‘हो, म अरुको कुरा सुन्दिन’ – नायक आर्यन सिग्देल

पछिल्लो समयकी चल्तीकी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह र चकलेटी नायक आर्यन सिग्देल अभिनित फिल्म ‘कायरा’ साउन १८ गतेबाट अल नेपाल रिलिज हुँदैछ । नायक आर्यन सिग्देल कै निर्माण रहेको ‘कायरा’को पूर्ण छायाङ्कन फिलिपिन्समा गरिएको छ । फिल्ममा सम्राज्ञी र आर्यनसँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिसा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । चकलेटी हिरो आर्यन सिग्देलसँग फिल्म ‘कायरा’सँग सम्बन्धित रहेर गरिएको कुराकानी :

‘कायरा’ टिपिकल नेपाली नाम होइन, युनिक लागेर हो कि कथा नै त्यस्तो भएर यस्तो नाम राख्नु भएको ?
असलमा यो ग्रिक शब्द हो । यसको अर्थ इनोसेन्स, शुद्ध , मायालु भन्ने जनाउँछ । यसको संस्कृतमा पनि धेरै मिनिङ छ । संस्कृतमा चाहिँ सनसाईन, बरदान आदि अर्थ लाग्छ । कथामा पनि सुहाउँछ र युनिक पनि लागेको हो ।

तपाईंलाई स्टारडम बचाउन साम्राज्ञीलाई महंगो मूल्य तिरेको आरोप छ नी ?
बिल्कुलै गलत कुरा हो । हामीले स्कृप्ट लेखिरहेकै बेला साम्राज्ञी दिमागमा थियो । उसको अहिलेसम्म देखिरहेको क्यारेक्टर एरोगेन्ट टाइपको थियो । यो क्यारेक्टर भन्दा भिन्न छ हामीले कायरामा सिर्जना गरेको क्यारेक्टर । यो क्यारेक्टरलाई उसले पोट्रे गर्न सक्यो भने साम्राज्ञीलाई एकदमै म्याच हुन्छ भन्ने थियो । हामीले उसलाई स्कृप्ट सुनायौँ र उसले पनि अफर स्वीकार्यो ।

साम्राज्ञी नभएको भए अरु को सोच्नु भएको थियो ?
त्यो त हामीले सोचेकै थिएनौ । साम्राज्ञीसँग कुरा मिलेपछि अरु नाम सोच्नै परेन ।

विदेशमा सुटिङ गर्नु फेसन जस्तै भएको छ, तपाईंले पनि फिलिपिन्समा पुरै फिल्म सुटिङ गर्नु भएको छ, लोकेसनले मात्र फरक पार्छ ?
इनोसेन्स केटी कायरा र लकि इन एभ्रिथिङ अनलक्की इन लव जय पात्रको कथा हो । र जय मायामा हरेक पल्ट धोका खान्छ र नेपालबाट भागेर कोही पनि नेपाली नभेटिने ठाउँमा जाने क्रममा फिलिपिन्स पुग्छ । लोकेसनले मात्र फरक पार्दैन तर यसरी कथाले नै विदेश मागेपछि जय फिलिपिन्स गएको छ ।

फिलिपिन्समा चाहिँ फिल्मको सुटिङ गर्न कत्तिको अप्ठ्यारो रहेछ ?
नेपालमा जतिको सजिलो त कहि पनि हुदैन । किनकि हाम्रो नेपालमा निश्चित ठाउँ बाहेक कतै पनि सुटिङका लागि अनुमति लिनु पर्दैन । तर उता चाहिँ सबै ठाउँमा अनुमति लिनु पर्दाे रहेछ । एउटा चिया पसलदेखि लिएर पार्क, बीचसम्म पनि अनुमति माग्नु पर्ने रहेछ । प्रक्रिया पूरा गरेपछि चाहिँ खास गाह्रो हुन्न । नेपालमा र बाहिर सुटिङ गर्नु उस्तै नै हो ।

साम्राज्ञीका फिल्म हेर्नु भएको थियो ?
ड्रिम्स हेरे । त्यसपछि ए मेरो हजुर २ हेरे । तर तिमीसँग चै हेर्न पाईन । किनकि म आफ्नै काममा व्यस्त थिए ।

ति दुईटा फिल्म हेरिसकेपछि कायरामा फिट हुन्छ भन्ने कुन फिल्मबाट लाग्यो ?
होईन दुईटै फिल्मको अपोजिट क्यारेक्टर बनाउन सक्यो भनेचै फिट हुन्छ जस्तो लाग्यो । जुन सेटमा उ थिइन त्यो सेटलाई ठ्याक्कै उल्टायदिदा दर्शकले पनि निकै मन पराइदिनुभएको छ । उनले अहिलेसम्म एरोगेन्टको भुमिकामात्र निभाएकी छन् ।

बेला बेलामा आफैलाई चेन्ज गर्न खोज्नु भयो, कुनै बेला एक्सन, कुनै बेला थ्रिलर फिल्म, तर दर्शकले लब स्टोरीबाहेक खास रुचाएनन् नी ?
हैन मेरो करियरको सुरुवात नै त्यसरी भयो । मलाई विश्वव्यापी रुपमा चिनाउने फिल्म मेरो एउटा साथी छ हो । त्यो एउटा लव स्टोरी फिल्मनै थियो । बिचमा मैले केहि थ्रिलर फिल्म पनि गरे । तर यो लामो समयको अन्तरालमा विभिन्न देश बिदेशमा भ्रमण गर्दा दर्शकले लव स्टोरी नै चाहियो भनेर हुटिङ गरेको भेटे । फेरि ठ्याक्कै यो कन्सेप्ट मेरो दिमागमा आइरहेको थियो । यो कन्सेप्टलाई उतार्न सकिन्छ भनेर सल्लाह लिदा, सकिन्छ भनेकै कारण कायरा तयार भयो ।

