जिवन भनेको यात्रा नै हो त ? LOVE @ पच्चीस (भाग -२) – अनल गौतम

तर यो कस्तो यात्रा, मन बसेको ठाउंमा रोकिन नमिल्ने अनि रोकिएको ठाउंमा मन नबस्ने । यस्तो पनि यात्रा हुन्छ कहिं ? यात्रा भनेको त स्वतन्त्र रुपमा निर्बाध रुपमा आफुंलाई मन लागेको बखत र स्थानमा पुग्न वा रोकिन पाउनु पर्ने होइन र ?
म कहां जांदैछु? कसको साथमा जांदैछु? किन जांदैछु? कसको लागी जांदैछु? मायां, स्नेह, परिवार, इष्टमित्र, साथि संगती अनि आफ्नो मातृभुमी छोडेर के म मात्रै पैसा कमाउनका लागी जांदैछु त? तर म खान लगाउनै समस्या भएको वा ऋणमा चुरलुम्म डुबेर त्राही त्राहि भएको अवस्थाको मान्छे पनि त होइन ।

कि मेरो भबिष्य खोज्न जांदैछु? तर म आफ्नै मातृभुमीमा कामै नपाएर भौंतारिदै बरालिएर हिडेको पनि त होइन । कि सकसपुर्ण जिवन महशुस भएर शान्ती अनि स्वतन्त्रता खोज्न जांदैछु? तर शहरीया जिवनशैलीमा शिक्षीत परिवारमा जन्मे हुर्केर घर परिवार, व्यवसायीक व्यक्तीत्वहरु सबैको आंखाको नानी भएर बसको मान्छे पो हो त म । मलाई मेरो परिवारबाट कहिल्यै कुनै कुरामा कतैबाट रोकतोक भएन । मलाई कहिल्यै कुनै नचाहिदो बन्धनमा बाधिएर बस्नु परेन न त मेरा स्वभाविक र जायज चाहनाहरु पुरा गर्न कुनै अर्थोभाव नै भयो ।
न त म बौद्घीक- मानसीक वा शारीरीक रुपमा अपाङ्ग नै छु । त्यो सबै कुरा त छदैथियो मेरो वाल्यकालदेखी नै त्यैमाथी भर्खरै पाएको मेरो जिवनको अमुल्य उपहार, मेरो जिवनको पहिलो प्रेमी, मेरो रोम रोममा बसेको मेरो मायां मैले ठानेको मेरो मुटु जसले मलाई यति छोटो पच्चीस दिनको अवधिमा यति बिध्न मायां गर्यो, अभुतपुर्व खुसी दियो उ अनि मसंग भएका यि सारा कुरालाई छोडेर म किन हिडें त बिदेश?

झर झर झर्ने झरना अनि कल कल बहने स्वच्छ नदिको मिनरलले भरिपुर्ण मेरो मातृभुमीको शितल जल छाडेर म किन समुद्रको पिउन अयोग्य पानिको अनियन्त्रीत अनि बेगवान लहरहरु संगै लहरिन हिंड्दैछु? उनले यस्तै कुराहरु मनमा खेलाउंदै सोच्दै गर्दा उनी बसेको प्लेनले झण्डै झण्डै नेपालको सिमा काटीसकेको थियो ।

प्लेनमा उनि बसेको छेउको विण्डो सिटमा एक जना बिदेशी हब्सी (अफ्रीकी मुलको कालो बर्णको मानिसका लागी प्रयोग गरीने स्थानिय शब्द) महिला बसेकी थिइन् जो नेपाल घुमघाम सकेर स्वदेश फर्कदै थिईन् । ति महिला लगातार उनिसंग बोल्ने कोशिस गर्दै थिईन् तर उनि भने आंखा चिम्म गरेर कुनै प्रतिकृया नदिई चुपचाप बसिरहीन् । केहि बेरको कोशिस पछि पनि उनले रेस्पोन्स नगरेकोले ति हब्सी महिला अर्को पट्टी फर्केर बसीन् ।

प्लेनले आफ्नो उचाई र गती लिई सकेपश्चात क्याबिन क्रुहरुले रिफ्रेसमेन्ट अनि खानाको लागी पटक पटक अनुरोध गर्दा पनि उनले बिल्कुलै वास्ता गरीनन् । उनि भर्खरै छोडेर आएको परिवार, मातृभुमि अनि बिषेशतः प्रेमीको यादमा तड्पिरहीन् । उनको आंखा त बन्द नै रहिरह्यो तर पनि बन्द आंखालाई पनि आंशुले डुबाउन छोडेन । उनले आंखा खोलेकी भए ति आंशु नशा काटीदा बहने रगतका धारा झै भलल बहन थाल्थे त्यसैले पनि हुन सक्छ उनले आंखा खोल्नै चाहिनन् ।

