जाउँ जाउँ स्वस्तिमा ! (फोटो फिचर)

मैतिदेवीको सेतोपुलबाट बिजुलीबजारको पुलसम्म टेम्पो चल्दैनन् । तर केही समययता त्यहाँ हरेक दिन बिहान आठबजेदेखि ११ बजेसम्म टेम्पो कुद्ने गर्छ । टेम्पो देखेर यात्रुहरु जब चढ्न भनेर नजिक जान्छन् ड्राइभर देखेर छक्क पर्छन् । किनकि ड्राइभिङ सिटमा उनीहरुले देख्छन् ‘कुटुमा कुटु’ गर्ल स्वस्तिमा खड्का ।

केही दिनअघि घोषणा भएको फिल्म ‘बुलबुल’मा स्वस्तिमाले टेम्पोचालकको भूमिका निर्वाह गर्न लागेको खबर थियो । नभन्दै सोही भूमिकाको तयारीका लागि स्वस्तिमा सेतोपुलबाट बिजुलीबजारसम्म हरेक दिन टेम्पो चलाउने अभ्यास गरिरहेकी छन् । बिहीबार मेरो फिल्म स्पटमा पुग्दा फिल्मका निर्देशक विनोद पौडेलसँगै को आर्टिस्टलाई पनि टेम्पो चढाएर दूरी नापिरहेकी थिइन् ।

स्वस्तिमाले दुई महिनादेखि टेम्पो चलाउने अभ्यास गरिरहेको बताइन् । ‘ दुई महिना भयो सिक्न थालेको । बीचमा दुई चार दिन छाडें होला । नत्र नियमित गरिरहेकी छु’ उनले हाँस्दै भनिन् ,‘ सिकाउने दिदीभन्दा पनि पर्फेक्ट भइसकें । अब त एक्टिङसँगै टेम्पोमा पनि पार्टटाइम गर्न पर्ला!’

टेम्पोमा निर्देशक पौडेलले सानो तिनो वर्कसप नै गराइरहेका छन् । स्वस्तिमाले टेम्पो चलाइरहँदा छेऊमा बसेका मुकुन भुषाल स्वस्तिमासँग स्क्रिृप्टका संवाद बोलिरहेका थिए । निर्देशक पौडलले टेम्पो चलाउँदा चलाउँदै बोल्नुपर्ने संवाद भएकाले यसैको अभ्यास भइरहेको बताए । ‘ भोलि एकैचोटि सुटिङमा लिनभन्दा अहिलेदेखि अभ्यास गराइरहेको हो । अभ्यास भयो भने स्वाभाविता आउँछ नी ’ उनले भने ।

विनोद लक्ष्मी वर्देवाले टेम्पो चलाइरहँदा झ्याप्प रोकेर केरा किनेर खाने दृश्यको अभ्यास गर्न खोजिरहेका थिए । तर तीनचार चक्कर लगाउँदा पनि केरा कहीं भेटिएन । लक्ष्मी बर्देवाले स्वस्तिमाको साथीको भूमिका निर्वाह गरेकी छन् । ‘हरि’ मा गाडी सिकेर माइक्रो चलाएका कारण बर्देवाले भने ५ दिनमै प्रोफेसनल जस्तो टेम्पो कुदाइरहेकी थिइन् ।

साउनको दोस्रो हप्ताबाट सुटिङमा जाने तयारीमा रहेको फिल्मको दिउँसो पनि अस्कर कलेजमा वर्कसप भइरहेको छ । विनोद पौडेलकै लेखन रहेको फिल्मलाई अविरल थापा, भिम थापा, पुरुषोत्तम पाण्डे र राजु पौडेल मिलेर बनाउन लागेका हुन् । फिल्ममा बुद्धि तामाङ, जोयस पाण्डे, उज्ज्वल अधिकारी आदि कलाकारको पनि अभिनय रहेको छ ।

हेरौं स्वस्तिमाले टेम्पो चलाएको झलक :