असोकलाई बेपत्ता बनाएको भन्दै टंक बुढाथोकी बिरुद्द वडा कार्यालयमा निवेदन

गायक तथा संगीतकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीको बिषय चर्चा र विवाद बीच रुमलिरहेको छ । यसै बीच बुढाथोकीले बाल गायक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन परेको छ । मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले गायक बुढाथोकीले बाल गायक दर्जीलाई बेपत्ता बनाएको र उनलाई झिकाई पाउ भन्दै निवेदन दिएका छन् ।

दर्जी बेथल एजुकेशनल एकाडेमीमा अध्ययनरत छन् । बुढाथोकीले गत असार २३ गते परीक्षा चलिरहेको अवस्थामा बाल गायक दर्जी भोलीपल्टै ल्याइदिने सर्तमा लिएर गएको तर,  आजसम्म फिर्ता नल्याएकाले ‘सम्बन्धित व्यक्ति झिकाई पाऊ’ शीर्षकको निवेदन न्यौपानेले वडा कार्यालयमा दर्ता गराएका हुन् । दुई सातायता संगीतकार बुढाथोकी र प्रिन्सिपल न्यौपानेबीच बाल गायक दर्जीलाई कसले राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ।