साम्राज्ञीको आडम्बर कि खुबी ?

ड्रिम्स फिल्मबाट नै स्टार बनेकी हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता अनमोल केसीलाई जुस दिइएको, आफूलाई नयाँ भनेर हेला गरिएको भन्दै कुरा काटिन् । स्टार बनिसकेपछि साम्राज्ञीको यो अभिव्यक्ति त्यती हजाम हुने खालको थिएन । अहिले साम्राज्ञीको नयाँ अभिव्यक्ति आउन थालेको छ । उनले, नयाँ कलाकारको बारेमा दिएको अभिव्यक्तिलाई याद गरौ न ।

साम्राज्ञी अभिनेता आर्यन सिग्देलसँग कायरा प्रमोट गरिरहेकी छिन् । फिल्मको प्रमोशनका क्रममा साम्राज्ञीले आर्यनसँग काम गर्दा धेरै सिक्न पाएको बताइरहेकी छिन् । आर्यन पुराना कलाकार भएकाले साम्राज्ञीले उनीबाट धेरै कुरा सिकेको बताइरहँदा नयाँ अभिनेताको भने खिल्ली उडाउँदैछिन् ।

साम्राज्ञीले काम गरेका फिल्मको संख्या र नयाँ अभिनेता जोडीको संख्या हेर्दा धेरै छैन । साम्राज्ञीले नयाँ अभिनेतासँग काम गर्दा उल्टै आफूले सिकाउनु परेको भन्दै आर्यनसँग काम गर्दा आकाश जमिनको फरक रहेको बताइरहेकी छिन् । साम्राज्ञीले काम गरेका नयाँ अभिनेताहरुमा ए मेरो हजुर २ का सलिनमान बनियाँ र इन्टु मिन्टु लण्डनमाका धिरज मगर मात्र हुन् । अरु फिल्ममा उनले आफू भन्दा सिनियर कलाकारसँग काम गरेकी थिइन् ।

सलिनमान र धिरजलाई आफूले सिकाएको र उनीहरुसँग काम गर्नु र आर्यनसँग काम गर्नुमा आकाश जमिनको फरक रहेको तर्क साम्राज्ञीको छ । साम्राज्ञीको यो तर्क आडम्बरले भरिएको हो या आफू सिनियर भैसकेको र धेरै कुरा सिकाउन सक्ने भएको तर्फ संकेत हो ? यस्तै कुरा गर्ने हो भने साम्राज्ञीसँग भोली नयाँ अभिनेताहरुले काम गर्न मानेनन् भने के होला ?