सञ्जु : खराब मान्छेमाथि बनेको असल फिल्म (समीक्षा)

Mero Film

बायोपिक भनेर हेर्दा फिल्म धेरैलाई अपुरो लाग्छ तर आफैंमा यसलाई फिल्म मात्र सम्झेर हेर्ने हो भने चैं बलिउडमा यो साल रिलिज भएका उत्कृष्ट फिल्ममध्ये एक हो । निर्देशक, पटकथा र कलाकारको अभिनयले हिरानीले फेरि बलिउडमा हलचल ल्याउन सफल भएका छन् ।

सामाजिक विषयलाई मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने मामलामा राजकुमार हिरानी बलिउडमा नामुद निर्देशक मानिन्छन् । उनका अघिल्ला फिल्म मुन्नाभाइ एमबिबिएस, लगे रहो मुन्ना भाई,थ्रि इडियटस्, पिके सबैमा कुन न कुनै सामाजिक बिसंगतिलाई फिल्मको विषय बनाएका थिए । उनका फिल्ममा देखिने थप अर्को विशेषता हो उनका फिल्ममा बाबु छोरा र साथीबीचको सम्बन्धले विशेष स्थान पाउँछन् ।

हिरानी यो पटक बायोपिक लिएर निस्किएका छन् तर यहाँ पनि उनले सम्बन्धको सिग्नेचर छाडेका छैनन् । बलिउडका विवादित सुपरस्टार सञ्जय दत्तको जीवनी भन्न हिडेका हिरानीले यसलाई पनि बाबु छोराको सम्बन्धको कथामा रुपान्तरण गरिदिएका छन् । हिरानीको पछिल्लो फिल्म ‘सञ्जु’ सञ्जय दत्तको जीवनी कम बाबु छोराको सम्बन्धको कथा ज्यादा लाग्छ । अब सुनिल दत्त र सञ्जय दत्तको सम्बन्ध फिल्ममा देखाए झैं थियो कि थिएन, यो त कि स्वयं सञ्जय दत्त जान्दछन् कि हिरानी । तर फिल्म हेर्दा चैं यही लाग्छ ।

फिल्ममा बाबु छोरासँगै दोस्रो कथा छ, सञ्जय दत्तको हतियार सम्बन्धी । अवैधानिक हतियार राखेको अभियोगमा ५ वर्ष जेल बिताएका सञ्जय दत्त कसरी यसको चक्करमा परे, फिल्मको सबप्लट दर्शकलाई यही सत्य बताउनमा केन्द्रित छ ।

फिल्मको सुरुवात हुन्छ सञ्जय दत्तको बायोग्राफी लेखाउने चाहानाबाट । अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि सञ्जय दत्तसँग १ महिनाको समय छ । अदालतले फिल्मको काम सक्नका लागि दिएको १ महिना । यही समयमा दत्त आफ्नो कथा दुनियाँलाई सुनाउन चाहान्छन् । उनको यही चाहानालाई मध्य नजर गर्दै एक लेखकले दत्तको बायोग्राफी पनि लेखेका छन् तर समस्या के भइदिन्छ भने उनले दत्तलाई महात्मा गान्धीसँग तुलना गरिदिन्छन् । दत्तलाई बायोग्राफी चित्त बुझ्दैन । उनले छापिएका सबै किताब जलाउँछन् । हिरानीले पहिलो दृश्यबाटै दत्त सनकी र जिद्धी भए पनि इमान्दार भएको स्थापित गरिदिएका छन् ।

दत्तको बायोग्राफी लेखाउने चाहानासँगै कथामा प्रवेश हुन्छ, विनी (अनुष्का शर्मा)को लण्डन बसेर किताब लेख्ने गर्छिन् । पहिला त विनी दत्तको बायोग्राफी लेख्न तयार हुन्न तर दत्तको कथा सुनेपछि विनीले बायोग्राफी लेख्ने निर्णय गर्छे । फिल्मको पहिलो हाफ दत्तले विनीलाई सुनाएको कथामा आधारित छ । यो भागमा निर्देशकले ड्रग्सको दुनियाँमा दत्तको प्रवेश, यसबाट छुट्न गरेको प्रयास र यही आदतका कारण गुमेका सम्बन्धलाई रोलर कोस्टर बनाएर प्रस्तुत गरेका छन् । पहिलो भाग समेट्ने यी कथामा हिरानीले आफ्नो सारा कौसल प्रयोग गरेका छन् । हाँस्दाहास्दै रुवाउँछन्, रुवाउँदा रुवाउँदै हसाउँछन् ।

फिल्मको दोस्रो भाग दत्तको हतियार काण्डमा केन्द्रित छ । अनुमतिबिना हतियार राखेको अभियोगमा दत्तले सन् २०१३ मा भारतको उच्च उदालतबाट ५ वर्षको जेल सजाए पाएका थिए जुन उनले २०१६ मा सकाएका हुन् । तर दत्तको अपराध अवैधानिक हतियार राखेको मात्र भए पनि सन् १९९३ मा मुम्बई २ सय ५० जनाको ज्यान जाने गरी भएको बम ब्लास्टमा पनि उनको हात रहेको मिडियाको आरोप छ । फिल्मको दोस्रो भागले दत्तको जेल जीवन र उनलाई छुटाउन बाबु सुनिल दत्तले गरेको संघर्षलाई बुनेको छ । पहिलो भाग झैं दोस्रो भाग दर्शकका लागि उत्ति रोमाञ्चक छैन, तर त्यसका बावजुद पनि हिरानीले कथालाई बोरिंग तरिकाले वाचन गरेका छैनन् । दोस्रो भागमा पनि केही यस्ता ठाउँ त आइहाल्छन् जहाँ तपाईं आँखाको डिलसम्म आउने आँशु रोक्न सक्नुहुन्न । पहिलो भागमा त यस्ता ठाउँ धेरै नै छन् ।

