लोक संगीतमा बढ्दो विकृती, तैँ चुप मैँ चुप कहिले सम्म ?

दिपेन्द्र घिमिरे – नेपाली संगीतको उद्गम स्थल मानिन्छ लोक संगीतलाई । नेपाली परम्परा, रहनसहन, भेषभुषालाई लोक संगीतले बिशेष पहिचान दिँदै आएको थियो र छ पनि । लोक संगीत भन्ने बित्तिकै नेपाल र नेपालीको शानको रुपमा स्थापित थियो र छ पनि । लोक संगीतले हरेक परिस्थितिलाई अंगालेको छ । घटना परिघटना देखि माया प्रेम सम्म ।

लामो इतिहास बोकेको लोक संगीत पछिल्लो समय विकृत हुँदै गएको आरोप लाग्न थालेको छ । लोक संगीतले आफ्नो धार छोडेको दोष खेपिरहेको छ । मौलिकतालाई छोडेर उछ्रिङ्खलता तिर उन्मुख भएको दुखेसो सुन्न थालिएको छ । लोक संगीत नै आफ्नो कर्म, धर्म र मर्म हो भन्नेहरु बेचैन बन्न थालेका छन् । कारण लोक संगीतको क्षेत्रमा देखिएको बिकृति नै हो । बिकृति त देखियो । तर लोक संगीतको क्षेत्रमा देखिएको बिकृति के हो ? लोक संगीत आफैँमा विकृत बन्यो या बनाइयो ? लोक संगीतका जानकारहरुको आ-आफ्नै टिप्पणी छ ।


लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनीको भनाई छ, ‘हामी कलाकार आँफै अनुशासित हुन सकेका छैनौँ । अनुशासनमा बस्न नसक्नु हाम्रो कमजोरी हो । अर्को तर्फ कलाकारका लागि भनेर त्यस्तो कुनै नियम कानुन नै बनेका छैनन् । हामी त्यहिँ नेर फितलो छौँ । यस बिषयमा हामीले कार्यपत्र बनाएर संस्कृती मन्त्रालय अन्तर्गत रहने गरी अगाडी बढाउनु पर्ने आवश्यकता देखिएको छ ।

हामीले पहल नगरेका होइनौँ, गरेका छौँ तर देशको सुस्त कार्य प्रणालीका कारण कुनै पनि कुरा सफल हुन सकेका छैनन् । यस बिषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा र संस्कृती मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले निकै चासो राख्नु भएको छ । आगामी दिनमा यस बिषयमा कार्यप्रगति हुने आशा गर्न सकिन्छ ।


बरिष्ठ लोक गायक नारायण रायमाझी यो क्षेत्रलाई व्यवस्थित बनाउन आधिकारिक सेन्सर बोर्डको आवस्यकता रहेको बताउँछन् । क्याटेगोरी छुट्ट्याउनु पर्ने उनको भनाई छ । त्यस्ता कलाकार भनिएकाहरुसँग नेपाली संस्कृति जोडिनु हुन्न । उनीहरु व्यक्तिगत हुन् । स्वतन्त्रता छ । तर, जब कलाकार भनेर सम्बोधित हुन्छन, संस्कृति र गीत संगीतसँग जोडिन्छन तब त्यसको मर्यादामा बस्नु पर्छ ।

परिवर्तन स्वभाविक छ तर यो खालको परिवर्तन दु:खदायी हो, उनको भनाई छ । ‘श्रस्टाहरु सम्बाहक हुन । तर यहाँँ कुसंस्कारको सम्बाहक बनिदिनाले समाजलाई नै विकृत बनाएको छ, उनले भने ।

लोक तथा दोहोरी गायिका मुना थापा मगर पनि यो बिषयमा सरकारी तवरबाट ठोस कदम चालिनु पर्ने आवस्यकता रहेको बताउँछिन् । ‘व्यक्तिगत रुपमा हामीले त कति भनियो तर जति भने पनि लाग्दैन । त्यसैले संघ संस्था र सरकारले नै यसमा ध्यान दिनु जरुरी छ’, उनले भनिन ।


त्यस्तै लोक गायक कुलेन्द्र बिक भन्छन, ‘सस्तो लोकप्रियताका लागी गैर कलाकारहरुले गरेको हर्कतका कारण समग्र लोक संगीत नै आलोचित बनेको छ । उनीहरु कलाकार नै होइनन् । आयोजकले पनि त्यस्तै गैर कलाकारहरुलाई प्रश्रय दिनुभएको छ । उहाँहरुको पैसा कमाउने दाउ र स्वार्थ मिसिएको छ त्यसमा ।

