प्रशान्तको पैसा मोह

चलेको बेला पैसा कमाइहालौ भन्ने कलाकारको सोचले धेरै निर्माता डुबेका छन् । मान्छेले पत्याए, यही बेला हो पैसा कमाउने भन्ने सोच बोकेर हिड्दा राजेश हमाल, सौगात मल्ल, आर्यन सिग्देल, दयाहाङ राई फ्लप भएका छन् । ऐश्वर्य फिल्मका भिलेन प्रशान्त ताम्राकारको बाटो पनि यस्तै छ । प्रशान्तलाई फिल्मको ब्यानर, निर्माता, कलाकारको केही मतलब नै छैन । अफर आएका सबै गरिदिउ भन्ने छ ।

राजधानीको अन्नपूर्ण होटलमा घोषणा गरिएको फिल्म कस्मिक लभमा पनि प्रशान्त नै छन् । यो फिल्मका निर्माता जे गौतमले १० वटा फिल्म बनाउने बताएका छन् । १० वटा फिल्ममा प्रशान्त ताम्राकार नै कलाकार हुने भन्ने अनौपचारिक कुराकानी उनको थियो । प्रशान्तले पनि सहमति जनाएको निर्माताको दाबी थियो।

१० वटा फिल्मलाई ३–३ महिनाको अन्तरमा रिलिज गर्ने जे गौतमको योजना छ । १० वटै फिल्म बन्यो, प्रशान्तले यसमा काम गरे र ३ महिनाको फरकमा फिल्म रिलिज भयो भने उनको हालत के होला ? तातो खाउ, जल्दी जाउ भन्ने बाटोमा प्रशान्त लागेका छन् ।

यो प्रशान्तको चलेको बेलामा पैसा कमाउ भन्ने मोह होइन त ?