पैसाका कारण ‘रानी महल’ विवादमा, सुटिङ स्थगित

फिल्म ‘रानी महल’ भित्र किचलो देखिएको छ । फिल्म निर्माण घोषणा देखी नै विवादमा फसेको रानी महल छायाङ्कनको क्रममा समेत विवादित बनेको छ । फिल्मको सुटिङ समेत स्थगित भएको छ । पाल्पा स्थित रानिमहलमा सुटिङ सकेर लोकेशन सिफ्ट हुने क्रममा फिल्म भित्रको विवाद बाहिर आएको हो ।

मेरोफिल्मलाई प्राप्त जानकारी अनुसार फिल्मका निर्माता र प्रोडक्सन म्यानेजर बिच आर्थिक बिषयमा किचलो देखिएको हो । यस विषयमा फिल्मका निर्माता बेद प्रसाद भुसाल(बिमल) र प्रोडक्सन म्यानेजर गणेश सापकोटाको आ-आफ्नै तर्क देखिएको छ । उनीहरुले एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । फिल्म भित्र देखिएको मुख्य किचलो आर्थिक पाटो नै रहेको छ ।

फिल्म निर्माताले प्रोडक्सन म्यानेजर सापकोटालाई आर्थिक हिनामिनाको आरोप लगाइरहेका छन् भने सापकोटाले उक्त आरोपको खण्डन गरिरहेका छन् । यस बिषयमा फिल्म निर्माता निर्देशक र प्रोडक्सन म्यानेजर गणेश सापकोटासँग मेरोफिल्म डटकमले गरेको टेलिफोन सम्पर्कमा उनीहरुले भनेको कुरा जस्ताको तस्तै :

निर्माता बेद प्रसाद भुसाल(बिमल) :
सुरुमा प्रोडक्सन म्यानेजर गणेश सापकोटाले स्क्रिप्ट हेरिसकेपछी १ करोड ५० लाखको अनुमानित बजेट दिनुभएको थियो । तर, फिल्मको छायाङ्कन २० प्रतिसत सकिँदा मेरो २ करोड भन्दा बढी खर्च भैसकेको छ । म फरक व्यवसायको मान्छे भएपनि निर्देशक हिमाल न्यौपाने मेरो साथि भएको कारण फिल्ममा लगानि गरेको थिएँ ।

निर्देशकले नयाँ भिजन लिएर आउनु भयो र उक्त भिजन मार्फत नेपाली फिल्म जगतमा फरक आयाम ल्याउन सकिन्छ भन्ने बुझेर म यस क्षेत्रमा प्रवेश गरेको थिएँ । सुरुमा फिल्मको प्रोडक्सनको जिम्मा अन्यत्र नै दिएका थियौँ । पछी गणेश जी हामीसँग जोडिनु भयो । सम्पूर्ण योजना उहाँले नै बनाउनु भयो । बजेट बाँडफाँड देखि लोकेसन सम्मको काम उहाँले नै हेर्नु भयो । वरिष्ठ  कलाकारहरुलाई फिल्ममा समाहित गर्नु भयो ।

उहाँलाई कलाकारहरुले दिएको सम्मान र आदरका हिसाबमा मात्र मैले गणेश जीलाई जज गरेको रहेछु । आर्थिक कुरामा उहाँ यति अपारदर्शी हुनुहुँदो रहेछ की सरसरती ४०-५० लाखको हिसाबमा ५-७ लाख बिरुजु देखिएको छ । कम्पनिले पुरै हिसाब मागेको छ तर उहाँ सम्पर्कमा हुनुहुन्न ।

रानीमहलको सुटिङ सकेर आउँदा टेक्निसियनहरुले पैसा नपाएको थाहा पाएँ नरमाइलो अनुभव भयो । सापकोटा जीले भने अनुसार सबै पैसा दिएको थिएँ तर उहाँहरुसम्म किन पुगेन म आँफै अचम्ममा परेको छु । एक जना टेक्निसियनले मलाई भने ‘तपाँइले नदिएको भए अर्कै हुन्थ्यो तर तपाइँँले पैसा दिएको थाहा पाउँदा पाउँदै हामिले भने पैसा पाएका छैनौँ । उनले यो भन्दा नराम्रो लाग्यो’ । अनि गणेश जीलाई सम्पर्क गरेँ तर सम्पर्क भएन ।

निर्देशक हिमाल न्यौपाने :


