घले गाउँमा ‘छक्का पन्जा ३’को एक्सन

बैशाख २८ गते देखि छायाङ्कन सुरु गरेको फिल्म छक्का पन्जा ३ यतिबेला सुटिङका लागि पोखर स्थित घले गाउँ पुगेको छ । घले गाउँमा छायाङ्कन गर्दै गर्दाको एक फोटो निर्माता कलाकार दिपकराज गिरिले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेका छन । जसमा फिल्मका ४ कलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), बुद्धी तामाङ (हैट)को एक्सन अवतार देख्न सकिन्छ भने निर्देशक दिपाश्री निरौलाले फ्रेम डिरेक्सन गर्दै गरेकी छिन् ।

काठमाडौंमा शुभ मुर्हत गर्दै सुरु भएको फिल्मको छायाङ्कन चित्लाङ, बाग्लुङ, पर्वत हुँदै पोखरा पुगेको हो । पोखरमा केही दिनको सुटिङ सेड्युल सकेर फिल्म यूनिट काठमाडौं फर्किने र बाँकी छायाङ्कन काठमाडौंमै गरिने निर्माता/कलाकार दिपकराज गिरीले बताएका छन ।

फिल्ममा दीपकसँगै दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, संजोग कोइराला लगायतका कलाकारको अभिनय रहेको छ भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

फिल्मको शुभ मुर्हत हुँदा नायक पुष्प खड्का छक्का पन्जा यूनिटसँग जोडीएका थिए तर पछी कुरा नमिलेको भन्दै उनले फिल्म छोडे र उनको ठाउँमा संजोग कोइरालाको इन्ट्री भएको थियो ।

फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ । ‘छक्का पञ्जा ३’मा कथा दिपकराज गिरीको हो भने संवाद दिपकसँगै जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको रहेको छ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउनेछ ।