‘एनसिएमटीए फेशन शो २०१८’ आयोजना हुदै

काठमाडौंमा ‘एनसिएमटीए फेशन शो २०१८’ हुनेभएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघसँग सम्बन्धित सिलाई व्यवसायीहरुको डिजाइन प्रबर्धनका लागी फेशन शो  हुने भएको हो । मोडलहरु पाँच सिक्वेन्स नेपाली कल्चर, विवाह, अफिसियल वेयर, पार्टिज वेयर र नेपाली ढाकामा देखिने छन् ।

संघको आयोजना तथा राग रागिनी इन्टरटेन्मेन्टको सहकार्यमा हुन लागेको फेशन शोको इभेन्ट म्यानेज्मेन्टको काम रशलाइट मिडियाले गर्दैछ । रशलाइटको तर्फबाट रमिता भण्डारीले कोरियोग्राफी गर्ने कार्यक्रममा १६ जना मोडलहरु र्याम्पमा उत्रिने छन् । इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा हुने कार्यक्रममा र्याम्प सँगै गायिका मिना निरौला तथा गायक कपिल कस्पाल श्रेष्ठको गायन प्रस्तुती रहनेछ भने बज्र डान्स मण्डलाले परम्परागत चारिया नृत्य र सरस्वति एण्ड ग्रुपको तर्फबाट वेस्टर्न नृत्य प्रस्तुत हुनेछ ।

आयोजक संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुने कसुर बाँकी नराख्ने भन्दै इभेन्टले नेपाली भेषभुषा प्रवर्धनको लागी कोशेढुङ्गा साबित हुने विश्वास पोखे । देशभर छरिएर रहेका कपडा तथा सिलाइ व्यवसायीहरुको तर्फबाट प्रायः कार्यक्रममा ड्रेसहरु तयार हुँदै आएकोमा आफ्नै तर्फबाट पहिलो पटक हुन लागेको कार्यक्रम थप स्तरिय र प्रभावकारी बनाउन यतिबेला दिलोज्यान दिएर लागिरहेको कार्यक्रम संयोजक सदिश श्रेष्ठले बताए ।