छालाको सुरक्षाका लागि सन स्क्रिन र क्लिनजिंग क्रिम

हामीले दैनिक रुपमा विभिन्न सौन्दर्य प्रसाधनहरु प्रयोग गर्ने गर्छौ । जसमध्ये दैनिक रुपमा अनिवार्य प्रयोग गर्नु पर्ने प्रसाधनहरु के के हुन् र कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी हुनु जरुरी छ । मेकअप नगर्ने युवायुवतीले पनि अनुहारको सौन्दर्यलाई बिगार्न नदिनको लागि दैनिक रुपमा क्रिमहरु लगाउन जरुरी हुन्छ । जसको प्रयोग सहि रुपमा कसरी गर्ने भन्ने बारे जानकारी भएमा पक्कै पनि सौन्दर्यमा निखार आउछ । आज हामी कुरा गर्दै छौ घामको विकिरणबाट बच्न प्रयोग गरिने क्रिम तथा सुत्नु भन्दा अगाडी गरिने क्लिन्जिंगको बारेमा ।

सन स्क्रिन क्रिम (सन प्रोटेक्टिव फ्याक्टर एस पी एफ)
घाममा निस्किनु पर्दा घामको विकिरणबाट छालालाई बचाउनको लागि यस किसिमको क्रिमको प्रयोग गरिन्छ ।  सन स्क्रिन क्रिम घाममा निस्किनु भन्दा २० मिनेट पहिला सबै प्रकारको छाला हुने व्यक्तिहरुले प्रयोग गर्नुपर्छ । चर्को घामको कारणले छाला ड्यामेज हुने, डार्क स्पट आउने साथै फाइबलाइन देखिने डर बढ्छ । यस्तो अवस्थामा एसपीएफ प्रयोग गर्नु पर्छ । क्रिम छनौट गर्दा दक्ष ब्युटिसियन अथवा डर्म्याटोलोजीस्टको सल्लाह लिनु पर्छ ।

क्लिनजिंग बिफोर बेड
हामीले राती सुत्नु अगाडी राम्रोसँग अनुहार क्लिन्जरद्वारा सफा गर्नुपर्छ । जसले दिनभरी लगाएको मेकअप तथा अनुहारमा टासिएर रहेको धुलोका कणहरु सफा गरी छालालाई सफा र स्वस्थ बनाउछ । यदि छाला सफा नगरी सुत्न गएमा दिनमा प्रयोग गरेको क्रिम तथा धुलोले छालामा भएको छिद्रलाई बन्द गरिदिन्छ । साथै मस्कारा, लाइनरका कारण संक्रमण हुने सम्भावना रहन्छ । त्यसै कारण सुत्नु अगाडी क्लिनजिंग गर्नु अत्यन्तै आवस्यक छ ।
(ब्युटिसियन शान्ति शर्मा, कारा ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टरसंगको कुराकानीमा आधारित)