सलोनले पाएको अवसर

सलोन बस्नेत नेपाली फिल्म क्षेत्रमा आफ्नो उमेरभन्दा बढी फिल्म खेल्ने नायकका रुपमा चिनिन्छन् । १७ बर्ष अगाडी फिल्म ‘नेपाली बाबु’मा बाल कलाकारको रुपमा अभिनय गरेका उनले ४ दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । पछिल्लो समय उनको अभिनय दमदार बन्दै गएको छ ।

उनले लिड कलाकारलाई समेत छायाँमा पार्न थालेका छन् । मुख्यभन्दा पनि सहायक भूमिकामा नै उनी चर्चित छन् । उनलाई मुख्य भुमिकामा लिन अझै निर्माता निर्देशकहरु हच्किरहेका छन् । लिड रोलमा रहेको फिल्मले आजसम्म पनि उनलाई सफलताको स्वाद चाख्न दिएको छैन । बिहीबार उनै सलोन बस्नेत अभिनित फिल्म ‘जय भोले’को राजनराज सिवाकोटीको शब्द, संगीत अनि स्वर रहेको गीत ‘उम्लियो भने पोखिन्छ’ सार्वजनिक भएको छ । गीतको भिडियोमा उनले निकै राम्रो नृत्य प्रस्तुत गरेका छन् ।

पछिल्लो समय एकदमै रुचाइएकी नायिका स्वस्तिमासँग नाच्न पाउनु उनको लागि अर्को अवसर बनेको छ, चर्चाका लागि । स्वस्तिमा र उनको जोडी निकै मिलेको पनि देखिन्छ । राजनराज सिवाकोटी हिट र सफल संगीतकार र गायकमा पर्छन् । उनको धेरै गीतहरुले करोड भ्युज पार गरेका छन् । राजनराजको गीत ‘कुटुमा कुटु’ले त ६ करोड भ्युज पार गरिसकेको छ । यस गीतको भिडियोमा स्वस्तिमा नाचेकी थिइन् । राजनराजकै संगीतमा तयार भएको यस गीतमा पनि स्वस्तिमा जोडीएकी छिन् । र, स्वस्तिमासँग सलोन । त्यसैले पनि सलोनको लागि सफल हुन र चर्चा बटुल्न यो गीत ठूलो अवसर बन्ने देखिन्छ ।

वसन्त श्रेष्ठको नृत्य निर्देशनमा तयार भएको भिडियोमा सौगात मल्ल र खगेन्द्र लामिछाने पनि नाचेका छन् । तर, उनीहरुलाई पछि पार्दै सलोनले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । अभिनय के कस्तो छ त्यो फिल्म प्रदर्शन पश्चात थाहा होला । तर, सलोनको सफलताको लागि यस गीतको भिडियोले अर्थ राख्नेछ ।