को हुन फिल्म क्षेत्रका ‘मुर्गा’ ?

दिपेन्द्र घिमिरे – नेपाली फिल्मको इतिहास त्यति लामो छैन । ‘आमा’बाट सुरु भएको नेपाली फिल्म क्षेत्रले धेरै सन्तानहरुलाई जन्म दियो । कति बाच्न सफल भए त कतिले अल्पायु मै मृत्युवरण गरे । मृत्युवरण यसअर्थमा की उनीहरु नेपाली फिल्म क्षेत्र छोडेर अन्यत्रै मोडीए । फिल्म क्षेत्र व्यक्ति विशेष हुदैन । जसरी थोपा थोपा मिलेर समुन्द्र बन्छ त्यसरी नै समुह मिलेर सबैले कल्पना गरेको फिल्म क्षेत्र एक उद्योग बन्न सक्छ । त्यही उद्योग बनाउने कल्पना सहित नेपाली फिल्म छेत्रले आफ्नो पाइला निरन्तर अगाडी बढाउँदै आएको छ ।

कछुवा चालमा अगाडी बढ्दै गरेको नेपाली फिल्म क्षेत्रले गति अझै लिन सकेको छैन । फिल्म क्षेत्रमा होमिने र बाहिरिनेको भिड उस्तै उस्तै छ । अझ तुलनात्मक रुपमा भन्ने हो भने बाहिरिनेको भिड बाक्लो छ । दर्शकका लागी एउटा पूर्ण फिल्म प्रस्तुत गर्नका लागी कलाकार, प्राविधिक, निर्माता, निर्देशक देखि लिएर फिल्ममा आबद्ध हरेक व्यक्तिको उत्तिकै भूमिका रहन्छ । र त्यो भूमिका इमान्दारीपूर्वक निभाउनु ती व्यक्तिहरुको दायित्व पनि हो ।

पछिल्लो समय नेपाली फिल्मको स्तर बढेको छ भन्न थालिएको छ । नयाँ कलाकार देखि नया टेक्नोलोजीको आगमन भएको छ । यसै भिडमा अर्को एउटा बिकृतिको पनि आगमन भएको छ ‘मुर्गा’ बनाउने र फसाउने प्रचलन ।

को हुन् मुर्गा ?
सबैले बुझेको र भोग्दै आएको एउटै ब्याख्या छ । जसलाई फिल्म क्षेत्र यो, उ, यस्तो, त्यस्तो भनेर अनेकन प्रलोभनमा पारेर लगानी गर्न उक्साईन्छ  ।  तर लगानीको प्रतिफल लिने बेलामा ‘हात लाग्यो शुन्य’। पछील्लो समय फिल्म क्षेत्रमा एक झुण्ड नै छ, जो उनीहरुले भन्ने गरेको यस्तै निर्माता ‘मुर्गा’ फसाउन लागी परेका छन् ।

उनीहरुले एकाध कामका लागी मुर्गा त भेटेका छन् तर, कालान्तरमा यसले फिल्म क्षेत्रको उँधोगति ननिम्त्याउला भन्न सकिन्न । फिल्म निर्माण अघि एक हिसाबका कुरा निर्माणको क्रममा अर्को कुरा, प्रदर्शनताका अर्को थरि कुरा । त्यसले उनीहरुका मुर्गा तर्सिएका मात्र छैनन्, बिचमै छोडेर भाग्ने पनि गरेका छन् । पछिल्लो समय यस्तै घटनाहरु नेपाली फिल्मी वृत्तमा देख्न अनि सुन्न पाइन्छ ।

सिधा भन्दा पछिल्लो समय चर्चामा रहेको यो शब्द ‘मुर्गा’ फिल्म निर्माताका लागी सम्बोधित हुदै आएको छ । ती निर्माताहरु जो फिल्म क्षेत्रबारे अनविज्ञ छन् । तर यस क्षेत्रमा पछिल्लो समय देखिएको बिकास देखेर लगानी गर्न उत्सुक उनीहरु नै ती विकृत मानसिकता भएका झुण्डहरुको सिकार बन्ने गरेका छन् । यसले वर्तमानमा फिल्म क्षेत्रमा लगानी त देखिएको छ तर भबिष्य अन्धकार तर्फ धकेलिदै पनि छ । ‘तातै खाउ जल्दै मरौ’ को भावले क्षणिक लाभ त प्राप्त भएको छ होला तर कालान्तरमा यसको नकारात्मक असर देखिने पक्का छ ।

फसाउने र कमाउने लोभमा लागेकाहरुको समूह फिल्म क्षेत्रमा सकृय छ । तर देख्नेहरु मुखदर्शक बनेर बसिरहेका छन् । उनीहरुको खिलाफमा बोल्ने साहस कसैको छैन र बोल्ने अवस्था पनि छैन । लाभ फसाउनेले मात्र लिएका छैनन्, जो बोल्नु पर्ने उनीहरुको पनि मुख थुनिएको छ । कारण काम चाहिएको छ जुन उनीहरुले प्राप्त गरिरहेका छन् ।

अर्को तर्फ मुर्गा बनाइएका र भनिएकाहरुले पनि मुख खोल्न सकेका छैनन् ।उनीहरु जस्तै मुर्गा बन्न तम्सिएकाहरुलाई सचेत गराउन सकेका छैनन् । कारण ‘म त फसे अरुलाई किन बचाउने ? उनीहरुले नि चेतुन् न’ भन्ने भाव नै हो ।

यसरी ‘मुर्गा’ बन्नेहरुमा मुख्यत: ब्यापारीहरु, एनआरएन लगायत पर्ने गरेका छन । कुनै फरक पृष्टभूमिबाट कमाएको पैसा आफ्नै देशको कुनै एक क्षेत्रमा लागानी गरेर प्रतिफल लिउँला भन्ने मनासाय बोकेकाहरु बिशेषत नेपाली फिल्म क्षेत्रका ‘मुर्गा’ बन्ने गरेका छन् ।