आफू जोगिन अनुप र शिल्पाको यस्तो दाउ

कलाकारहरु कुनै फिल्म राम्रो बनेको छ कि छैन थाहा पाउँछन् । राम्रो बनेको रहेछ भने प्रमोशनमा पनि राम्रैसँग दौडन्छन् । फिल्म चल्दैन कि जस्तो लाग्यो भने त्यसबाट निस्कने अनेक बहाना खोज्छन् ।  तर,  फिल्म चलिनसक्दा नै कस्तो होला भनेर भनिहाल्न हामीले भने सक्दैनौ ।

असार २९ गते रिलिज हुने विराङ्गना फिल्मलाई यो फिल्मका अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलको भनाइले ब्याक फायर हुनसक्छ ।  अनुपले, निर्मातासँग पैसा नभएकाले ७० प्रतिशत दृश्य मात्र खिचेर हलमा रिलिज गर्न लागेको बताएका छन् । अनुपको यो कुराले फिल्मलाई घाटा हुन पनि सक्छ । अनुप, आफूले फिल्मको प्रमोशन नगर्नुको एउटा कारण यो पनि भएको बताएका छन् ।

अनुपले यति भनेपछि उनलाई पनि आनन्द । यसो भन्यो अरु फिल्मको काम गर्यो । शिल्पाले पनि एउटा महत्वपूर्ण दृश्य नखिची हलमा सिनेमा रिलिज हुन लागेको बताएकी छन् ।  शिल्पा नै यो फिल्मको सर्वेसर्वा हुन् । उनकै लागि निर्माताको करोड बजेट खन्याइएको छ । तर, उनी अहिलेदेखि नै यस्तो कुरा गर्छिन् ।

शिल्पा र अनुपले फिल्मको राम्रो भन्दा पनि यसो भएन र उसो भएन भन्दै हिडेका छन् । यसो भन्दा फिल्म कमजोर त हुन्छ । तर, भोली यदि फिल्म चलिहालेन भने यो कारणले चलेन, मेरो कमजोरी होइन भन्दै बच्ने दाउ शिल्पा र अनुपले चलेका त होइनन् ।  फिल्म चलेन भने त यो कारण काम लाग्ला, यदि फिल्म राम्रो चलिदियो भने यसकै नाम लिएर आफ्नो पारिश्रमिक बढाउने कि नबढाउने नी ?