म आफु कृयटिभ काममा लागेका कारण अन्य ब्यवस्थापकिय काम गणेश जि ले गर्नु भएको थियो । के थाहा उहाँले यसरी आर्थिक हिनामिना गर्नु हुन्छ भन्ने । उहाँ र म बिच तालमेल नमिलेकै हो । मैले काम गर्ने सैली उहाँले बुझ्नु भएन । कुरा त्यती मात्र होइन उहाँले गरेको हरेक खर्चको रिचेक गर्नु पर्ने रहेछ । अब सवक सिकेँ । आउने दिनहरुमा को सँग कसरी काम गर्ने भन्ने पाठ सिकेको छु ।

१२-१३ वर्ष भारतमा बसेर काम सिकेको र केहि वर्ष नेपाल मै बिभिन्न्न काम गरेको अनुभब त म सँग थियो तर नेपाली फिल्म क्षेत्रलाई र फिल्म क्षेत्रका व्यक्तिहरुलाई मैले बुझेको रहेनछु । जस्तो सुकै जे सुकै भएपनि फिल्म अगाडी बद्छ । नयाँ तरिकाबाट फिल्म छायाङ्कन फेरी सुरु हुन्छ । गणेश जी सँग सम्पर्क भएको छैन तर पनि हामी फिल्मलाई अगाडी बढाउँछौँ ।

अब ८० प्रतिसत फिल्म छायाङ्कन बाँकी छ र त्यो सबै इनडोर भएका कारण अबको २५-३० दिनमा फिल्म छायाङ्कन सकिन्छ । फिल्मका टेक्निसियनहरुको सवालमा केही मात्र हामीसँगै रहनु हुन्छ बाँकीलाई बिदाई गर्छौँ र नयाँ राख्छौँ ।

प्रोडक्सन म्यानेजर गणेश सापकोटा :

म माथी लागेका सम्पूर्ण आरोपहरु झुटा हुन । निर्माताहरुको पैसा सकिएको कारण म माथी आरोप थुपार्नु भएको हो । मैले फिल्म जोइन गर्नु अगाडी नै लगभग ९६ लाख सकिइसकेको थियो । त्यसपछि फिल्मका लागि खर्च भएको सम्पूर्ण रकमको हिसाब मैले उहाँहरुलाई बुझाएको छु । ३७ दिनको सुटिङ मैले ५६ लाखमा सक्काएको छु ।

फिल्मको मुख्य खर्च हुने मानिएको हेलिकप्टर चार्टर, क्राउड र क्लाइमेक्स सिनहरु त्यही खर्चमा सकिएको छ । अब उहाँ (निर्माता)ले कुन हिसाबमा हालसम्म २ करोड खर्च भयो भन्नु भयो त्यो उहाँलाई नै थाहा होला । अझ टेक्निसियनहरुलाई मैले आफ्नो चेक दिएको छु । बिश्वास नलागे फिल्मका टेक्निसियनहरुसँग सोध्न सक्नु हुन्छ ।

फिल्मका टेक्निसियनहरुलाई आफ्नो खल्तीबाट दिएको हिसाब उहाँहरु मार्फत मलाई प्राप्त भयो भने मात्र फिल्म अगाडी बढ्छ नत्र अगाडी बढ्न दिन्न । फिल्मका निर्माताहरुका कारण म सम्पर्क बिहिन भएर बस्न बाध्य भएको छु । फिल्म सुटिङको क्रममा टेक्निसियनहरुले हड्ताल गरेको र त्यसपछी भने म समयमा उपस्थित नभएको हो त्यो स्विकार गर्छु ।

निर्माता र प्रोडक्सन म्यानेजरका बिचमा देखिएको यो किचलोका कारण फिल्म रानी महल बन्ने या नबन्ने निस्चित हुन सकेको छैन । फिल्म निर्देशक निर्माताको पक्षमा देखिएका छन् । निर्माता र निर्देशकले फिल्म अगाडी बद्छ भनिरहँदा प्रोडक्सन म्यानेजर सापकोटाले भने फिल्म छायाङ्कन अगाडी बढ्न नदिने बताएका छन् । फिल्मका मुख्य व्यक्तिहरु बीचमा देखिएको यो फाटो र आरोप प्रत्यारोपले फिल्म अनिश्चित बनेको छ ।

यसै फिल्मबाट मिस नेपाल २०१७ निकिता चन्डक र प्रितमराज सेन्चुरीले डेब्यु गरेका छन् । फिल्ममा निकिता र प्रितमसँगइ विनोद सापकोटा, साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, बिएस राना, केशव भट्टराई, सुष्मिता बमजन, दिपक क्षेत्री, रश्मि भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, युनिता खत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

स्वस्तिक फिल्म्सको व्यानरमा निर्माण भैरहेको फिल्ममा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायाङ्कन, हिमाल केसीको द्वन्द, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।