कहिले रथ यात्रा, कहिले बाजाको चटक

मिलन चाम्स धेरै फिल्म बनाउने मात्र होइनन्, फिल्मको प्रमोशनका लागि अनेक दिमाग लगाउने निर्देशक पनि हुन् । फिल्म जस्तो सुकै बनोस्, उनको प्रमोशन तरिका भने हल्लाबोल नै हुन्छ ।

ह्याप्पी डेज फिल्मको प्रमोशनका बेलामा ललितपुर र भक्तपुरमा उनले रथ यात्रा गराएका थिए । रथमा अभिनेत्री प्रियंका कार्की र अभिनेता संजय गुप्तालाई चढाएर उनले राम्रै तरिका त अपनाए । तर, उनको रथ यात्राले केही पनि काम गरेन ।

फिल्म चलेन । ह्याप्पी डेजमा रथ यात्रा गरेका मिलनले बोबी फिल्मको प्रिमियरमा बाजा नै बजाए । ब्याण्ड बाजा बजाएरै उनले हल्ला गरे । कुमारी हलको वरिपरी हिड्ने दर्शकको ध्यान तान्न पनि सफल भए ।

उनले फिल्मका कलाकार उमेश थापा, कविता श्रेष्ठ, विजय लामा रेड कार्पेटमा आउँदा ब्याण्ड बाजाले स्वागत गरे । मिलनको यो हल्लाबोल पनि माहोल तताउने उपाय हो ।

तर, रथ यात्रा गरेर फिल्म भने झुर बनाएका मिलनले बोबीमा ब्याण्ड बाजा त बजाएका छन्, शुक्रबारदेखि फिल्म चलेपछि फिल्मकै ब्याण्ड बज्यो भने के होला ? फिल्मको हल्ला गर्न थुप्रै दिमाग खियाउने मिलनले फिल्म पनि कम तर राम्रो बनाइदिए हुने नि ?