सुदर्शन लडाउने सन्तोषको दाउ

फिल्म निर्माणमा पैसाको खोलो बगाए पनि अपेक्षित लाभ पाउन नसकेका निर्माता हुन् सन्तोष सेन । उनले सुदर्शन थापासँग मिलेर दुइटा फिल्म बनाए, चंखे शंखे पंखे र प्रेमगीत । पहिलो फिल्मले त पानी पनि भनेन । दोस्रो फिल्म प्रेमगीतबाट पनि सेनले खास कमाएनन् उल्टै यो फिल्मबाट सुदर्शन थापा र हिरोइन पूजा शर्माको दुश्मनी कमाए । दुवैका बीचमा रोमियो जुलियटको परिवारको भन्दा ठूलो दुश्मनी छ । मौका पायो भने एक अर्कालाई सखाप पार्ने अवसर छाड्दैनन् ।यसको प्रमाण हो, सन्तोष सेनको हालैको घोषणा ।

हालै मात्र आफ्नो छोरा अयुब सेनलाई मुख्य भूमिकामा लिएर ‘मेरी मामु’ शीर्षकको फिल्म बनाउने घोषणा गरेका उनले रिलिज डेटका लागि भने त्यही डेट छानेका छन् जुन डेटमा सुदर्शन पूजाले आफ्नो फिल्म ‘रामकहानी’ रिलिज गर्ने घोषणा गरेका छन् । रामकहानीले सुटिंङ्गमा नजाँदै भदौ २२मा रिलिज डेट घोषणा गरेको थियो । यही मितिमा सुब्रत आचार्यले पनि ‘सुश्री सम्पति’ रिलिज गर्ने घोषणा गरिसकेका छन् । अब सन्तोष सेनले पनि केही दिनपछि नै सुटिंगमा जाने फिल्मलाई एक हप्ता अगाडी रिलिज गर्न खोज्नुको मतलब अरु केही होइन सुदर्शन र पूजालाई असफल बनाउने हो । सेन आफैं लडछन् कि लडाउँछन् हेर्न रोचक हुनेछ ।