उनि जती जती यस पटकको नेपाल बसाईको बिषयमा सोच्दै जान्थीन उनको मन उत्तीनै भारी हुंदै जान्थ्यो । जसै उनि मन मनै सोचाईको बिषय परिवर्तन गर्न खोज्थीन उसै उनको प्रेमीको छबिचित्र उनको मन मस्तीष्कमा झनै चहकिलो भएर आउंथ्यो अनि उ संग बिताएका एक एक पल चलचीत्रको पर्दामा देखीएझैं आंखै अघिल्तिर स्पष्ट भएर छाउथ्यो ।

उनि केही बर्ष अघि देखी मात्रैको उनले बनाएको बिदेशको कर्मथलोमा जांदै थिईन् । पर, निकै परको कर्मथलो । घण्टौंको हवाई यात्रामा कयौं डाडांकांडा, नदिनाला, ताल तलैया, गांउ शहर, मरुभुमी बगर, सागर अनि महासागर पार गरेर बल्ल पुग्न सकिने केहि बर्षको समय बिताई सकीएको भएतानि अनौठा, अन्जान, अपरिचित मानिसहरुको साथमा बिल्कुलै नमिठो बहने बास्नारुपी हावा, ककर्श झैं सुनिने बतास अनि भयङ्कर झैं लाग्ने समुद्री छाल सहितको परिदृष्यमा म कसरी कहां खोज्न जाउं मेरा मनमितहरु, कसलाई सुनाउं मेरो मनका भावहरु?

उनी अब आफ्ना उद्वेगहरु अनि मनका बहहरु जतीनै मन नपरेपनि त्यहांको बतासलाई पोख्ने भएकी थिईन् । सुर्यका किरणलाई देखाउने भएकी थिइन् बहाएर आफ्ना आंशु । बिसाउने भएकी थिईन् सुस्तरी त्यहां उदाउने चन्द्रमालाई आफ्नो प्रेमगाथा र त्यसैगरी मन हलुङ्गो बनाउने भएकी थिईन् आफुलाई ।

उनि झसंग भईन् । जब उनी बसेको प्लेन कतै धस्रदै थियो । जती सुकै गहैं मन भएपनि मरीहाल्न त कसलाई पो मन लाग्छ होला र । उनी आत्तिदै यता उता टाउको घुमाउन थालीन तर सबै शान्त थिए । झट्ट झ्यालबाट हेर्दापो थाहा पाईन् उनको प्लेन त दुबइ पुगीसकेछ ।
केहि घण्टा अघि सम्मको परिवार र प्रेमीको साथमा मातृभुमीमा रमाईरहेकी उनी अहिले दुबई पुगीसकेकी छिन् तर उनको गन्तब्य भने दुबई होईन । जानु पर्ने त अझै टाढा छ निकै टाढा, दुबई त उनको ट्रान्जीट प्वाईट मात्रै हो । दुबईमा २÷४ घण्टा कुरेपछि उनि आफ्नो गन्तब्यकालागी फेरी उड्नेछिन ।

उनको छेउमा बसेकी हब्सी महीलालाई उनि बल्ल नियाल्दै थिईन् । ति महिला संग उनको आंखा जुध्यो उनि हल्का मुस्कुराईन ति महिलासंग तर ति महिलाले यस पटक उनलाई ध्यान दिईनन् । ति महिला शायद उनलाई अघि देखी बोलाउंदा बोलाउंदा पनि उनले वास्ता नगरेकोले हुन सक्छ यस पटक तिनले वास्ता गरीनन् ।

उनि बोल्न खोजीन् ति हब्सी महिलासंग ।  उनि ति महिला पट्टी फर्केर भन्दै थिईन् “वि रिच्ड दुबई सो क्वीक्ली” । “नो, इट टुक मोर द्यान द रियल टाईम आई थिङ्क । यु वेर सो साइलेण्ट एण्ड स्लीपिङ टोटल्ली सो माई जर्नि बिकेम बोर” आफुं संगै सीटमा बसेको सहयात्री उनि यात्राभर नबोलेकोले उनलाई दिक्क लागेको भावमा ति महिला भन्दै थिईन् ।

