महेश बाबू पुनः मुख्यमन्त्री बन्दै

सुपरस्टार महेश बाबूको तेलुगु फिल्म ‘भरत अने नेनु’ ले विश्वभर सानदार कलेक्सन गर्दै चर्चा बटुलेसँगै अब यसको सिक्वेल निर्माण हुने भएको छ । कोर्टाला शिवको निर्देशनमा बनेको फिल्म ‘भरत अने नेनु’ एक पोलिटिकल थ्रिलर हो, जसले विश्वभर करीब २ सय करोडको कलेक्सन गरेको छ । फिल्ममा महेश बाबूले भारत रामको भूमिका निर्वाहा गरेका थिए, जो एक एनआरआई हुन्छन् र आन्ध्र प्रदेशमा फर्किएर मुख्यमन्त्री बन्दछन् । फिल्मले भारतीय राजनीतिमा फैलिएको भष्ट्रचारलाई उजागर गरेको छ ।

यस फिल्मको सिक्वेल बनाउन काम सुरु गरिएको छ । स्क्रिप्ट तयार भएसँगै फिल्मको घोषणा गरेर फ्लोरमा जाने तयारी भइरहेको छ । यस्तै, ‘भरत अने नेनु’ को एक कमिक्स बुक पनि बजारमा ल्याउने योजना बनाइएको छ, जसको समेत काम सुरु भइसकेको छ । २० अप्रिलमा रिलिज भएको यो फिल्ममा महेश बाबू र कियारा आडवाणीको लिड रोल रहेको छ । फिल्मले मात्र दश दिनमा भारतीय बक्सअफिसबाट १३० करोडको कलेक्सन गरेको थियो र ओभरसीजबाट ३० करोडको व्यापार गरेको थियो । ‘भरत अने नेनु’ को हिन्दीसहित अरु भारतीय भाषाहरुमा पनि डब गर्ने योजना बनेको छ । निर्देशक कोर्टाला शिवले सिक्वेलमा फिल्मको कथा फरक हुने बताए । करीब ७५ करोडमा बनेको यस फिल्म युवा मुख्यमन्त्रीको कहानी हो, जो पिताको निधन पश्चात् उनको सिएमको कुर्सी सम्हाल्छन् ।