तपाइले नगाएको भए ५० लाख फाइदा हुन्थ्यो कि संगीतकार ज्यू ?

गायक सुगम पोखरेलले बिहिबार रिलिज भएको जय शम्भुको गीत गाउन चाहेनन् या मानेनन् वा संगीतकारलाई पत्याएनन्, त्यो उनले नै जानुन् । तर, संगीतकार टंक वुढाथोकीका अनुसार उनले सुगमलाई धेरै प्रयास गर्दा पनि समय मिलाउन नपाएपछि आफै गाएका हुन् । टंक वुढाथोकीलाई गीत गाउने भूत कति सवार छ भन्ने त आम मानिस जानकार छन् ।

टंकले सुगम बाहेक अरु गायकलाई गाउन दिने प्रयास नै गरेनन् । टंक आफ्नो स्टूडियोमा अरुले गीत गाउनै नपाउने अड्डी लिने गर्छन् । यही भएर पनि होला, सुगम टंकको स्टूडियोमा आएर गीत गाउन सहज भएनन् ।  टंकले, यो गीत सुगमले नगाउँदा आफूलाई ५० हजार घाटा लागेको भनेर पैसाकै लोभ देखाए । सुगमले नगाउँदा प्याकेजमा लिएको गीतबाट ५० हजार उनले निर्मातालाई फिर्ता गरे रे ।

सवा २ करोडमा बनेको सिनेमाको ५० हजार रुपैयाँ टंकले फिर्ता गरेर निर्माताको आधा लगानी त सुरक्षित भएन होला ?

तर, टंकले यो गीत नगाएर अरु कुनै चलेको गायकले गाइदिएको भए यसको मिठास अझै बढ्न सक्थ्यो होला कि ? के थाहा, गीत भयंकर चलेर निर्माताको लगानीमा राम्रै रकम सुरक्षित गर्ने सामाग्री बन्थ्यो कि ? नेपालमा गीतले पनि सिनेमाको व्यापारमा धेरै भिन्नता ल्याएका छन् क्यारे ।

टंकले सुगमले गीत नगाउँदा आफूलाई ५० हजार घाटा लागेको भनेर के भन्न खोजेका ? आफै गायक, आफै संगीतकार भन्ने धुनले कुनै निर्माताको लाखौ रुपैयाँ कतै संगीतकारले खेलवाड गरिरहेका त छैनन्, यो बारेमा पनि सोच्ने कि टंकले ? होइन भने आफै गीत गाएर पैसा जोगाइदिए भनेर आत्मरतीमा कहिलेसम्म रमाउने होला ?