‘गोपी’ मा सुरक्षा पन्तसँगै बर्षा सिवाकोटी

छायांकनको तरखरमा रहेको फिल्म ‘गोपी’ मा नायिकाका रुपमा वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । फिल्ममा मुख्य अभिनेता खगेन्द्र लामिछानेले दुई अभिनेत्री बर्षा सिवाकोटी र सुरक्षा पन्त सँग ‘रोमान्स’ गर्नेछन् ।  ‘गोपी’को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । फिल्मको घोषणा हुँदा खगेन्द्र र सुरक्षामात्र अनुबन्धित भएका थिए । निर्देशक दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो । दुई नायिका भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने नरहेको उनी प्रष्ट्याउँछन् ।

खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन् । आफ्ना अघिल्ला नायिकाहरुसँग फेरि एकसाथ एउटै फिल्ममा काम गर्न पाउँदा खगेन्द्रलाई खुसी लागेको छ । ‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु,’ खगेन्द्रले भने ।

वर्षा र सुरक्षाले भर्खरै रिलिज भएको फिल्म ‘भैरे’मा सँगै काम गरेका थिए । ‘पशुपति प्रसाद’मा खगेन्द्र दाइसँग काम गरे पनि खासै स्क्रिन सेयर गर्न पाएकी थिइन, तर गोपीमा दर्शकले उहाँ र मेरो केमिस्ट्री अलि बढी नै हेर्न पाउनुहुनेछ,’ वर्षाले भनिन् । वर्षाको आगमनले फिल्ममा ग्ल्यामर थपिएको महसुस गर्छिन् सुरक्षा । ‘पछिल्लो समयका सुन्दर अभिनेत्रीमध्ये एक पर्छिन् वर्षा, उनी पनि ‘गोपी’मा जोडिएको खबरले म उत्साही छु,’ सुरक्षाले बताइन् ।

आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ । फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको कार्यकारी निर्माता श्रीधरले बताए । न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् । कल्याणको संगीत रहेको गीत शिव परियारले गाएका छन् भने अरु दुई गीतका गायकगायिका टुंगो लाग्न बाँकी छ ।