रुद्रप्रियाबाट पनि तपाईंलाई खुब आशा थियो । तर फिल्म चलेन है ?
सुरुमा सुन्दा एक टाइपको फिल्म हुन्छ जस्तो लाग्छ, पछि पर्दामा अर्कै आईरहेको हुन्छ । किनभने म आफै फिल्म मेकिङ गर्दा खेरि जे सोचेको छु त्यो भन्दा माथि ल्याउन सक्छु नि त । त्यसैले आफैले प्रोडक्सन गर्ने फिल्ममा चाहिँ म सधै खुशी हुन्छु ।

रुद्रप्रिया गरेर भुल गरेको जस्तो लाग्छ ?
फिल्मको सब्जेक्ट एकदमै राम्रो लागेको थियो । मैले मेरो क्यारेक्टर भन्दा पनि सब्जेक्ट हेरेर रुद्रप्रिया गरेको थिएँ । भुलै गरे जस्तो त लागेको छैन ।

कायराको कमरसियल भ्यालु कस्तो होला ?
मलाई के लाग्छ भने लब स्टोरी फिल्मको प्रोडक्सन कस्ट राम्रै हुन्छ । किनभने सिनारियोको सबै चिज आँखालाई सितल पार्नलाई हो भनेर बुझ्नु पर्ने हुन्छ । मलाई के लाग्छ भने एउटा कमर्सियल लव स्टोरी फिल्मले एउटा क्यारेक्टरलाई पनि लामो समयसम्म जीवन्त बनाउँछ, र कमरर्सियल्ली पनि राम्रो हुन्छ । किनभने अहिलेसम्मको मेरो करियरमा सबैभन्दा हिट भएको नै लव स्टोरीनै हो ।

मेरो पास्टको त म केहि पनि महत्व नै राख्दिन किनभने, नोभेम्बर रेन चल्ने बेलामा त्योभन्दा अगाडिका फिल्महरु त्यति चलेका थिएनन् । क्लासिक हिट हुने बेलामा पनि त्यो भन्दा अघिको फिल्महरु हिट भएका थिएनन् । अगाडिको फिल्मले यसलाई असर गर्छ भन्ने लाग्दैन किनकि दर्शकले म माथि विश्वास गर्नुभएको छ । र यो फिल्म पनि अब्बल बनाउने कोशिश गरेको छु । मलाई लाग्छ अरुलाई विश्वास नगरे पनि मलाई चाहिँ ढुक्कले विश्वास गरे हुन्छ । भोलिको दिनमा यो फिल्म हिट भएपनि नभएपनि मेरो काम गर्ने शैली चाहिँ यस्तै रहने छ ।

पछिल्लो समय लब स्टोरी फिल्म हेर्दा उस्तै उस्तै देखिन्छ, कायरा कत्तिको फरक छ ?
स्कृप्ट तयार गर्दा त्यति च्यालेन्ज भएन । कहिँकतै पनि गाह्रो भएन । मात्र अलिकति समय चै लाग्यो । म अलि स्कृप्टमा धेरै टाइम लगाउँछु । पहिले नै इम्याजिन गरिसकेको भएर सजिलो भयो । सिनेमाको स्क्रिन प्ले एकदमै राम्रो र स्मुथ छ । र यसले उठाएको बिषय पनि  अन्य फिल्महरुको भन्दा फरक छ ।  के फरक छ भनेर जान्नका लागि चाहिँ फिल्म नै हेर्नु पर्छ । मैले भनेर मात्र बुझाउन नसकुला, फिल्मले बताउने छ ।

पछिल्लो समय तपाईंले आफूले आफूलाई ख्याल नगरेको टिप्पणी हुने गरेको छ । केअरलेस पनि । साँचो हो ?
म केयरलेश होइन । म अरुको कुरा धेरै सुन्दिन । जस्तो म अलिकति भावनामा बग्छु । म सँग फिल्मभन्दा बाहिरका पनि साथीभाइहरु छन् । उनीहरुको भावनालाई बुझ्छु । म समाजलाई बुझेर, समाजको प्रतिक्रिया बुझेर आफ्नै डिसिजनमा हिड्छु । त्यो कारणले गर्दा म फेलियर हुँदा अरुलाई पनि दोष दिन्न र म सक्सेस हुँदा कसैको कारणले हो पनि भन्दिन ।

जस्तो कायरालाई म्युजिकल फिल्म भनिएको छ, तपाईसँग म्युजिकको केहि सम्बन्ध भएर हो की ?
कथाको ब्याकड्रपमा म्युजिक छ । मेरो प्रोफेसन चै रेस्टुरेन्टमा काम गर्ने हुन्छ । मलाई म्युजिक मनपर्छ । तर प्रोफेसनल्ली चाहिँ होइन ।

रियल लाइफमा चै कतिको संगीत मनपराउन हुन्छ ?
म अतिनै मन पराउँछु । जस्तो मलाई खाना खादा, नुहाउँदा, सबै ठाउँमा म्युजिक भएन भने सक्दिन । झन बिहान त अति नै म्युजिक सुन्छु ।

आफैलाई चाहिँ के गर्न मन पर्छ जस्तो कसैलाई गाउन मन लाग्छ, कसैलाई बजाउन मन लाग्छ ?
मलाई गितार समातेर फोटो खिच्न चाहिँ एकदमै मन पर्छ । तर बजाउन चाहिँ सक्दिन ।