भिडियो अवार्डमै मख्ख आप जोडी

आप जोडी भनेर हिरो पल शाह र हिरोइन आँचल शर्मालाई चिनिन्छ । यो जोडीले ३ वटा फिल्ममा काम गरेको छ । फिल्मतर्फ नै हिट हुँदै गएपनि यो जोडीलाई म्यूजिक भिडियो खेल्ने भुतले छाडेन । म्यूजिक भिडियोबाट करिअर बनाएका आप जोडीले म्यूजिक भिडियोमै भविष्य देखेको संकेत दिइरहेका छन् । फिल्म नखेलेर बसेका आप जोडी भिडियोमा भने व्यस्त छन् ।

यो बर्ष आयोजना भएका २ वटा फिल्म अवार्डमध्ये एउटा अवार्डमा पल शाह नोमिनेशनमा परे । आँचललाई त नोमिनेशनमा पर्ने सौभाग्य खुलेको छैन । तर, पल र आँचलको भागमा फिल्मको अवार्ड परेको छैन । फिल्म अवार्ड नपरेपनि उनीहरु भिडियो अवार्ड पाएरै खुशी छन् । मलेसियामा शनिबार आयोजना गरिएको तेश्रो नेपाली म्यूजिक भिडियो अवार्डमा पल र आँचल दुबै पपतर्फको उत्कृष्ट मोडल भए । दुबैले अवार्ड पाएको तस्बिर फेसबुकमा राखेर खुशी जनाएका छन् ।

अवार्ड पाउँदा कलाकारलाई प्रोत्साहन हुन्छ । झन्, विदेशी भूमिमा पाएको अवार्डले त झनै खुशी दिलाउँछ । तर, पल र आँचलको गन्तव्य यही घुमिरहने हो त ? पल र आँचल दुबैले फिल्मको कामबाट तारिफ पाएनन् । तारिफ पाउनका लागि परिश्रम गरेको पनि देखिदैन । बरु, एक दिनमै राम्रो कमाई हुने भिडियो गरिरहेका छन् । यसले दुइको फिल्म क्रेज घटाएको छ ।

म्यूजिक भिडियोमा मोडलिङ गरेर अवार्ड पाउँदा पल र आँचल मख्ख छन् । फिल्ममा चै कहिले यो सफलता मिल्ला ? कि उतै मख्ख भएर बस्ने ?