हेलिकप्टर चढेर समाजसेवामा अनमोल

नायक अनमोल के सी पहिलो पटक स्टेजमा उत्रने भएका छन । सनिवार राजधानीको पाँच तारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मोनिका इन्टरनेशनल ग्रूपले ‘अनमोल साँझ २०१८’बारे जानकारी गराएको छ । देशका विभिन्न ४ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ’मा उनी उपस्थित हुने भएका हुन ।

भाद्र ९ गतेबाट शुरु हुने कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन, कला सँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने उद्देश्य लिएको छ । चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुती दिनेछन् । यो कार्यक्रमको लागि अनमोलले पारिश्रमिक नलिएको कार्यक्रममा बताईयो ।

सामाजिक कार्यको लागि कार्यक्रम गर्न लागिएकोले आफुले पारिश्रमिक नलिएको अनमोलले बताए । पोखरामा भदौ १६ गते, बुटवलमा भदौ ९ गते, चितवनमा भदौ २३ गते र बिर्तामोड झापामा भदौ २७ गते आयोजनाहुने ‘अनमोल इभ’मा अनमोल उपस्थित हुनेछन र आफ्नो प्रस्तुती राख्नेछन । कार्यक्रममा अनमोल सँगै नायिका प्रियंका कार्की पनि रहनेछिन् । पहिलो पटक उनीहरुले यस कार्यक्रम मार्फत स्टेज सेयर गर्नेछन् ।

अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौंबाट सिधै कार्यक्रम स्थलमा ओर्लिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।  अनमोलले पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउन लागेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरो लागि ठूलो अवसर हो । साथै, प्रशंसकसँग प्रत्यक्ष रुपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ ।’

आयोजक संस्था मोनिकाका अध्यक्ष  कमल जिसीले पर्यटन प्रर्बद्धन तथा विशुद्द सामाजिक कार्यका लागि ‘अनमोल साँझ’ गर्न लागिएको बताए । कार्यक्रममा नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदी पनि उपस्थित थिइन् ।