‘कायरा’ आर्यन र साम्राज्ञीलाई सञ्जिवनी कि नुन चुक ?

एक जमाना थियो जब आर्यन सिग्देल फिल्ममा देखिन्थे त्यो फिल्म स्वतः हिट लिस्टमा पथ्र्याे । उनको चकलेटी अनुहारले सबैको मन जितेको थियो । उनको अभिनयको पनि निकै तारिफ हुन्थ्यो । तत्कालीन समयमा उनीसँग डेट लिनका लागि निर्माता निर्देशक महिनौँ कुरेर बस्थे । तर उकासिदै गएको उनको फिल्मी करियरमा छोटो समयमा नै ब्रेक लाग्यो । फिल्म चल्न छोडे । आर्यनको चकलेटी अनुहारले जादु गर्न छोड्यो । अरु फिल्मले करिअर बिगारेको महसुस गरेर आफैं निर्माणमा होमिए । आफैँले फिल्म निर्माण गर्दै आफैँ अभिनय गर्न थाले । उनले आफ्नो ब्यानर बाहेक अन्यत्र फिल्म खेल्न लगभग छोडे ।

यसैबीच उनले अभिनय गरेका फिल्म ‘क्लासिक’,‘होमवर्क’, ‘रुद्रप्रिया’ लगायतले पनि सफलताको स्वाद चाख्न पाएनन् । र, फेरि मुलधारमा आउने प्रयास स्वरुप उनले आफ्नै लगानीमा फिल्म ‘कायरा’ निर्माण गरेका छन् । यस फिल्ममा उनले को-स्टारको रुपमा पछिल्लो समय नेपाली फिल्म क्षेत्रकी महँगी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँग स्क्रिन सेयर गरेका छन् । साम्राज्ञीलाई लेडि स्टार त भनिन्छ, तर उनी अभिनित पछिल्लो फिल्म ‘तिमी सँग’ले उनको स्टारडम प्रुभ गरेन । फिल्म फ्लप भयो । लगातारको फ्लप ट्याग पाएका आर्यन र पछिल्लो समय एक असफल फिल्ममा अभिनय गरेकी साम्राज्ञी दुवैका लागी फिल्म ‘कायरा’को प्रदर्शनले अर्थ राख्दछ । आफ्नो साख र क्रेज बचाउन पनि उनहरुलाई फिल्म हिट हुनैपर्ने बाध्यता छ ।

फिल्म सफल भएको खण्डमा दुवैलाई फाइदै होला तर फिल्म हेर्न दर्शक हलसम्म गएनन् भने ‘कायरा’ पछि साम्राज्ञी अभिनित अर्को फिल्म ‘इन्टु मिन्टु लण्डनमा’लाई समेत असर गर्नेछ । फिल्म प्रदर्शनको मिति नजिकिदै गर्दासमेत प्रचार प्रसारको कुनै सुरसार नदेखिएको ‘कायरा’ टिमको फिल्म प्रदर्शन रणनीतिले साम्राज्ञीको अर्को प्रोजेक्टको भविष्य पनि केहि हदसम्म निर्धारण गर्नेछ । साउन १८ मा आउन लागेको फिल्मले दुवैलाई सञ्जिवनीको काम गर्ला कि नुन चुक लाउला ? धेरैलाई चासो छ ।