अनमोलका हिरोइनहरु, साम्राज्ञी देखी सुहानासम्म

छोटो समयमा दर्शकको मन मस्तिस्कमा बस्न सफल नायक हुन्, अनमोल केसी । उनलाई नचिन्ने फिल्म प्रेमी सायदै होलान् । उनको लोकप्रियता देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै छ । सुन्दर लुक्सका धनी अनमोलको क्रेज युवापुस्तामा बढि देखिन्छ । अझ भनौं, युवतीहरु त उनलाई देखेपछि हुरुकै हुने गर्छन् । हामीले देखेका छौ, अनमोललाई प्रत्यक्ष भेट्दा युवतीहरु रोएको, चिच्याएको अनी अत्तालिदै अंकमाल गर्न पुगेको । त्यसैले अनमोलको क्रेज बलियो छ ।

अनमोल अभिनित फिल्महरु सबै हिट छन् । उनका पाँच फिल्म प्रदर्शनमा आए । पाँचै फिल्म हिट भए ।  उनले पाँच फिल्ममा फरक-फरक नायिकासँग रोमान्स गरेका छन् । हाल अनमोल नयाँ फिल्म क्याप्टेनमा व्यस्त छन् । यस फिल्ममा पनि उनले नयाँ नायिकासँग रोमान्स गरिरहेका छन् भने यस पश्चात गर्ने नयाँ फिल्म ए मेरो हजुर ३ मा पनि उनले नव नायिका पउनेछन्।

आज हामी अनमोलका हिरोइनहरुको चर्चा गर्नेछौं:

प्रकृति श्रेष्ठ – होस्टेल

अनमोल केसीको डेब्यु फिल्म हो ‘होस्टेल’ । यस फिल्ममा अनमोलले डेब्यु नायिका प्रकृती श्रेष्ठसँग रोमान्स गरेका छन् । उनीहरुको जोडीलाई दर्शकले रुचाएका थिए । यस फिल्मबाट नायिका श्रेष्ठले नव-अभिनेत्रीको अवार्ड समेत चुम्न सफल भएकी थिइन् । ‘को होला त्यो’ बोलको म्युजिक भिडियोमा काम गरेर चर्चामा आएकी प्रकृतीले होस्टेलमा काम गर्नु पूर्व धेरै म्युजिक भिडियोमा काम गरिसकेकी थिइन् । होस्टेल पश्चात उनले उत्सब, जीन्दगी रक्स, आभाष जस्ता फिल्महरुमा पनि अभिनय गरिन् ।

सुदिप न्यौपानेसँग बिवाह गरेकी उनी हाल अस्ट्रेलियामा बसोबास गर्छिन् । बैवाहिक जीवन र परदेशको बसाईसँगै उनी फिल्म क्षेत्रबाट टाढा छिन् । पछिल्लो समय कुनै पनि फिल्ममा वा म्युजिक भिडीयोमा नदेखिएकी उनी आफ्नो वैवाहिक जीवनमानै रमाईरहेकी छिन् ।

आना शर्मा – जेरी

अनमोलले दोस्रो फिल्म ‘जेरी’मा नायिका आना शर्मासँग जोडी बाँधेर काम गरेका थिए । आनाले यसै फिल्मबाट डेब्यु गरेकी थिइन् । फिल्म हिट भइदियो । फिल्मसँगै उनीहरुको जोडी पनि उत्तिकै हिट भयो । उनीहरु रिलमा मात्र नभइ रियलमा पनि जोडी भएको हल्ला फिल्म नगरीमा राम्रै चलेको थियो ।

जेरी पश्चात आनाले लामो अन्तरालमा ‘ग्याङ्गस्टार ब्लुज’मा अभिनय गरिन् । मुख्य भूमिका निर्वाह गरेकी उनले यस फिल्मबाट खासै प्रशंसा पाउन सकिनन् । ‘ग्याङ्गस्टार ब्लुज’ले त्यति कमाल गर्न नसकेपछि उनी आफ्नो पढाईलाई कारण देखाउदै फिल्म क्षेत्रबाट टाढा छिन्।सोनम छिरिङ शेर्पाको प्रेममा रहेकी उनी अहिले फिल्मको कारण भन्दा पनि प्रेमका कारण मिडियाको गसिप बन्छिन् । उनले बेला बेला सामाजिक सञ्जालमा हालेका फोटोहरु हेरेर उनी प्रेममा मस्त रहेको बुझ्न सकिन्छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह – ड्रिम्स