“ओह, आई एम सो सरी । आई एम डीस्टब्र्ड ड्यु टु लिभिङ माई फेमीली फर अ होल ईयर सो आई वाज अपसेट” उनि बल्ल सहयात्रीको मनोभाव बुझ्दै थिईन् ।

“इट्स ओके आई ह्याभ कम्प्लीटेड हाफ अफ आवर जर्नि“ ति महिला केहि खुसी देखीईन । कुरा अझै अघि बढाउंदै थिईन् तिनि “माई नेम ईज बाल्डेय एडीसन एण्ड आई एम फ्रम मौरीटानिया । आई एम अ प्रोफेसर अफ आर्ट एण्ड कल्चर । आई हर्ड अबाउट योर कन्ट्री लट सो आई केम टु भीजीट योर प्लेस । ईट इज सो गुड, मोर बेटर द्यान माई एक्स्पेक्टेसन एण्ड यु पिपल आर अल्सो सो लभ्ली” तिनि महिलाले दंग पर्दै एकै सासमा सबै कुरा भनि सिध्याइन् । मानौं उनलाई यहि कुरा गर्ने मौका कुरेर बसेकी थिईन् तिनि प्लेनमा बसे देखी नै तर उनको मौनताले अवसर नै दिएन ।

“थ्याङक्यु, माई नेम इज सोनी तामाङ एण्ड एज यु नो आई एम फ्रम नेपाल बट आई वर्क ईन जमर्नि । आई केम होम अन होलीडे एण्ड नाउ आई एम गोइङ व्याक टु जमर्नि“ तिनि हब्सी महिलालाई यति कुरा सुनाउंदैमा पनि उनले केहि हल्का महशुस गरे झैं भयो उनलाई । तिनले उनि नेपाली भएको पनि सहजै ठम्याइसकेकी थिइ्न जसबाट पनि लाग्थ्यो सांच्चै कला र संस्कृतिकै जानकार हुनु पर्दछ तिनि ।

अरु यात्रुहरु प्लेन रोकिनासाथै हत्तनपत्त उभिएर ह्याण्डव्याग झार्ने कोशिस गर्दै गर्दा उनिहरु भने गफगाफमै व्यस्त रहे । केहि बेरमा निकै यात्रुहरु झरीसकेपछि भने उनिहरु आफ्नो आफ्नो सामान बोकेर संगै प्लेनबाट उत्रीए ।

हुनत उनिहरु भिन्ना भिन्नै गन्तव्य तर्फ लाग्दै थिए । यो फगत केहि क्षण मात्रैको साथको कुरा थियो । तै पनि उनलाई बल्ल यो परदेशमा कोहि आशालाग्दो मान्छे भेटिएको थियो तर अफसोस उनिहरु भिन्दा भिन्दै बसमा पसेछन जसले गर्दा बसमा बसीसकेपछि उनले खोज्दा पनि ति महिला भेटिईनन् । निकै अग्ली र मोटी छोटो कपाल भएर पनि मसिनो गरी टनक्क बाटेकी आकर्षक काली ती महिला फेरी पनि उनको दिमागमै बसिरह्यो केहि बेर ।

उनि बसबाट झरेर दुबई एयरपोर्टको इमिग्रेशनमा इन्ट्री गरीसकेर जमर्नि जाने गेट छेउ पुगेर यता उता नियाल्न थालिन् । भिडभाड युक्त निकै व्यस्त दुबई एयरपोर्टमा वरी परि मुख्यत अंग्रजी, अरेबिक, हिन्दी, फीलिपिनो लगायत नेपाली भाषाहरु समेतको ध्वनी उनको कानमा ठोक्कीदै थियो तर त्यो घमासान माहौलमा कोहि पनि मनलाग्ने अनुहार भने पाईनन् उनले ।

दिक्क मान्दै हातमा बांधेको घडि हेरीन् । उनको अर्को फ्लाईटको लागी अझै झण्डै ३ घण्टा समय बाकिं रहेछ । उनले यो भन्दा अगाडी पनि घर नछोडेकी होइनन् । उनि बिदेशीएकै २÷३ बर्ष बितिसकेको छ जुन समयावधिमा २ पटक त घर आईसकिन् तर यस भन्दा अघि भने उनले यत्ती साहे एक्लो र खल्लो महशुस गरेकी थिईनन् । यस पटकमा उनले आफ्नो मनमा भर्खरै केहि दिन अघि देखी मात्रै सजाएर बसाएकी प्राण भन्दा प्यारो लाग्ने प्रेमी छोडेर आएकी छिन् त्यसैले त उनलाई लाग्दैछ उनको शरीर मात्रै न यहां छ मन त मात्रै आफ्नो प्रेमीको यादमा र उसैको चिन्तामा उतै छ ।

