समिक्षकको ग्रीन स्टिकर पाएर पनि नचलेका नेपाली फिल्म

दिक्षा कट्टेल
फिल्म निर्माण जुवा हो भन्नेहरुको जमात ठुलै छ । जुवा खेल्दा हार जित जे पनि हुन सक्छ । तर, फिल्म निर्माण गर्दा अझ नेपालको सन्दर्भमा त लगानी उठाउने सम्भावना पनि निकै न्युन रहन्छ । यो कुरा थाहा हुँदा हुँदै पनि फिल्म निर्माण गर्नेहरुको भिड पनि बाक्लै छ यहाँ । रिस्क मोलेर निर्माण गरिने फिल्म हेर्न दर्शक हलसम्म आउन विविध कुराले भुमिका खेल्छ । त्यो मध्ये महत्वपुर्ण पाटो ‘फिल्म समीक्षा’ पनि हो । समीक्षकको नजरको अनुमान कहिले सफल हुन्छ त कहिले बिफल । यस्ता धेरै नेपाली फिल्महरु छन् जुन समिक्षकको ग्रीन स्टिकर पाउदा पाउदै पनि सफल हुन सकेनन् । हामी तिनै फिल्महरुको चर्चा गर्दैछौँ :

हरी

बिपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘हरी’ जेठ १८ मा रिलिज भएको थियो । समिक्षकबाट निकै प्रसंसा बटुल्न सफल फिल्मले बक्स अफिसमा भने धमाका मचाउन सकेन । बिपिन कार्कीले यस फिल्मको भूमिकालाई लिएर आफुले धेरै राम्रो गरेको बताउथे साथै आफु पुरै सन्तुस्ट रहेको समेत जानकारी दिएका थिए उनले । ‘फिल्म बिजनेस हो तर हामीले पैसा कमाउने उदेश्य भन्दा पनि यिनीहरुले कस्तो फिल्म बनाएछन् भन्ने कौतुहलता दर्शकमा जाग्ने छ भन्नेमा बिस्वस्त छौ’ निर्माण टिमको यो कुरा सहि शाध्य भएको छ ।

फिल्ममा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा कार्यकारी निर्माता रहेको फिल्म लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङले गरेका हुन् । फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको छ ।

मोक्ष

मेरुदण्ड पक्षघात भएका प्रविन श्रेष्ठको आफ्नै कथा रहेको फिल्म ‘मोक्ष’ को सम्पादन तथा निर्देशन समेत श्रेष्ठ स्वयम्ले गरेका हुन् । मेरुदण्डको पक्षघातका कारण नम्बर एक हुने योजनामा रहेको साँगीतिक ब्यान्ड र व्यक्तिको जीवनमा आउने विभिन्न उतार चढावको कथा रहेको फिल्म ‘मोक्ष’ ले समिक्षकको सकारात्मक साथ पाएको थियो । प्रविनको भूमिका निभाएका कोशिस क्षेत्रीले जीवन्त अभिनयका कारण प्रसंसाको गुथी बाध्न सफल भएका थिए । सकारात्मक प्रतिक्रियाको फल स्वरूप निर्माता सुनिल मानन्धरलाई समेत व्यापारिक फाइदा हुन सक्ने अड्कल बाजी भने गलत हुन पुग्यो, फिल्म व्यापारिक रुपमा सफल बन्न सकेन ।

फिल्मको प्रसंसा गर्दै सञ्चारकर्मी बिष्णु शर्मा लेख्छन्, ‘धेरैपछि सशक्त फिल्म हेरियो । ‘मोक्ष’ बायोपिक मात्र होइन, संवेदनाको खोजी पनि हो । संगीत र द्धन्द्धले पैदा गरेको भावनाको सम्प्रेषण फिल्मको शक्तिशाली पक्ष हो ।’ अर्का सञ्चारकर्मी विजय आवज लेख्छन्, ‘नेपालमा ‘मोक्ष’ जस्तो फिल्म फेरी बन्ला या नबन्ला मलाई थाहा छैन । तर यो फिल्म हेर्न पाएकोमा साँच्चै भाग्यमानी ठान्दैछु । यति उत्कृष्ट फिल्म, मसँग कुनै शब्द नै छैन वर्णन गर्ने ।’ यति धेरै प्रसंसाका बावजुद दर्शक हल सम्म भने जान चाहेनन् ।

