नेपाली फिल्ममा किस सिनको सिलसिला, राजेश हमाल देखि प्रियंकासम्म

अभिनेत्री प्रियंका कार्कीले ठूलै पाप गरे जस्तो गरि अहिले उनलाई गालीको बर्षा भएको छ । रिलिज हुन लागेको कथा काठमाण्डु फिल्ममा उनले गरेको चुम्बन र बेडसिनको उत्तेजक दृश्यले सामाजिक संजाल र यूट्युब तताएको छ । प्रियंकालाई जुन स्तरको कलाकारको रुपमा दर्शकले सोचेका थिए, त्यो यो भिडियोले सक्काएको कमेन्ट आएका छन् । यो भिडियोले प्रियंकालाई ठूलै घाटा लागेको झट्ट हेर्दा भन्न सकिन्छ ।

तर, नेपालमा टङ किस र बेड सिनको सुरुवात गर्ने अभिनेत्री प्रियंका नै पहिलो होइनन् । फिल्म मनकामनाको एउटा दृश्यमा अभिनेता शिव श्रेष्ठले सदाबाहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको ओठमा लामै चुम्बन गरेका छन् । मनकामनाको दृश्य सार्वजनिक हुँदा समाजले जिव्रो टोक्थ्यो भने अहिले आलोचना गर्छ ।

अमेरिकामा रहेका अभिनेता मुकेश ढकाललाई ३–४ वटा फिल्ममा लिप किस दिदा नेपाली इमरान हास्मीको उपमा नै दिइएको थियो । किस चर्चाले मुकेशलाई त्यतीबेला फाइदा भयो । सिलसिला फिल्ममा अभिनेता राज तिमिल्सिना र अभिनेत्री सोनिया केसीले गरेको चुम्बनको दृश्य अहिले पनि हिट छ । सागर सरी चोखो माया बोलको गीतले हिट भएको  सिलसिलाको चुम्बन काण्ड अहिले पनि चर्चा गर्ने गरिन्छ ।

वास्तवमा नेपाली फिल्ममा टङ किस भनेर गाइगुई गरिने दृश्यहरु लिप किस हुन् । टङ किसका दृश्य खुलेर धेरै अभिनेता र अभिनेत्रीले दिएका छैनन् ।

फिल्म लुट हिट भएपछि नेपालमा उच्छृङखल फिल्महरुको बाढी नै लागेको थियो । त्यो बाढीको भेलमा जिया केसी, सविना कार्की, सोनिया केसी, सुष्मा कार्कीदेखि अन्य थुप्रै अभिनेत्रीको उदय भयो । जसले एटीएम, बर्बाद, जिगलो जस्ता सिनेमाको जन्म दिए । यी सिनेमामा त हिरोइनहरुले टङ किस र लिप किस मात्र होइन, आफ्ना संवदेनशिल अंगमा हिरोलाई कुनै धक बिना नै छुन दिए । आज यी अभिनेत्रीहरुको नाम निशाना नेपाली फिल्ममा छैन ।

चपली हाइट फिल्ममा अभिनेत्री विनिता बरालले दिएको दृश्य कलात्मक थियो या भद्दा त्यसको विश्लेषण गर्न सकिएला । तर, विनिताको दृश्यले त्यो बेलामा पाएको चर्चा अहिले पनि भुल्न सकिदैन ।

चुम्बन काण्डबाट अभिनेता राजेश हमाल पनि अछुतो छैनन् । द यूगदेखि यूगसम्म फिल्ममा निर्देशक दिपेन्द्र के खनालले अभिनेता हमाललाई नन्दिता केसीसँग लिप किस गराएका थिए । चुम्बनको दृश्य दिनु परे फिल्म खेल्दिन भन्ने अभिनेत्री रिस्ता बस्नेतले आधा पेज फिल्ममा अभिनेता सलोन बस्नेतसँग यस्तै दृश्य दिएकी थिइन् ।

नयाँदेखि पुराना कलाकार चुम्बनको दृश्य दिनबाट अछुतो छैनन् । अभिनेत्री मरिष्का पोख्रेल र अभिनेता आर्यन अधिकारीले के म तिम्रो होइन र फिल्ममा दिएको एउटा चुम्बनको दृश्य अहिले पनि युटुबका थुप्रै भिडियो विकाउने माध्यम बनेका छन् । मरिष्काले चुम्बनको चर्चा धेरै भएको भन्दै आफू प्रचारमै नहिड्ने भन्दै आशु समेत झारेकी थिइन् ।

चुम्बनको सूची लामो बनाउन सकिन्छ । चुम्बनको दृश्यले कतिपय कलाकारको करिअर सक्यो भने कतिपय कलाकारले २ –४ दिन चल्ने माहोल बनाए ।

आयुष्मान र प्रियंकाको सम्बन्ध

अभिनेत्री प्रियंका कार्कीले कथा काठमाण्डुमा दिएको दृश्यले यति धेरै गाली खानुका कारण छन् । कहिलेकाही गलत समयमा कुनै ट्रिक लगाइएयो भने फेल हुन्छ । लुट, चपली हाइट २ चलेको समयमा जिया केसी, सविना कार्कीहरुले एटीएम खेल्दा त्यसले मसला धेरै पायो । किनकी, त्यो बेला यस्तै फिल्मको बाढी आएको थियो । तर, अहिले यस्ता दृश्य अपाच्य भन्दा पनि अनावश्यक भैसकेका छन् । फेरि, प्रियंका कार्कीलाई दर्शकले विश्वास गरेका थिए । प्रियंकाबाट यस्तो दृश्य आउँदा आशा गरेको मानिसबाट निराशाको काम हुँदाको परिणाम जस्तै हो ।

प्रियंकाको यो गीत त्यतिबेला सार्वजनिक भएको छ, जतिबेला उनले अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट लगतै यो दृश्य आएका कारण पनि आयुष्मानले सहानुभुती बढी पाए र प्रियंकाले गाली खाइन् ।

प्रियंका र आयुष्मान अहिले यो गीत सार्वजनिक नहोस् भन्ने चाहन्थे । तर, गीत सार्वजनिक भैसकेको छ । हुनत, यही फिल्मको छायांकन हुँदा नै यी दुईको प्रेम फक्रिएको हो । यसैले पनि यो गीतको बारेमा आउने प्रतिक्रियामा प्रियंका र आयुष्मान पहिले नै तयार थिए । यसकारण, उनीहरुको सम्बन्धमा असर पर्छ भन्ने तर्क व्यर्थ हुनसक्छ । तर, अभिनेत्री प्रियंका कार्कीले बनाएको नम्बर १ अभिनेत्रीको छविलाई भने यो उत्तेजक  भिडियोले कुनै न कुनै रुपमा धुमिलो बनाएको छ ।