अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाली नाटक ‘चन्द्र–सूर्य र काग’

रङ्गकर्मी केदार श्रेष्ठले कोरियाको ‘पुम थिएटर फेस्टिभल २०१८’  र ‘आसितेज कोरिया इन्टरनेशनल समर थिएटर फेस्टिभल’ मा आफ्नो एकल नाटक ‘चन्द्र–सूर्य र काग’ गरेका छन् ।

अंग्रेजीमा ‘मिस्टर मुन, मिस सन एण्ड मिसेस क्रो’ नाम दिइएको सो नाटक एक महिने एसियन आर्टिस्ट रेसिडेन्स कार्यशालामा क्रममा तयार पारिएको थियो । ‘एसियन आर्टिस्ट रेसिडेन्स फर चिल्ड्रेन्स थिएटर २०१८’मा नेपालबाट प्रतिनिधित्व गर्दै ‘आसितेज नेपाल’को तर्फबाट सहभागी भएका केदार श्रेष्ठ थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलका संस्थापक तथा कला निर्देशक समेत रहेका छन् ।

आमाको पर्खाइमा रहेका भोका दाजु र बहिनीले छट्टु बाघसँग गरेको संघर्ष कथामा छ । उनीहरुलाई यो संघर्षमा कागले निरन्तर साथ दिन्छ । नेपाली परिवेशमा ढाल्ने क्रममा कोरियाली लोककथामा भन्दा फरक रुपमा मृत्युपर्यन्त पनि आमाले आफ्ना छोराछोरीलाई क्रुर बाघको घेराबाट बचाएको कथा प्रस्तुतिमा छ । आमाले जोगाएर आकाशमा पुगेका दाजु बहिनी अन्ततः चन्द्र र सूर्य बन्छन् ।

कोरियाको गेयोगीं प्रान्तस्थित मिन्डुले थिएटर भिलेजमा हुने बालबालिका र अभिभावकमा केन्द्रित नाट्य महोत्सव ‘फेस्टिभल पुम’ को यो १० औं संस्करण हो । कोरियन आर्ट काउन्सिलको सहकार्यमा गरिएको एसियन आर्टिस्ट रेसिडेन्समा कोरिया, नेपाल, भारत, फिलिपिन्स, श्रीलंका र पाकिस्तानका गरी १० रङ्गकर्मी सहभागी थिए । थिएटर फेस्टिभलमा भने विश्वभरबाट विभिन्न देशका नाटकहरु मञ्चन भएका थिए ।