भुवन चन्द र चैत्यदेवीको निर्माण रहेने फिल्म ‘साईनो’मा नीता ढुंगाना

ऐतिहासिक फिल्म ‘आमा’का दुई अभिनेत्री भुवन चन्द र चैत्यदेवीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘साइनो’मा नायिका नीता ढुंगाना फाइनल भएकी छिन् । नीता ढुंगाना र फिल्म निर्माण यूनिट बिच बुधवार लिखित सम्झौता भएको हो ।

यसअघी फिल्मको लिड रोलका लागि नीतासँगै नायिका सारा सिर्पालीसँग पनि कुरा भएको बुझिएको थियो । ट्रयाङगुलर लभस्टोरी फिल्ममा नीतासँगै नायिका मिरुना मगरको पनि अभिनय रहनेछ । फिल्मको मेल लिडमा डेब्यु नायक राजकुमारको अभिनय रहनेछ ।

फिल्मलाई रमेश थापाले निर्देशन गर्नेछन् । निर्देशक रमेश थापाले दिएको जानकारी अनुसार छिट्टै फिल्मको छायाङ्कन सुरु गरिनेछ । फिल्ममा अभिमन्यु निरवीको लेखन र रामशरण कोइरालाको मुख्य सहायक निर्देशन रहनेछ ।

आजभन्दा ५३ वर्षअघि बनेको फिल्म ‘आमा’लाई नेपालकै पहिलो फिल्म मानिन्छ । यही फिल्ममा अभिनय गरेकी भुवन चन्द नेपालको पहिलो अभिनेत्रीको रुपमा परिचित छिन् । यही फिल्ममा चैत्यदेवीले पनि अभिनय गरेकी थिइन् । अब भने उनीहरु फिल्म निर्माणमा सक्रिय हुने भएका छन् । इतिहास बोकेका उनीहरुको फिल्म निर्माण यात्रा कस्तो रहनेछ त्यो भने प्रतीक्षाको बिषय रहनेछ ।