निर्देशकलाई निन्द्रा लाग्यो, निर्माताको दाँत दुख्यो

पत्रकार सम्मेलन किन गरिन्छ ? पत्रकार सम्मेलनमा पत्रकारलाई कसले बोलाउँछ ? जब पत्रकार सम्मेलनमा बोलाउने मानिस नै उपस्थित भएनन् भने के हुन्छ ?

राजधानीको क्यूज सिनेमा हलमा जय शम्भु फिल्मको लागि गरिएको पत्रकार सम्मेलनमा यस्तै विजोग दृश्य देखिएको थियो । फिल्मको पत्रकार सम्मेलनमा यसको टिम भन्दा चाडो पत्रकार पुगे । पत्रकारले १ घन्टा कुरे पनि । तर, पत्रकार सम्मेलनमा निर्देशक नै आएनन् । निर्देशक रुपेश तामाङलाई निन्द्रा लागेछ । रुपेशले रातभर बसेर ट्रेलर काटेकाले बिहानको कार्यक्रममा आउन नसकेका रे । जानकारी यस्तै गराइएको थियो ।

निर्देशकको कुरा अरुले नै बताइदिए । निर्माता दिनेश शाहीको व्यथा फरक थियो । उनले कार्यक्रममा बोलेनन् । किनकी, उनको दाँत दुखेको थियो रे । निर्देशकलाई निन्द्रा लाग्ने, निर्माताको दाँत दुख्ने । यो भन्दा दिक्क लाग्ने कुरा अरु के होला र ?

फिल्मको सार्वजनिक भएको गीतमा नृत्य गरेका मुख्य कलाकार अनुप विक्रम शाही पनि आएनन् । उनी भने अर्को फिल्मको छायांकन रहेकाले नआएकारे ।  सबैको आ आफ्नै ताल थियो । जे भएपनि फिल्मको भने बेहाल नहोस्, शुभकामना भनौ हामी ।