अशोकका कारण टंक हिट कि टंकका कारण अशोक ?

दिपेन्द्र घिमिरे – पछिल्लो समय नेपालमा कुनै कुरा चर्चामा छ भने त्यो ‘अशोक दर्जी’ नै हो । अशोकले यो गर्यो अशोकले उ गर्यो । नेपाली मिडिया त्यसमा पनि यूट्युबरहरुका लागि उनि गतिलो खुराक बन्ने गरेका छन् ।

अशोकका हरेक कुरा ट्रेन्डिङमा  पर्छन । यती सम्म कि अशोकले स्विम्मिङ गरे अशोकले यो खाए, अशोक यहाँ गए, अशोकले यसलाई यो भने, अशोकको नाम जोडीएको भिडियो बारबार हिट भइरहेको छ । तर त्यो ‘हिट’को सिलसिला कहिले सम्म भन्ने न अशोकलाई थाहा छ न उसलाई फलो गर्ने दर्शकलाई ।

को हुन् अशोक दर्जी ?

झापा दमकमा निम्न वर्गको परिवारमा जन्मिएका थिए अशोक दर्जी । सानो उमेर देखि नै गायनमा रुची राख्ने उनि बाटो, होटल लगायतका स्थानमा दिनभर गीत गाउँथे ।

पढ्ने रुची भएपनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनि अरु बालबालिका स्कुल जाने बेला सडक र विभिन्न होटलमा आएका ग्राहकहरुको अगाडी गीत गाउन पुग्थे । त्यसैबाट उनले केहि अर्थोपार्जन गरेर परिवारको सामान्य आवस्यकता पुरा गरिरहेका थिए ।

कसरी आए उनी मिडियामा ?

करिब दुई वर्षभन्दा अगाडी सडकमा गीत गाइरहेको अवस्थामा झापा दमकका रुपक सापकोटाले उनको भिडियो खिचे र सामाजिक संजालमा राखे । उनको स्वरबाट प्रभावित भएका सापकोटाले बाटोमा गाउँदै हिंडेको देखेपछि सहयोग गरेर उसलाई अगाडी बढाउने इच्छा जाग्यो ।

तर, अशोक उनले सोचेको जस्तो थिएनन् । उनी स्कुल जान नमान्ने, आफ्नै सुरले हिंड्ने, परिवारको कुरा नसुन्ने खालका थिए । आफ्नै मनका मालिक उनलाई केहि महिना अगाडी मात्र काठमाडौं सम्म ल्याउन रुपक सफल भए । उसको गीत रेकर्ड गराउन भन्दै काठमाडौँ आएका सापकोटा र दर्जीको भेट संगीतकार गायक टंक बुढाथोकीसँग भयो । र उनले अशोकको लागि गीत निर्माण गर्ने घोषणा पनि गरे ।

काठमाडौँ आउनु अगाडी नै अशोक सामाजिक संजालमा लगभग भाइरल भइसकेका थिए । उनको चर्चा चुलिइसकेको थियो । अशोकको त्यो चर्चालाई काठमाडौँबाट संचालित विभिन्न मिडियाले अझै बुस्ट गर्यो । हरेक व्यक्तिको आकर्षण बन्दै गएका दर्जीको त्यो चर्चालाई उचाल्ने काम टंकले पनि गरे ।

स्टुडियो आएको, किबोर्ड बजाएको, सावर लिएको देखि उसका हरेक गतिबिधिलाई टंकले चर्चा बटुल्ने माध्यम बनाउन थाले । त्यसै बेला उनले अशोकका लागि भन्दै एक गीत निर्माण गरे ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ जसमा गायकीमा टंक आफैँ हाबी भएका छन् । एकाध बाहेक अन्य स्वर टंककै छ । स्वरमा साथ दिए झैँ गरी गीत उनी आफैँले गाएका छन् । जुन उनका अन्धा फलोअर्स स्वीकार्न तयार पक्कै छैनन् । उक्त गीत सार्वजनिक भएपस्चात झनै अशोक दर्जीको चर्चा चुलिएको हो ।

