फ्राइडे रिलिज : सन्ध्या/मरिश्का भर्सेस वर्षा/सुरक्षा, छायाँमा ऋचा

शुक्रबारबाट नेपाली फिल्म हलहरुमा ३ फिल्म प्रदर्शनमा आएका छन् ‘पण्डित बाजेको लौरी’, ‘भैरे’, र ‘चक्कर’ । पछिल्लो समय फिल्म निर्माणको क्रम बढेसँगै फिल्म प्रदर्शन डेट पनि जुध्ने गरेका छन् । सोलो रिलिज भएका फिल्मले समेत उलेख्य चर्चा बटुल्न नसकिरहेको अवस्थामा फिल्म जुधेका छन् । प्रमुखत: फिल्म हलमा दुई फिल्म ‘पण्डित बाजेको लौरी’ र भैरे बीचको भिडन्त देखिनेछ । किनकी फिल्म ‘चक्कर’को प्रचार प्रसार निकै न्युन रहेको छ । प्रिमियर शो गरिसकेको फिल्म ‘पण्डित बाजेको लौरी’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ भने फिल्म भैरे का गीत संगीतले चर्चा पाएका छन् ।

‘पण्डित बाजेको लौरी’मा सन्ध्या केसी, मरिश्का पोखरेल, विजय बराल लगायतको मुख्य भूमिका रहेको छ । बादी समुदायको कथाबस्तुमा आधारित फिल्म अधृत फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको हो । फिल्ममा थमनकुमार भण्डारी (राज) र किशोर खड्काको लगानी रहेको छ । फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, प्रमोद अग्रहरी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतकाको अभिनय रहेको छ । फिल्म दिपक ओलीको निर्देशनमा तयार भएको हो ।

बर्षा सिवाकोटी, सुरक्षा पन्त, दयाहांग राई, बुद्धि तामाङ, विक्रान्त बस्नेत, बाल कलाकार अनुभव रेग्मी लगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्म भैरे पनि आजैबाट प्रदर्शनमा आएको छ । नेपालय सिनेमा इन्टरनेसनलको ब्यानरमा देवीमाया फिल्म्स र सिनेमाण्डु इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म एभरेस्ट सुर्य बोहोराको निर्देशनमा तयार भएको हो ।

प्रेम प्रसाद पौडेल र देवी माया अधिकारीको निर्माण रहेको फिल्ममा लेख बहादुर पुन कार्यकारी निर्माता रहेका छन् । फिल्ममा करुनाकर घिमिरे, गायक यम बराल, कुमार बस्नेत, शिन्धु पौडेल, सबिता गुरुङ लगायतको सह निर्माण रहेको छ ।

फिल्ममा एभरेस्ट सुर्य बोहोरा र बसन्त सापकोटाको गीत रचना, बसन्त सापकोटा, अर्जुन पोख्रेल र यम बरालको संगीत बसन्त श्रेष्ठ कविराज गहतराज , रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, पुरुसोत्तम प्रधानको छायांकन, एभेरेस्ट सुर्य बोहोरा, दिनेस न्यौपाने, अभिमन्यु निरवीको पटकथा तथा सम्बाद रहेको छ ।

आजै बाट अर्पण थापा, ऋचा शर्मा, एभोनराज उप्रेती, सृजना सुब्बा, स्मृति पोखरेल लगायतको मुख्य भूमिका रहेको फिल्म चक्कर पनि प्रदर्शनमा आएको छ । प्रचार प्रसार निकै न्युन रहेको यो फिल्मको चर्चा पनि न्युन नै रहेको छ ।

नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्देशन अनुष्क रौनियारले गरेका हुन् । सिमित बजेटमा निर्माण भएको यो फिल्मको कथा, पटकथा, संवाद साथै सम्पादन समेत निर्देशक अनुष्कको नै रहेको छ । फिल्ममा रविन आचार्यको निर्माण तथा छायांकन रहेको छ भने संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।