पत्रकार आउँदैनन् भनेर मल्टिस्टार भनिएको हो ?

कार्यक्रमको प्रकृति, कलाकारको फेस भ्यालु हेरेर मात्र पत्रकारहरु कार्यक्रममा पुग्न थालेपछि फिल्म बनाउनेहरुले अहिले उपाय रच्न थालेका छन् । अर्थ न बर्थको कार्यक्रम, लामो समयसम्मको भाषण, सामान्य समाचार पनि नबन्ने अवस्थाले गर्दा पनि होला, पत्रकारहरु कार्यक्रमको सबै कुरा वुझेर मात्र पुग्छन् ।

छेस्को जस्तो फिल्म बनाएका निर्माता करण क्रेजीले घोषणा गरेको ल्याङ ल्याङ सिनेमाको कार्यक्रम पनि यस्तै समस्याबाट आक्रान्त बनेको थियो । करणले आफ्नो सिनेमामा मल्टिस्टार कलाकार रहेको भन्दै पत्रकारलाई एसएमएस गरेका थिए । मल्टिस्टार कलाकार भन्नुको अर्थ, धेरै कलाकार हुनु होइन । दर्शकले पत्याएका, नाम चलेका, हिट सिनेमा दिएकालाई मल्टिस्टार भन्ने गरिएको छ ।

करणले मल्टिस्टार भन्दा पत्रकारले पनि यस्तै सोच्छन् भनेर त्यसै अनुसार बोलाएका थिए । पत्रकारको जमघट पनि बाक्लो भएको थियो । तर, करणले निर्देशन गर्ने तयारी गरेको फिल्ममा, सिनेमा वृत्तमा नाम चलेका कलाकार छैनन् । दमन रुपाखेती, देविराम पराजुली सिरियलमा हिट, सिनेमामा नचलेका कलाकार हुन् । वुद्धि तामाङ जुन सिनेमामा पनि हुन्छन् ।

कार्यक्रम पनि व्यवस्थित थिएन । बहराइन,  अष्ट्रेलियामा सिनेमा खिच्ने करणले बताएका छन् । उनले, सिनेमा बनाउलान कि नबनाउलान भन्ने टुंगो छैन । तर, मल्टिस्टारर भनेर उनले  पत्रकारलाई भने राम्रैसँग झुक्काएका छन् ।