फेरी कल्पनामा हराउन थाल्दै गर्दा र प्रेमीको यादमा डुब्दै गर्दा उनलाई केहि गार्हो भएझैं भयो । रिङ्गटा लागेको जस्तो महशुस गरीन् । उनि वरिपरि हेर्न थालीन तर उनले खोजेको वाशरुम भने केहि पर रहेछ । वाशरुम छिरेको निकै बेर पछि उनि बाहिरीदा पहिला भन्दा केहि फ्रेस भएको जस्तो लाग्यो । वाशरुमबाट निस्कीनासाथै उनको जमर्नि जाने गेट छेवैमा रहेको कफीशपबाट उनको सबैभन्दा पृय पेय पदार्थ कफि हातमा लिएर चुस्की मात्रै के लिन खोजेकी थिईन उनको पछाडीबाट कसैले उनको कांधमा धाप मार्यो ।

उनि यसरी झस्कीइन कि उनको हातमा रहेको कफीको पेपर कपको क्याप राम्ररी लागेको रहेनछ हल्लीएर केहि थोपा कफी उनको जुत्तामा समेत पर्न पुग्यो । बिरानो र परदेशको ठाउंमा कसले धाप मार्यो भनेर आत्तीएर पछाडी फर्केर हेर्दा उनि झनै जिल्ल परिन । उनलाई पछाडीबाट धाप मार्दै बोलाउने त उनको पहिलाको संस्थामा संगै काम गर्ने उनको साथी पो रहिछिन् ।

उनिहरु छक्क अनि दङ्ग पर्दै एक अर्काको अंगालोमा बेरीए एकै छिन । “होईन तीमी कहां हिंडेकी यसरी एक्लै” उनको साथि उत्तेजीत भई उनलाई प्रश्न गर्दै थिईन् । “म त छुट्टीमा आएकी थिएं थाहा छ त तिमिलाई अब फेरी काममा फर्किदै छु तर तिमि चाहिं कता हिडेकी को को आएको तिमिहरु?” उनि पनि आश्चर्यरुपी भावमा सोध्दै थिईन् ।

जाउं उता कृहि खुलामा बसेर कुरा गरौं भन्दै तिनले तानेर छेउैमा रहेको केफसी अगाडी लगेर बसाउंदै भनिन् “म साथीसंग टर्कि जांदैछु, स्तानबुल छुट्टीमा घुम्नको लागी तर तिमिलाई चाहिं के भयो त्यत्ती धेरै चम्कीलो र उज्यालो मान्छे यस्तो बिध्न सिरीयस देखीन्छौ, सन्चै त छ तिमिलाई” अनि गाला र निधार छाम्न थालिन उनको ।

उनले अर्को कफी अर्डर गर्दै “ओहो को हो त्यस्तो साथी तिम्रो संगै टर्कि जाने, ब्वाईफ्रेण्ड हो” भनिन् केसी सहज बन्ने कोशीस गर्दै ।  “कती कुरा छल्न जानेकी के, हो म व्वाईफ्रेण्डसंगै जांदैछु म । उ शपिङ गर्दैछ हाम्रो अब १ घण्टामा फ्लाईट छ । तर तिमिलाई भएको के त भन, हामि त निकै मिल्ने साथि पो हौं त” तिनि अलि उत्साहित अनि मायांलु शैलीमा फेरी उनको कपाल मुसार्दै सोध्दै थिईन् ।

उनिहरु निकै मिल्ने साथी थिए । जिवनका थुप्रै पाटाहरु उनिहरुले संगै केलाएका थिए । दुबै जना एक अर्काको पारिवारीक तथा व्यक्तीगत रुपमा करीवन पुर्ण रुपमा परिचित थिए । “केहि होईन, अब १ बर्ष फेरी टाडा जांदैछु त्यसैले घर मिस गरेको भएर त्यस्तो देखीएको होला” कफीको लामो चुस्की सहित उनि सामान्य रुपमा जवाफ दिने कोशिस गर्दै थिईन् ।

“घर मिस भएको कि तिम्रो व्वाईफ्रेण्ड मिस भएको हं?” कपाल थोरै तान्दै जिस्काउंदै थिईन् तिनि । उनैले केहि दिन अगाडी मात्रै नेपालमै कार्यरत रहेको बेला उनको अफीसमा बोलाएको मान्छेलाई त्यतीबेलै सबैले उनको व्वाईफ्रेण्डको रुपमै बुझेका थिए त्यसैले पनि होला तिनले पुर्ण विश्वासका साथ उनलाई सोध्दै थिईन् । “अं, अलि अलि तेस्तै पनि हो” उनले केहि लजाउंदै टाउको झुकाएर उत्तर दिईन् ।