सुनगाभा

ओस्कार नोमिनेसनमा समेत परेको फिल्म सुनगाभाले फरक धारको कथा समेटेको छ । समलिंगीको कथालाई पहिलो पटक पर्दामा उतारिएको यस फिल्म सुनगाभा ओस्कारको ८६ औं संस्करणका लागि छनौटमा परेको थियो । सुवर्ण थापा निर्देशित ‘सुनगाभा’ मा सौगात मल्ल, निशा अधिकारी र दिया मास्केको मुख्य भूमिका रहेको छ । समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको भए पनि यो फिल्मले नेपालमा राम्रो व्यापार भने गर्न सकेन ।

उमा

‘फिल्म हेर्दा हलमा नरुनेहरु कमै छन् । म फरक रहुँ कसरी । केही दृश्यले आँखामा बादलमात्र ल्याएन झरी नै फुटायो । मैले आँखा पुछिरहँदा यताउति हेरेँ । अरु पनि गालातिर हात लगाइरहेका थिए । रुने म मात्र थिइन ।’ ऋषिकेस दाहालको शब्द सापटी माँगे मैले यहाँ फिल्म उमा बारे कुरा गर्दा । समिक्षकको वाह वाही पाएको छिरिङ रितार शेर्पा निर्देशित फिल्मले पनि सन्तोषजनक ब्यापार गर्न सकेन । माओवादी द्वन्द्वकालमा एक परिवारले भोग्नुपरेको पीडामा आधारित फिल्म वैचारिक मतभेदका कारण बिछोडिएका दुई दाजु-बहिनीको सम्बन्ध वरिपरि प्रस्तुत गरिएको छ । द्वन्दकालको बिषयमा बनेका अन्य फिल्म भन्दा फरक यस फिल्ममा चलचित्रमा तुलसी घिमिरे, मिथिला शर्मा, अशोक शर्मालगायतको उत्कृष्ट अभिनयका बावजुद फिल्म सफल हुन भने सकेन ।

हाइवे

पाँच छुट्टाछुट्टै कथामा बाँधिएका पात्रहरूको पूर्वी नेपालदेखि काठमाडौंसम्मको बस यात्रा गर्ने क्रममा नेपाल बन्द हुँदा भोगेको समान पीडालाई मूल कथा बनाइएको फिल्म हाइवेले पनि समिक्षकको राम्रै साथ् पाएको थियो । तर हल सम्म जाने दर्शकहरु भने पाउन सकेन । दीपक रौनियार निर्देशित फिल्म हाइवेले राम्रो ब्यापार गर्नेमा निर्माता ढुक्क थिए तर फिल्म ब्यवसायीक रुपमा सफल हुन सकेन फिल्ममा कलाकारहरु दयाहांग राई सौगात मल्लराजन खतिवडा कर्मइलम दीक्षित, रवीन्द्र मिश्र, विनय श्रेष्ठ, सौगात मल्ल, ऋचा शर्मा, आशा मगराती, श्रुति घिमिरे लगायतको अभिनय रहेको छ ।

यी त केहि उदाहरण मात्रै हुन् यस्ता धेरै फिल्म छन् जसले समिक्षकको वाहवाही त पाए तर हल सम्म धाउने दर्शक भने पाउन सकेनन् । पल, आचार्य, सेतो सुर्य, साँघुरो, माला, कागबेनी, सुन्तली, लगायत पनि यहि क्याटागोरी अन्तर्गत नै पर्ने फिल्महरु हुन् ।