अशोकको चर्चा र टंक बुढाथोकी

एकाएक भाइरल भएका अशोक दर्जी र टंकको कनेक्सन अचम्मको छ । सडकमा गाउँदै गरेको एक बालक काठमाडौँ आइपुग्छ अनि उसलाई गीत गाउन दिने भन्दै चर्चित संगीतकार टंक बुढाथोकी लागि पर्छन । गीत गाउन दिनु अगाडी नै उनले अशोकलाई प्रयोग गर्छन चर्चाका लागि । उनको चर्चा चुलिन्छ र गीत गाउन लगाउँछन् ।

उक्त गीतमा कोरस सरह अशोकलाई गीत गाउन दिन्छन बाँकी आफैले गाउँछन् अनि चर्चा हुन्छ अशोकको पहिलो गित सार्वजनिक भयो भनेर । यदि उक्त गीत अशोकको थियो भने टंक त्यसमा किन हाबी भएका छन् त ? अशोक गाउन सक्दैनथे होला सायद त्यसैले ? यदि त्यस्तो हो भने नसिकाई हतार हतारमा गीत रिलिज गर्नुको उदेश्य के त ? त्यो केवल अशोकको चर्चाको प्रयोग गर्दै आफु चर्चित हुने बाटो थियो ।

टंकले अशोकलाई क्यास गर्न सफल भए त्यो उनको खुबी नै हो, मान्नु पर्छ । तर अशोकले पाएको चर्चा आखिर कहिले सम्म रहला ? त्यो न टंकले सोचेका छन् न अबोध र अल्लारे अशोकले बुझ्ने छन् । अशोकलाई त यति पनि थाहा छैन होला की मलाई कुन बाटोमा लागिँदैछ भनेर ।

पहिलो गीत सर्वजनिक भएपछी देश देखी विदेशसम्म अशोकको माग हुन थाल्यो विभिन्न सांस्कृतिक कार्यक्रमहरुकालागि । कती ठाउँमा जान नमिल्ने भयो होला कती ठाउँमा उनी उपस्थित भए । उनको पहिलो वैदेशिक प्रस्तुति मलेसियामा भएको थियो त्यसपछी दुवईमा । मलेसियाको कार्यक्रममा अशोकसँगै टंकले आफ्ना छोरालाई लान चाहेका थिए तर मिलेन । अशोकको चर्चामा आफ्नो छोरालाई मिसाउने उनको धोको पुरा हुन सकेन । तर देश भित्र भएका कार्यक्रमहरुमा भने अशोकसँगै छोरा एआरलाई पनि प्रस्तुतिकालागि लाने गरेका छन् ।

अशोकको देश तथा विदेशमा हुने प्रस्तुतीहरुबाट उठेको सम्पूर्ण रकम उनको घर निर्माणमा खर्चने टंकले घोषणा पनि गरे । त्यसैबिच लगभग ४०-५० हजार सब्स्क्राइबर भएको टंकको यूट्युब च्यानलले ४ लाख बढी सब्स्क्राइबर पाउन सफल भयो । कारण, उनको हरेक कृयाकलाप टंकले अपलोड गर्न थाले । अशोकसँग सम्बन्धित सामाग्रीबाट आएको सम्पूर्ण रकम अशोकको निम्ति नै खर्च गर्ने घोषणा गरेका टंकले त्यस यूट्युब च्यानलको हकदार अशोकलाई बनाउँछन् की बनाउँदैनन् त्यो त हेर्न बाकिँ छ ।

भुल्न नहुने कुरा के हो भने पक्कै पनि टंकले अशोकको लागि घर बनाउने प्रयत्न गरेका छन् तर के उसको चर्चाको पछाडी टंकले आफ्नो चर्चाको स्वार्थ पालेका छैनन् ? हुन त जसले मह काड्छ उसले हात चाट्छ भनिन्छ तर अबोध बालकको चर्चाको प्रयोग गर्नु के गलत होइन र ?

एक जना पत्रकारले केहिदिन अगाडी आफ्नो आर्टिकलमा भनेका थिए उनलाई `ट्रेन्डिङ´ को जरुरत छ की `ट्रेनिङ´ को ? उक्त आर्टिकलको टंकले खुलेरै बिरोध गरेका थिए र भनेका थिए ‘अरु कसैले यसरी हिट बनाउन सक्छ ?’ भनेर । प्रश्न यहिँ नेर छ अशोकका कारण टंक हिट की टंकका कारण अशोक ?