पुरा भयो वीर अस्पताल सरसफाई अभियान (फोटो सहित)

भुकम्प पछि देशका विभिन्न स्थानमा व्यक्ति तथा समूहहरुले पुर्ननिर्माण सम्बन्धी अभियानहरु संचालन गरे । ती मध्ये निर्धारित समयमा देशका विभिन्न स्थानमा वस्ती निर्माणमा खटिएका कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तली उदाहरणीय बने । उनीहरुले पुनर्निर्माणको क्रममा पहरी बस्ती, गिरानचौर बस्ती, मुसहर बस्ती, एकीकृत नमुना बस्ती सन्तपुर गरि ४ एकीकृत वस्ती धुर्मुस सुन्तली फाउन्डेसन मार्फत निर्माण गरेका छन् । सामाजिक अभियानमा अहोरात्र खटिएको यो जोडी (धुर्मुस-सुन्तली) लाई नेपाल सरकारले सरसफाई दुत घोषणा गर्यो ।

सरकारले घोषणा गरेको उक्त अभियानको नेतृत्व गर्दै देश भरिका अस्पताल सफा गर्ने अभियानको सुरुवात स्वरूप देशकै पहिलो अस्पताल वीरको सरसफाईमा धुर्मुस सुन्तली फाउन्डेसनले कार्य सुरु गर्यो । उनीहरु सहित विभिन्न सामाजिक अभियन्ता सँगै संघ संस्था र कलाकारहरु सो अभियानमा खटिएका थिए । सरसफाई अभियानको दौरानमा धुर्मुस सुन्तली फाउन्डेसन बिरुद्ध विभिन्न नकारात्मक टिकाटिप्पणीहरु पनि बाहिर आए । त्यसका बावजुद ४० दिनको अन्तरालमा अस्पताल सरसफाई अभियान सम्पन्न भएको छ । सो कुरा सिताराम कट्टेल (धुर्मुस) को अफिसियल फेसबुक मार्फत जानकारी गराइएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले जारी गरेको वीर अस्पताल सरसफाई अभियान सम्बन्धी जानकारी पोष्ट यस प्रकार छ :

वीर अस्पतालको रंगरोगन तथा सरसफाइको काम सम्पन्न, केही दिनमै बिधिवत हस्तान्तरण  माननिय स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालज्यूको अगुवाईमा गत बैशाख २३ गतेबाट प्रारम्भिक चरणमा वीर अस्पताललाई देशकै सफाईको नमुना अस्पताल बनाउने अठोटका साथ सरसफाई अभियान सुरु भएको थियो । अगाडी बढ्दै जांदा सरसफाईले मात्रै नमुना अस्पताल नदेखिने ठम्याईसकेपछि स्वास्थ्य मन्त्रालय, वीर अस्पताल र हामी अभियान्ताहरुको त्रिपक्षिय समझदारीमा बैशाखको २६ गतेबाट वीर अस्पतालको रंगरोगन तथा मर्मत सम्भारको काम अगाडि बढाईएको थियो । रंगरोगनको जिम्मेवारी हामीले लिएका थियौं , अभियान्ताहरुको तर्फबाट । यो अभियान नेपाल सरकार स्वास्थ्य मन्त्रालय , वीर अस्पताल र हामी अभियान्ताहरु बिचको एउटा सहकार्य हो । आज ४४ दिनमा रंगरोगनको काम सम्पन्न भएको छ । यो अभियानमा जोडिनुहुने बाग्मति सफाई महाअभियान, खेम्स क्लिनिङ् कम्पनिका संचालक तथा सफाइ अभियन्ता खेम शर्माको टिम, भद्रगोल टेलिफिल्म समुह, सिस्नुपानी नेपाल हाँस्यब्यङ्ग्य समुह, सामाजिक सञ्जाल दाह्रि ग्याङ समुह, नेपाल ईन्जिनियर्स एसोसियसनका उपमहासचिव रबि भुषण झा, ईन्जिनियर दिपक पराजुली, न्यानो स्पर्श समुह सहित हामीलाई साथ दिने सम्पुर्ण अभियान्ताहरु, पेन्टर साथीहरु, मिस्त्री साथीहरु, ईलेक्ट्रिसियन साथीहरु, प्लम्बर साथीहरु, भोलिन्टियर साथीहरु लगायत सम्पुर्णलाई हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्न चाहान्छौं । आजबाट वीर अस्पतालको काम सकिएपनि यसको बिधिवत हस्तान्तरण भने केही दिनमा हुनेछ । प्रत्यक्ष र परोक्ष रुपबाट यस अभियानमा जोडिनु हुने सहिृदयी मनहरुलाई धेरै आभार ।

तस्विरमा हेर्नुहोस सरसफाई अभियान पश्चातको वीर अस्पताल