बिकास बोर्ड अध्यक्षको आदेशमा फिल्म ‘रोजी’ छायाङ्कन रोकियो

फिल्म रोजीको छायाङ्कन रोकिएको छ । झण्डै आधा छायाङ्कन सक्काएको फिल्म यूनिटलाई चलचित्र विकास बोर्डले छायाङ्कन स्थगित गर्न भनेपछि बुधबारसम्मका लागि फिल्मको सम्पूर्ण कामहरु रोकिएको हो ।

निरक पौडेल निर्देशित फिल्म ‘रोजी हत्याकाण्ड’सँग सम्बन्धीत भएको समाचारहरु आउन थालेपछि सन् २०११ अगष्टमा हत्या गरिएको भनिएकी रोजी महर्जनका परिवारहरु विकास बोर्ड आएर आफ्नो छोरीमाथी अन्याय भएको आवाज राख्दै आईरहेका थिए । विभिन्न चरणको कुराकानी पछि बोर्ड अध्यक्ष निकिता पौडेलले ‘रोजी’ निर्माण संस्थालाई बिकास बोर्ड बालाएर सहमती नजुटेसम्म फिल्मको कुनै पनि कामहरु नगर्न आदेश दिएकी हुन ।

एक गीत सहित चलचित्रको २० दिनको छायाङ्कन बाँकी रहेको निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । बोर्डले फिल्मको छायाङ्कन रोक्न भनेपछि निर्माण संस्थालाई ठूलो आर्थिक भार थपिने भएको छ । लगानीका हिसाबले यसले आफुहरुलाई ठूलो घाटा लाग्ने निर्देशक पौडेलले बताए । तर, बोर्ड अध्यक्ष निकिता पौडेलले रोजीको परिवारलाई कथा देखाएर, सहमती जुटाएर मात्र छायाङ्कनमा उत्रन रोजी निर्माण संस्थालाई ठाडो आदेश दिएकी छिन् ।