बायोपिकमा फिल्म बनाउनु फिल्ममेकरका लागि जहिलै अपजसको काम हो । लामो जीवनकथालाई दुई घन्टा छेऊछाउमा समेट्नु जस्तो सुकै फिल्ममेकरको पनि अग्निपरिक्षा हो । अझ सञ्जय दत्त जस्तो लथालिंग जीवन बिताएको मान्छेको त के राख्ने र के छाड्ने दुविधा हुन्छ । हिरानीले पनि उनको बायोपिक बनाउँदा धेरै कुरा छुटाएका छन् । तर जति राखेका छन् तिनलाई न्याय गरेका छन् । ड्रग्स, स्टारडम, केटी, जेल सञ्जय दत्तको जीवनसँग जोडिएका पाटा हुन् तर निर्देशकले ड्रग्स र जेल जीवन छाडेर बाँकी सबै कुरा फिल्मबाट हटाइदिएका छन् । योसँगै धेरैले हिरानीलाई आरोप पनि लगाएका छन् कि सञ्जय दत्त साथी भएका कारण उनले दत्तलाई चोख्याउने गरी फिल्म बनाएका छन् । यो आरोपमा आंशिक सत्यता छ ।

पूरा फिल्म हेरिसक्दा लाग्छ हिरानीले यो फिल्म सञ्जयलाई आतंकवादी थिएनन् भनेर प्रमाणित गर्न बनाएका हुन् । फिल्मले भन्छ, दत्तलाई आतंकवादीे मिडियाले बनाएका हुन् । बायोपिक भनेर हेर्दा फिल्म धेरैलाई अपुरो लाग्छ तर आफैंमा यसलाई फिल्म मात्र सम्झेर हेर्ने हो भने चैं बलिउडमा यो साल रिलिज भएका उत्कृष्ट फिल्ममध्ये एक हो । निर्देशक, पटकथा र कलाकारको अभिनयले हिरानीले फेरि बलिउडमा हलचल ल्याउन सफल भएका छन् ।

सञ्जुको सबैभन्दा उल्लेखनीय पाटो कलाकारको अभिनय हो । सानोदेखि मुख्य भूमिकामा अभिनय गर्ने हरेक कलाकारको जीवन्त अभिनयले फिल्म उत्कृष्ट बनाउन मद्धत गरेको छ । तर पनि सञ्जय दत्तको रुपमा अभिनय गरेका रनवीर कपुर फिल्मका ज्यान हुन् । सञ्जय दत्तको रुपमा रनवीरको टान्सफर्मेसनले धेरैलाई चकित बनाउँछ । यो फिल्मसँगै रनवीरले अभिनयमा आफ्नो गुमेको लय पाएका छन् । रनवीरले फेरि एक पटक आफू बलिउडका सबैभन्दा कुशल अभिनेता भएको प्रमाणित गरेका छन् ।

फिल्ममा रनवीरपछि अभिनयले कायल पार्नेमा विक्की कौसलको पनि नाम आउँछ । रनवीरको साथी कमलीको रुपमा अभिनय गरेका उनले पनि फिल्ममा गज्जबको अभिनय गरेका छन् । फिल्ममा रनवीरपछि सुनिल दत्त बनेका परेश रावलको भूमिका बलियो छ । तर उनले तुलनात्मक रुपमा बाँकी कलाकारभन्दा कमजोर अभिनय गरेका छन् । सानो भूमिकामा देखिए पनि मनीषा कोइराला र अनुष्का शर्माले छाप छोडछन् ।

ऋभिजात जोशीसँग मिलेर हिरानीले लेखेको पटकथा फिल्मको सशक्त पाटो हो । आफ्नो हरेक फिल्ममा दर्शकका लागि जीवन जिउने सूत्र देखाउने हिरानीले यो पाली हिरानीले गीतलाई यसको माध्यम बनाएका छन् । बायोपिक भए पनि फिल्म कुनै सामाजिक विषयमा बनेको फेमिली ड्रामा झैं छ, यसका लागि हिरानीको जति तारिफ गरे पनि कम हुन्छ । धेरैले आरोप लगाए झैं उनले दत्तको जीवनीका राम्रा कुरा मात्र देखाएका छैनन्, उनको चरित्रका ब्ल्याक स्पटलाई दर्शकसामु पस्किएका छन् ।

फिल्मको एक दृश्यमा सुनिल दत्त बनेको परेश रावल एक पत्रिकाका सम्पादकलाई भन्छन्, ‘ सञ्जु कुनै बितेको समय हैन, जो फर्केर आउन सक्दैन ।’ यो स्टेटमेन्ट स्वयं सञ्जय दत्तको जीवनमा त लागू भएको छ नै, उनको भूमिका निभाउने रनवीर कपुरको जीवनमा पनि लागु हुन्छ । एकसेएक फिल्म फ्लप भएका कारण करिअरको उत्तराद्र्धमा रहेको टिप्पणी हुन थालेका रनवीर पनि सञ्जुसँगै लयमा फर्किएका छन् । सञ्जु खराब मान्छेमाथि बनेको असल फिल्म हो ।


Leave a Reply

Your email address will not be published.