा

नेपाली सुपर स्टार अनमोल केसी छिटै नै बलिउड इन्ट्री गर्दै छन् । उनले सुप्रशिद्ध म्युजिक कम्पनि वल्डवाइड रेकर्ड्ससंग काम गर्न लागेका हुन् । नेपाल र भारतको संयुक्त लगानीमा नेपाली र हिन्दी भाषामा बन्न लागेको फिल्ममा नायकका रूपमा काम गर्ने पक्का भएसँगै अनमोलको बलिउड इन्ट्री पक्का भएको हो ।

नाम फाइनल भइनसकेको फिल्मको निर्देशन अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी र भारतका रत्नाकार कुमारले संयुक्त रूपमा गर्नेछन् भने कथा मनोज नारायणको रहनेछ । भुवन केसीले नेपाल र भारतको संयुक्त लगानीमा बन्न लागेको उक्त फिल्म नेपाली र भारतीय दुवै भाषामा बन्ने र गीत पनि दुवै भाषामा तयार हुने बताए । फागुन १५ गते फ्लोरमा जाने फिल्मको सुटिङ नेपाल र मरिसस तथा केही मुम्बईमा हुने बताईएको छ। यस फिल्ममा नेपालसँगै बलिउडका कलाकारसमेत रहने छन् ।

नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा इन्ट्री शीर्षकमा पुणेबाट प्रकाशित एक भारतीय पत्रिकामा प्रकाशित समाचार अनमोलले आफ्नो फेसबुकमा सेयर गर्दै दर्शकलाई बलिउड डेब्युको संकेत दिएका हुन् । बलिउडका विभिन्न गतिविधि तथा कलाकारका समाचारसमेत छापिएको सो पत्रिकाको पृष्ठ सेयर गर्दै अनमोलले लेखेका छन् – ‘अन माइ वे : टिकेट टु बलिउड।’

हाल होम प्रोजेक्टको फिल्म क्याप्टेनको सुटिङमा व्यस्त अनमोलले केही दिनअघि मात्र झरना थापा दम्पतीको फिल्म ए मेरो हजुर-३ र मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘ब्याचलर बन्टी’ मा साइन गरेका थिए । ‘क्याप्टेन’ भदौ २९ अथवा असोज ५ गते रिलिज हुने छ भने ‘ए मेरो हजुर-३’ भदौमा सुटिङ भए पनि आगामी वैशाख १ मा मात्र रिलिज हुनेछ ।