हलसम्म बेकारको दौड ‘रेस ३’ (फिल्म समीक्षा)

सुरुको १५ मिनेटबाहेक फिल्मले कतै पनि गति समात्दैन । केही होला कि भन्दाभन्दै २ घन्टा ४० मिनेट लामो फिल्म सकिन्छ । यसबीचमा आधा शरीर देखिने गाउनमा फिल्मका दुई हिरोइन डेजी शाह र ज्याकलिन फर्नान्डिज घरि घरि देखिन्छन् र आँखालाई शीतल बनाउँछन् त्यो बेग्लै कुरा हो ।

स्टाइल, एक्सन र सस्पेन्स रेसका विशेषता हुन् । केटीका लागि हिरो र भिलेन भिड्ने कथामा हजारौं फिल्म हेरिसकेका दर्शकका लागि सन् २००८ मा रिलिज भएको रेस सुखद सरप्राइज थियो । स्टाइल, एक्सन र सस्पेन्स एकसाथ विरलै पाइने बलिउडमा रेस अपवाद थियो ।

सस्पेन्स फिल्म बनाउँदै आएका बलिउड निर्देशक अब्बास मस्तान निर्देशक जोडीले धुम सिरिजबाहेक पहिलो यस्तो फिल्म बनाएका थिए जसको क्यानभास मात्र ठूलो थिएन, कथा र प्रस्तुति पनि रोचक थियो । मध्यमकोटीका कलाकार सैफअलि खान र अक्षय खन्नालाई लिएर पनि निर्देशक द्धयले रेसलाई वर्षको पैसा कमाउने फिल्मको रुपमा दर्ज गराएका थिए ।

सिक्वेलमा अक्षय खन्नाको ठाउँ जोन अब्राहमले लिए । पहिलो भागको तुलनामा यो भाग कमजोर मानियो त्यसका बावजुद फिल्मले बलिउडमा सफलताको बेन्चमार्क मानिने सय करोड क्लब ज्वाइन गर्यो । तेस्रो भाग बन्ने र सँगसँगै फिल्ममा सैफअलि खानलाई रिप्लेस गरेर सलमान खानले रेसको तेस्रो भागको बागडोर सम्हाल्ने खबरसँगै धेरैले रेस ३ लाई आफ्नो विश लिस्टको पहिलो नम्बरमा राखेका थिए ।

तर, रेसका अघिल्लो भागले दिएको आनन्द सम्झेर तपाईंहरु रेस ३ हेर्न जानुहुन्छ भने तपाईं निराश पनि हुन सक्नुहुन्छ । इनसिम्बल कास्ट र बलिउडका भाइ सलमान खानले पनि तपाईंलाई यो फिल्म हेर्दा दिक्क बनाउनबाट रोक्न सक्दैनन् । कमजोर कथामा झन् कमजोर पटकथाले फिल्मलाई हेरुन्जेल रमाइलो गराउने होइन झेलेको महसुस गराउँछ । तपाईं बिचैमा यो फिल्म हेर्न छाडेर निस्कँदा पनि केही फरक पर्दैन यदि तपाईंलाई क्रिस्टोफर नोलानको चर्चित फिल्म डनक्रिक र सलमानकै अघिल्लो बिसेक गतिलो फिल्म टाइगर जिन्दा है का एक्सन कोअर्डिनेटर टम रुथर्सले यो फिल्मको पनि एक्सन कोअर्डिनेट गरेका हुन् भन्ने थाहा छैन भने ।

अघिल्लो भागमा झैं यसको पनि केन्द्रिय द्धन्द्ध पैसाको लडार्इँ नै हो । तर पटकथाकारद्धय सिराज अहमद र किरन कोटरियालले यसलाई यति बोरिंग तरिकाले वाचन गरेका छन् कि सुरुको १५ मिनेटबाहेक फिल्मले कतै पनि गति समात्दैन । केही होला कि भन्दाभन्दै २ घन्टा ४० मिनेट लामो फिल्म सकिन्छ । यसबीचमा आधा शरीर देखिने गाउनमा फिल्मका दुई हिरोइन डेजी शाह र ज्याकलिन फर्नान्डिज घरि घरि देखिन्छन् र आँखालाई शीतल बनाउँछन् त्यो बेग्लै कुरा हो ।

