दर्शकका लागि कि अनुभवका लागि नाई नभन्नु ल ?

नाई नभन्नु ल को पाँचौ सिरिज बनिसक्दा कुनै कलाकार पाँच वटैमा देखिएका छन् भने ती अनुभव रेग्मी हुन् । अनुभव रेग्मीलाई बाल कलाकारमा राखेर सुरु गरिएको सिनेमाबाट जीवन लुइटेल, आर्यन सिग्देल, सुरज सिंह ठकुरी, पल शाह बाहिरिसकेका छन् । तर, अनुभवलाई कसैले हल्लाउन सकेको छैन ।

अनुभवको उमेर बढ्दै गएपछि निर्देशक विकासराज आचार्यले कथालाई पनि उनको उमेर अनुसार रुपान्तरण गरेका छन् । अनुभव विनाको नाई नभन्नु ल, के नाई नभन्नु ल ? होला र । यो सिनेमाको कतिवटा सिरिज बन्ने रहेछ ? सिनेमाका लेखक सामिप्यराज तिमिल्सिनाका अनुसार, यो सिनेमाको ११ सम्म सिरिजि बनाउने योजना छ । किन नाम नपाएर ? त्यस्तो पनि होइन ।

११ वटा सिरिज बनिसक्दासम्म अनुभवलाई सुहाउँछ । त्यसपछि, उनी ठूला हुन्छन् । अनुभवलाई ११ वटा सिरिजमा खेलाएर उनलाई हिरोमा डेब्यू गराउने योजना विकासराजको छ । नाई नभन्नु ल को व्यापारिक ग्राफ घटेको छ । २ भन्दा ३ र ४ को व्यापार कम छ । दर्शकले अरु नाम नै पाउँदैनन् कि के हो भनेर आलोचना गर्दा पनि विकासले ११ सम्म बनाउने अड्डी लिएका छन् ।

अनुभवलाई ११ सम्म राखेर हिरो बनाउने धुनमा विकास लागेका छन् । नाई नभन्नु ल को सिरिज अनुभवका लागि बनाउने हो कि दर्शकका लागि ? कुनै दिन निर्देशक आचार्य नै कन्फ्यूज भए भने ?