एक महिनामै ठूली भइन् स्वस्तिमा ?

फिल्म छक्का पन्जा ३ मा अभिनेत्री स्वस्तिमा खड्काले काम नगर्नुको कारण, उनको उमेरलाई बताइएको थियो । निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीले दिपिका प्रसाई ठिक्क भएकाले लिएको बताएका थिए । स्वस्तिमा सानी र प्रियंका ठूली भएको कारण दिपकले दिएका थिए ।

दिपकका लागि १ महिना अघिसम्म सानी भएकी स्वस्तिमा अहिले ठूली भएकी छिन् । किनकी, स्वस्तिमा छक्का पन्जा ३ मा पनि छिन् । छक्का पन्जा ३ को थोरै सिन र गीतमा स्वस्तिमा देखिनेछिन् । स्वस्तिमा फिल्मको छायांकनका लागि पोखरामा छिन् । दिपकका लागि एक महिना अघिसम्म सानी भएकी स्वस्तिमा एक महिनामै ठूली हुनुको कारण के होला ?

स्वस्तिमाले जय भोले फिल्ममा काम गरेकी छिन् । जय भोले दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पन्जा ३सँग जुध्न लागेको फिल्म हो । जय भोलेकी एउटी मात्र हिरोइन स्वस्तिमा हुन् । स्वस्तिमालाई आफ्नो फिल्ममा राख्दा जय भोलेलाई अझ असर पर्ने सोच दिपकराज गिरीमा आएको हुनसक्छ ।

फिल्मको व्यापार गर्न खेलाडी भैसकेका दिपकले सानी स्वस्तिमालाई ठूली बनाएर फिल्म खेलाएका छन् । उनको यो आइडियाले काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ । तर, स्वस्तिमाको छोटो उपस्थितीले छक्का पन्जा ३ लाई फाइदा गर्ला कि नगर्ला त ? दशैको फूलपातिमा छिनोफानो हुनेछ ।