‘नमस्ते बिहार’ लिएर चार्ली चाप्लिन नेपालमा

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते बिहार’ को प्रचारका लागी उनी नेपाल आएका हुन् ।  भारतमा स्टेज पर्फमरका रुपमा प्रख्यात राजनले विश्वप्रख्यात कमेडियन चार्ली चाप्लिनको प्रहसन गर्ने गर्छन् । सन् २०१० मा ‘चार्ली चाप्लिन–२’का रुपमा उनको नाम गिनिज बुक अफ रेकर्ड र लिम्का बुक अफ रेकड्र्स पनि लेखिएको छ ।

फिल्मको बारेमा राजनले भने ‘फिल्म बिहारमा जन्मिएको एक युवा डब्लुको कथा हो, जहाँ डब्लुको भुमिका म स्वयम्ले निर्वाह गरेको छु । फिल्ममा डब्लु निडर र साहसी युवाको भूमिकामा छ । एउटा इमान्दार युवा कसरी अपराध र अन्डरवल्र्डको भुमरीमा नचाहँदा नचाहँदै फस्छ फिल्म त्यसकै वरिपरि घुमेको छ ।’

फिल्ममा भुमिका कलिता अभिनेत्रीको भुमिकामा छन् । उनले क्राइम रिपोर्टरको भूमिका निर्वाह गरेकी छन् । राजनका अनुसार नमस्ते बिहार बिहारको पत्रिकाको नाम हो र यही नामलाई फिल्मको नामका रुपमा राखिएको हो । फिल्मलाई भारतको पटना, बिहार, जमलपुर लगायतका ठाउँमा खिचिएको कार्यक्रममा जानकारी दिइयो । ‘भारतमा नेपाली फिल्मका दर्शक धेरै छन् भन्ने थाहा छ, त्यसैले घुमघाम र फिल्मको प्रचारको उद्देश्य लिएर नेपाल आएको हुँ,’ राजनले भने ।