तेरियापछि अशोकको हुँइया

डीआइडी लिटिल मास्टरमा विजेता बनेकी तेरिया मगरलाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताती थियो । तर, नेपालमा केही हुन्न भन्दै तेरिया भारत लागेकी थिइन् । तेरियालाई भोट दिएर जिताएका नेपालीहरु उनको अभिव्यक्तिले निराश थिए ।

तेरियालाई लिएर पटुकी फिल्मका निर्माताले फिल्म बनाउने समाचार प्रकाशन भयो । तर, तेरियाले कुनै पनि नेपाली फिल्ममा आफू खेल्न नलागेको बताइन् । तेरियाको नाम लिएर नाम नचलेका निर्माताले हिट हुने आइडिया रचेका थिए । तेरिया भाइरल गर्ल हुन् । अहिले बाल गायक अशोक दर्जी भाइरल छन् । अशोक दर्जीलाई लिएर फिल्म बनाउन निर्माताहरु उनीसम्म पुगेको खबर आउन थालेको छ । संगीतकार टंक वुढाथोकीको रेखदेखमा हिडिरहेका अशोकलाई फिल्म खेलाउन चाहनु नौलो कुरा भएन । तर, कुुसुम श्रेष्ठले फिल्म खेलेर आफ्नो चर्चा सबै सेलाएको समयमा अशोक दर्जीको हुँइया सुरु भएको छ ।

अशोक दर्जीलाई फिल्म खेल्न दिने या नदिने भन्ने हात टंकमा छ । तर, टंक आफै अशोकलाई संचारमाध्यममुखी बनाइरहेका छन् । अशोक प्लेनमा उडेका, भात खाएका, एयरपोर्टमा आएका, मलेसियामा माछा खाएका, गीत गाएका कुरालाई लिएर समाचार बनाउन टंक तल्लिन छन् । यसले, उनको यो हुँइयालाई खतरामा पारेको छ ।