आर्थिक प्रलोभनमा परेका ती गैर कलाकार बर्षाको भेल जस्तै हुन् उर्लिन्छन् र केही समयमा सुकेर जान्छन । तर बिडम्बना सबै धमिल्याएर जान्छन । त्यो धमिलोपनलाई संग्ल्याउन निकै गाह्रो पर्छ । यस बिषयमा हामी सबै सचेत हुनु जरुरी छ ।


विन्ध्यवासिनी म्युजिक प्रालीका संचालक एवम संचारकर्मी सुवाष रेग्मीको भने यस बिषयमा फरक मत रहेको छ । उनी भन्छन, ‘बिकृति छैन, सबै राम्रो छ । मान्छेले कुरा नबुझेर हो । बिकृति विसंगति देख्नेहरुका आँखा विकृत हुन् । दर्शकले हेर्न चाहन्छन देखाइदिने, सुन्न चाहन्छन गाइदिने हामी प्रस्तोताहरुको धर्म हो, हामी धर्म निभाइरहेको छौ । मनोरन्जन दिने हो दिराखेका छन्, मनोरन्जित भैराखेका छन् ।

गीत हुनेले आफ्नो ट्राकमा गाउछन्, नहुनेले अर्काकोमा गाउछन् । गाउन नपाउने भन्ने संबिधानमा नियम छैन । रोयल्टी उठाउन कलाकारका संस्था छदैछन् । उठाएका छन्, बाडेका छन्, खाएका छन्, सबै खुसि छन् । गीतको ब्यापार गर्ने साहुजीहरु गाडी चढेकै छन्, घर किनेकै छन् । राम्रो स्टेज हिड्ने कलाकारहरु पनि सर्बसम्पन्न भएकै छन् ।

दर्शकले जस्तो हेर्न चाहन्छ त्यो त दिने हो, उछ्रिङ्खल भन्न मिल्दैन । केटाको हेर्न खोज्दैनन् देखाईदैन, केटीको हेर्न चाहन्छन, देखाउछन् । त्यसैले यहाँ बिकृति हैन सस्कृति छ, यहाँ गरिबी हैन समुन्नती छ, यहाँ दुख पिडा हैन खुसियाली र दिपावली छ ।’ कोहि पनि कलाकार खान नपाएको भनेर रोएको देख्नु भएको छ ? उनले प्रतिप्रश्न गरे । उनको भनाईलाई मनन गर्ने हो भने दर्शकको चाहना अनुसार नै यो सब भैरहेको छ ।

पछिल्लो समय लोक संगीतको क्षेत्रमा बिशेषत तीन किसिमका विकृति देखिएका छन् :
१. शब्द
२. भेष भुषा
३. सांकृतिक कार्यक्रम

नेपाली लोक संगीत त्यसमा पनि बढी दोहोरी गीतका शब्दमा छाडापन देखिन थालेको थालेको छ । सोझो हिसाबका भन्दापनि दुईअर्थि शब्दहरुको प्रयोग बढी हुन थालेको छ । असामान्य र उछ्रिङ्खल शब्दहरुको प्रयोगले लोक दोहोरीलाई नै दुर्गन्धित बनाएको छ । सबै लोक संगीतका सर्जकहरु नभएता पनि अधिकांशको ध्यान छोटो समयको चर्चा परिचर्चामा केन्द्रित छ ।

दर्शकले जस्तो खालको गीत मन पराउनुहुन्छ हामीले त्यस्तै सिर्जना गर्ने गर्छौँ त्यस्तै गीत गाउने गर्छौँ उनीहरुको भनाई रहने गरेको छ । तर लोक संगीतका पारखीहरुले भने लोक संगीतमा देखिएको यहि भाषिक बिकृतिको ब्रिरुद्ध बोल्ने गरेका छन् ।

पछिल्लो समय लोक तथा दोहोरी गीतका भिडियोहरु हेरी नसक्नु भएका छन् । नेपालीमा एउटा उखान छ “…लाई भन्दा देख्नेलाई लाज” । आजकल दोहोरी गीतका भिडियोहरु त्यस्तै बन्न थालेका छन् । अर्धनग्न गीतका मोडलहरु (बिशेष महिला मोडलहरु)को बिगबिगिले गर्दा लोक संगीत क्षेत्र आलोचित बन्ने गरेको छ ।

केही गलत मानसिकता भएका महिला मोडलहरुका कारण समग्र लोक संगीत नै आलोचित बन्ने पुगेको छ । क्षण भरको हसी मजाक र सस्तो लोकप्रियताका लागि यस क्षेत्रलाई प्रयोग गर्न लम्किएका विकृत मानसिकता बोकेकाहरुका कारण समग्र लोक संगीत नै बिचलित बन्न पुगेको छ ।