“अब के गर्छौ त, तिमि बस्छौ बाहिर अनि नेपालको व्वाईफ्रेण्ड भएपछि यस्तै हो नि । किन फेरी बिदेश नै फर्केको त तिमि? सबै कुराले पुगेकै छ त तिमिलाई नेपालमै“ तीनि थप्दै थिईन् । “मैले पनि सोचेको त हो सोच्नत तर पनि खै के भयो भयो । मन नलागी नलागी आएं यसपाली” उनको मुहारमा फेरी नैरश्यताको भाव झल्कीयो ।

“हेर चिन्ता गर्नु हुदैंन यसरी । तीमी त जाने बुझेकी शिक्षीत अनि सक्षम मान्छे । तीमी जस्तो माथील्लो स्तरको चेतना भएको बुद्घीजीवी अनि परिपक्व र व्यवसायीक मान्छे पनि यस्तो कुरामा अल्झेर बस्नु हुन्छ? म त तीम्रो बारेमा सोचेर जहिल्यै इश्र्याले जल्छु जहिल्यै, काश तिम्रो जस्तो क्षमता भएको भए भनेर । छोड, भैगो जे भयो भयो अब उताको कुरा सम्झेर नबस, तिमि अर्को पटक फेरी नेपाल फर्के पछि जे होला होला तर अहिलेलाई जे भयो बिर्स सबै र मात्रै आफ्नो काममा मन लगाउ अनि खुसी भएर बस” तिनि खुबै दार्शनिक झैं सम्झाउदै थिइन् “तिमि यतीका बर्ष सम्म आफ्नो परिवार छोडेर बस्दा त खुसी थियौ एउटा केटासंगको केहि दिनको सम्बन्धले नै यति बिछिप्त बनायो त तिमिलाई? उसले तिमिलाई सांचै मायां गर्छ भने उ पनि त संधै तिमि खुसी भएकै देख्न चाहन्छ नि होइन र?” ।

खै के सोचीन उनले तर तिनको पछिल्लो कुरा सुन्ना साथै उनको मुहारमा भिन्न चमक देखा पर्यो । उनि आफ्नो स्वभावीक शैलीमा गालामा खाल्टो पार्दै मुसुक्क मुस्कुराईन् लामो श्वास लिएर । फेरी पनि के सोच्दै मस्कीएको शैलीमा मुस्कुराउंदै एकै घुट्कामा कपमा बांकि रहेको सबै कफी घुटुक्क पारिन् ।

उनिहरु कुरा गर्दा गर्दै तिनको व्वाईफ्रेण्ड पनि त्यहां आईपुगे तिनैलाई खोज्दै अनि थोरै झपारेको झैं गरी कराउन थाले “फ्लाईटको टाईम भैसक्यो, एनाउन्समेन्ट गरेको कति बेर भयो । तिमिलाई बसिराख भनेको कता कता पुगेकी, छिटो हिंड भन्दै” ।
तिनले घडी हेर्दै भनिन् “ला… मैले त समय गएको पत्तै पाईन । उ मेरी साथी सोनि, म नाम लिईरहन्थें नि तिमीसंग जर्मनि जादैं रहीछे अनि अचानक भेट भएर…” ।

तिनिहरु औपचारीक परिचय गरेर हतारमा हिंडे । तिनले जांदा जांदै उनलाई अंकमाल गर्दै कानमा खुसुक्क भनिन् “इन्ज्वे योर लाईफ है एण्ड डण्ट बि प्यानिक । मस्तीको टाईममा मस्ती कामको टाईममा काम । सेम लाईक मि” ।

तिनिहरु निस्कीसकेपछि उनलाई अघि भन्दा निकै राहत महशुस भयो । फेरी त्यहि कफिशपमै बसेर खुट्टा आफ्नो अगाडीको अर्को कुर्सिमा राख्दै रिल्याक्स मुडमा बसेर अर्को कप कफी अर्डर गरीन् । खै के मनमा खेल्न थाल्यो उनको आफैंमा रमाईलो मान्दै कफी पिउन थालिन् । उनको फ्लाईटको समय अझै १ घण्टा भन्दा बढी बांकि थियो ।

अर्को भाग अर्को शनिबार…