शिखर इन्स्योरेन्सले फोटोपत्रकारको बीमा गर्ने

शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबले आइएमई ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को ‘नेपाल स्माईल बिधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा सम्झौता गरेका छन् । शिखर इन्स्योरेन्सको कार्पोरेट कार्यलय थापाथलीमा शनिबार आयोजित एक कार्यक्रममा शिखर कम्पनी प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आइएमई ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माईल बिधामा प्रायोजन गरेको शिखर इन्स्योरेन्सले २०७५ सालका लागी फोटोपत्रकारहरुको क्यामेरामा दुई लाख, स्वास्थ्यमा दुई लाख र दुर्घटनामा चार लाख गरी जम्मा आठ लाखको बीमा गर्ने सम्झौता गरेको हो । यस बिमा नीतिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने गरेर सम्झौता भएको हो ।

यस बिमाअन्तर्गत फोटोपत्रकारहरुको क्यामरा चोरी तथा सफ्टवयेर बिग्रेको अबस्था बाहेक अन्य (दुर्घटना, हुलदंङ्गा, प्रकृतिक प्रकोप) अबस्थामा क्लबको सिफारिसमा बीमा दाबी गर्न सकिनेछ । फोटो पत्रकार (पिजे) क्लबले नेपाल पर्यटन बोर्डसँगको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रयोजनमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरीसकेको छ । सबै नेपालीले सहभागीता जानाउन सक्ने यस फोटो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आईएमएस डेली लाइफ, ३एक्सपिरीयन्स नेपाल कल्चर एण्ड टुरिजम, नेचर एण्ड वाईल्डलाइफ, शिखर ईन्स्योरेन्स नेपाल स्माईल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक विधामा प्रतियोगीले बढीमा तीन वटा फोटो, फोटो स्टोरीमा बढीमा दुई वटा स्टोरी र प्रत्येक स्टोरीमा चार देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । यस प्रतियोगिता तथा प्रर्दशनीलाई बिपी कोइराला भारत–नेपाल प्रतिष्ठान, साहस स्पोर्टस, सिटी एक्सप्रेस, रियो फ्रुट जुस, एडभेन्चर स्पोर्टस, भायनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भूमिका गरेका छन् ।

पाँच लाख २० हजार रुपैयाँँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले एक लाख रुपैयाँँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँँ पाउने छन् ।