‘आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५’ निर्णायक चरण सम्पन्न

फोटो पत्रकार क्लव नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७५ को निर्णायक चरण सम्पन्न भएको छ । प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ५ हजार ५ सय ८० फोटो प्राप्त भएकोमा दुई चरण गरि सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६० फोटो छानिएका छन् । विजेताको औपचारिक घोषणा आगामी विहीबार दिउँसो २ बजे कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा गरिनेछ ।

वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, बरिष्ठ फोटोग्राफर मणी लामा, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निर्बतमान अध्यक्ष प्रकास माथेमा रहेका छन् ।

निर्णायक चरणबाट छानिएका करिब १ सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैया पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ ।

प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ । यस प्रतियोगितालाई आईएमएस, अर्घाखाची सिमेन्ट, शिखर इन्स्योरेन्स, डिसहोम र नेप्टोसले विधागत प्रायोजक गरेका छन् भने साहस स्पोर्टस , विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, सिटी एक्सप्रेस, सियाट टायर, एडभेन्चर स्पोर्टस,  भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भुमिका निर्वाह गरेकाछन् ।