फिल्म ड्रिम्समा अनमोलको अपोजिटमा नव-नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह थिइन् । हिट फिल्म ड्रिम्सको यो जोडीलाई फिल्म क्षेत्रको एक सुन्दर जोडीका रुपमा हेरिन्छ । फिल्ममा उनीहरुको केमेष्ट्रि एकदमै मिलेको देखिन्छ ।

फिल्म ड्रिम्सबाट नायिका शाहले धेरै प्रशंसा पाइन् । आफ्नो छुट्टै स्टारडम बनाइसकेकी उनी अहिलेकी चर्चित अभिनेत्रीमा कहलिन्छिन् । उनी अभिनित तिन फिल्म प्रदर्शनमा आइसकेका छन् भने दुई फिल्म प्रदर्शनको तयारीमा छन् । उनको ड्रिम्स पश्चात ए मेरो हजुर २, मंगलम, तिमी सँग प्रदशर्नमा आइसकेका छन् भने कायरा र इन्टु मिन्टु लण्डनमा फिल्म रिलिजको तयारीमा छन् । साम्राज्ञीलाई अहिलेको सबैभन्दा व्यस्त र महँगो नायिकाको रुपमा चिनिन्छ ।

सृष्टी श्रेष्ठ – गाजलु

मिस नेपाल सृष्टी श्रेष्ठसँग पनि अनमोलले स्कृन सेयर गरिसकेका छन् । उनीहरुले फिल्म गाजलुमा सँगै काम गरेका थिए । सृष्टीले यसै फिल्मबाट डेब्यु गरेकी थिइन् । सफल फिल्म गाजलुको यो जोडिलाई पनि दर्शकले रुचाएका थिए । सृष्टीले गाजलुपछि फिल्म ‘रोमियो एण्ड मुना’ मा काम गरेकी छन् । लामो समयको अन्तरालाम उनी यस फिल्मबाट पुन: दर्शकमाझ आउने तयारीमा छिन् । उनका दुई फिल्म बाँध मायाले र लाहुरेको पनि प्रोडक्सनको काम भइरहेको छ ।

अदिति बुढाथोकी – कृ

अनमोलको पछिल्लो प्रदशर्नमा आएको फिल्म हो, ‘कृ’ । यस फिल्ममा पनि अनमोलले नव नायिका अदिती बुढाथोकीसँग रोमान्स गरेका छन् । फिल्मले समिक्षात्मक रुपमा सफलता नपाए पनि व्यापारिक रुपमा सफल ठहरियो । कृमा अभिनय गर्नु पूर्व अदिती मोडलिङमा व्यस्त थिइन् । कृ पश्चात उनी कुनै फिल्ममा अनुबन्धित भएकी छैनन् ।

उपसना सिँह ठकुरी – क्याप्टेन

फिल्म क्याप्टेनमा अनमोलले नव-नायिका उपसना सिँह ठकुरीसँग रोमान्स गर्ने छन् । हाल छायाँकनरत फिल्मलाई भुवन केसीले निर्देशन गरिरहेका छन् । अनमोल र उपासनाको जोडीलाई दर्शकले कत्तिको रुचाउँलान् त्यो त फिल्मको पोष्टर, गीत, ट्रेलर वा फिल्म रिलिज भएपछि नै थाहा पाउने छौं ।

सुहाना थापा – ए मेरो हजुर ३

‘ए मेरो हजुर २’को सफलता पश्चात अहिले नायिका तथा निर्देशक झरना थापा ए मेरो हजुर ३ को निर्माणको तयारीमा छिन् । यस फिल्ममा अनमोल केसी मुख्य भुमिकामा देखिनेछन् भने उनको अपोजिटमा झरनाकी छोरी सुहाना थापा रहनेछिन् । मतलब यस फिल्ममा पनि अनमोलले नव नायिकासँग रोमान्स गर्नेछन् । छायाँकनको तयारीमा रहेको यस फिल्मको जोडीलाई लिएर फिल्म क्षेत्रमा निकै चर्चा चल्न थालेको छ। उनीहरुको जोडी सुहाउने धेरैको आकलन छ । तर, उनीहरुको जोडी कत्तिको सुहाउँछ त्यो हेर्न भने हामीले केही समय कुर्नै पर्ने हुन्छ ।