सुनिल क्षेत्रीलाई भारतीय कोरियोग्राफरको शुभकामना

भारतका चर्चित कोरियोग्राफर तथा डान्स इन्डिया डान्सका निर्णायक मुदस्सर खानले नेपाली अभिनेता सुनिल क्षेत्रीलाई शुभकामना दिएका छन् । फिल्म चि मुसि चिुबाट डेब्यू गरेका सुनिललाई उनका गुरु खानले खुशी व्यक्त गर्दै सफलताको कामना ब्यक्त गरेका हुन् । डिआईडी सिजन–४ मा टप टेन सम्म पुगेका सुनिल मुदस्सरका मनपर्ने प्रतियोगी हुन् । उनले सुनिललाई राम्रो पर्फमर, डान्सर र आर्टिस्ट भनेका छन् ।

४६ सेकेण्डको भिडियोमा उनले डिआईडीमा सुनिलले देखाएको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरे । उनले थपे,’डिआईडीमा तिमीले आफ्नो फरक पहिचान बनाएका थियौ अब अलग ट्यालेन्ट र स्टारडमबाट आफ्नो पहिचान बनाउँ मेरो शुभकामना छ ।’ बलिउड सुपरस्टार सलमान खानलाई आफ्नो गडफादर मान्ने मुदस्सर खान भारतका टप कोरियोग्राफर मध्येमा पर्दछन् । सुनिल, मुदस्सरलाई आफ्नो गुरु मान्दछन् । गुरुको शुभकामनाबाट आफूलाई ठूलो साहस र उर्जा मिलेको सुनिलले बताए ।

सुनिल स्टारर फिल्म ‘चि मुसि चि’ आउँदो साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा सुनिलका साथमा सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारहरुको अभिनय छ ।