बिशेषगरी देश तथा विदेशमा हुने विभिन्न साङ्गितिक कार्यक्रममा जान पाउने र पैसा कमाउने लोभका कारण लोक संगीत कै खिल्ली उँडाइरहेका छन ति मोडल तथा नृत्याङ्गनाहरुले । साङ्गितिक कार्यक्रम आयोजकहरुले पनि त्यस्तै कलाकारहरुलाई आफ्नो कार्यक्रममा प्राथमिकता दिनाले पनि उनीहरुले प्रश्रय पाएको कतिपयको भनाई छ ।

कार्यक्रमका नाममा आफ्नो स्वार्थ पुरा गर्ने र कलाकारको बिल्ला भिराएर गैर कलाकारलाई कार्यक्रममा उपस्थित गराउन अग्रसर कार्यक्रम आयोजकहरुका कारण पनि यो क्षेत्र विकृत हुन पुगेको तितो यथार्थ हामी सामु छ ।

बरिष्ठ लोक गायक नारायण रायमाझीको भनाई पनि यस्तै छ । उनी भन्छन, ‘देश देखि विदेशमा हुने विभिन्न मेला महोत्सब देखि सांस्कृतिक कार्यक्रमका आयोजकहरुको गैर जिमेवारिका कारण पनि कलाकार अनुसाशित हुन नसकेका हुन् । आयोजकहरुले त्यस्ता कलाकारहरुलाई निरुत्साहित गर्नु पर्नेमा झन् प्रोत्साहन दिइरहेका छन् । त्यसका पछाडी उनीहरुको पैसा कमाउने दाउ लुकेको छ ।’


लोक तथा दोहोरी गायिका मुना थापा मगर पनि आयोजकहरुको कमजोरीका कारण यस्तो भएको हो भन्छिन । उनको भनाई छ, ‘कार्यक्रम आयोजकहरुको गल्ति छ । पैसा कमाउने दाउले गर्दा उनीहरुले राम्रो कला भएका भन्दा पनि त्यस्तै उछ्रिङ्खल प्रस्तुति राख्ने र देखाउने कलाकार भनिएकाहरुलाई प्राथमिकता दिएका छन् ।

संस्थाको कार्यक्रममा त्यस्तो खासै हुँदैन तर व्यक्तिगत या केहि समुहले गरेको कार्यक्रममा त्यस्तो प्रस्तुतिहरु धेरै भएको मैले पनि देखेको छु । दुख लाग्छ । आयोजकहरुले यस बिषयमा सोच्नु पर्ने हो ।’


गायिका राधिका हमालको भनाई पनि फरक छैन । उनी भन्छिन,’दुखको कुरा हो । नयाँ आएका तर कला भन्दा पनि पैसा कमाउने हिसाबले आएका व्यक्तिहरुको कारण गार्हो भएको हो । कलाकार कलाकारिता कै धरातलमा बस्नु पर्ने हो । बिदेश जाँदा नेपाली पहिचान बोकेर गएको हुन्छ ।

तर, व्यक्तिगत सम्बन्धको आधारमा आफ्नो भूमिका बिर्सिएर व्यक्तिगत भएर प्रस्तुत हुन्छन । ‘नपाउनेले के पायो बोक्रै समेत चपायो’ भने जस्तो गर्छन । कलाकारसँगै आयोजकको कमजोरी पनि हो । कलाकार छान्दा विचार गरेर बोलाउन पर्ने हो ।’

हङकङमा साङ्गितिक कार्यक्रम आयोजना गर्दै आएकी खुसी गुरुङ (खुसी इभेन्ट्स) भन्छिन “सबै आयोजकलाई त्यस्तो भन्न मिल्दैन । हामीले कार्यक्रम गर्दा भल्गर भन्दा पनि नेपाली कल्चर र नेपाली ट्रेडिसनलाई बढावा दिने खालको कला भएका कलाकारहरुलाई मात्र प्राथमिकता दिने गरेका छौँ । अन्य देशमा हुने साङ्गितिक कार्यक्रमहरुको फोटो देख्दा दु:ख लाग्छ ।

राम्रो कला भएका कलाकारहरुले पनि सबै आयोजकलाई गलत नियत भएको सोच्नु हुन्छ जस्तो लाग्छ । सबै उस्तै हुँदैनन केही आयोजकका कारण कतिपय अवस्थामा हामीहरु पनि बदनाम हुन पुगेका छौँ ।”

पछिल्लो समय लोक गीत संगीत अथवा भनौ समग्र नेपाली संगीत क्षेत्र नै धमिलिएको छ । तैँ चुप मैँ चुपको स्थिति देखा परेको छ । रात भरी करायो दक्षिणा हरायोको स्थितिमा सम्बन्धित संघ संस्था पुगेका छन् । यस तर्फ सरकारका सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ । नत्र रात भरि रुँग्यो बुढी त जिउँदै भने झैँ जती जे गरे पनि विकृति र विकृत मानसिकताले प्रश्रय पाइरहने छ ।