फिल्मको कथा अबुधाबीको एउटा सहरबाट सुरु हुन्छ जहाँ शमशेर सिंह (अनिल कपुर) आफ्ना छोराछोरी सन्जना (डेजी शाह) र सुरज (साकिब सलीम) सँग बस्छन् । साथै उनको हतियारको व्यापारलाई उनको सौतेनी छोरा सिकन्दर (सलमान खान) ले पनि हेर्छन् ।

सिकेन्दरका बडिगार्ड हुन्छन् यश (बबी देवल) । राणा (फ्रेन्डी दारुवाला) शमशेर सिंहको विजेनसलाई बर्बाद बनाउन चाहन्छ । तर उसको हरेक प्रयासमा सिकन्दर र शमशेरका सन्तान बाधा बन्छन् । यता परिवार भित्र भने सुरज र सन्जना सिकन्दरलाई सिध्याएर उसको सम्पत्ति आफ्नो पार्ने दाउमा छन् र दुवैलाई सिकन्दरमाथि शमशेरले ज्यादा भरोसा गरेको पनि चित्त बुझेको छैन । ड्रग्स, हतियार, चेज सिक्वेन्स र इलाहाबाददेखि गल्फकन्ट्रीसम्मको यात्रामा शमशेर सिकन्दरका खुल्दै जाने पत्र वरिपरी नै फिल्म बुनिएको छ ।

फिल्ममा प्रशस्त ट्विस्ट छन् । तर ती कमजोर छन् । फिल्ममा आउने कुनै पनि ट्विस्टले यो विधाका फिल्म हेर्ने दर्शकलाई सरप्राइज गर्दैनन् । अझ हाफटाइपपछि त २० मिनेट भित्र आउने ४ गीतले दर्शकलाई दिक्क बनाउँछन् । फिल्मको संवाद त ट्रेलर रिलिज भएदेखि नै ट्रोलको सिकार भएका थिए । अनिल कपुरले बोल्ने संवादमा धेरथोर वजन भेटिन्छ नत्र भने कतिपय संवादको अर्थ पनि लाग्दैन । जस्तो कि डेजी शाहले बोल्ने माइ बिजनेस नन अफ योर बिजनेस ।

कलाकारमा पनि अनिल कपुरबाहेक कसैले गतिलो काम गरेका छैनन् । कलाकार र प्लट अनावश्यक छरिएका कारण सलमानले पनि स्क्रिनमा पर्याप्त स्पेश पाएका छैनन् । तैपनि एन्टागोनिस्ट बलियो नहुँदा उनले सिठ्ठीवाला संवाद बोल्ने मौका पाएका छैनन् ।

बबी देओलले लामो समयपछि यो फिल्मबाट कमब्याक गरेका थिए । तर उनको कमब्याक इम्प्रेसिभ लाग्दैन । सलमानलाई बबि देआलले राम्रो काम गर्छन् भन्ने सोचेर मौका दिएका हुन् भने सलमानकै ठूलो भ्रम हो । यो भ्रम सलमानले डेजी शाहलाई लिएर पनि पालेका छन् । यो टुट्दा भारतका मात्र होइन नेपाली दर्शकले पनि सुख पाउँछन् ।

सलमानको यो फिल्मको समीक्षा गर्ने क्रममा एउटा पत्रिकाले लेखेको छ , सलमानको यो फिल्ममा त्यो सबै थोक छ जुन फिल्म कलेजका विद्यार्थीलाई नगर्नु भनेर सिकाइएको हुन्छ । त्यो पत्रिकाले लेखेको यही वाक्यबाट पनि थाहा हुन्छ फिल्म कति बेकार छ । त्यसका बावजुद सलमान खान भए पुग्ने दर्शकका लागि फिल्म ठिकै पनि लाग्न सक्छ । मिलोस् नमिलोस् सलमान खानलाई जबर्जस्ती हिरो बनाउन खोजिएको छ जो हार्डकोर फ्यानलाई राम्रो लाग्न सक्छ ।

तपाईं पुरानो रेस सम्झिएर र सलमान थपिएर गज्जबकै फिल्म हेर्न पाइएला भन्ने अपेक्षामा यो फिल्म हेर्न जाने सोचमा हुनुहुन्छ भने नगएकै बेस । तीनघन्टा छेउछाउको फिल्म र आतेजाते समय बर्बाद गर्नुको साटो घरमै बसेर डेढ घन्टा अवधिका कुनै राम्रा दुइटा हलिउड फिल्म हेर्नु श्रेयस्कर हुन्छ ।