नेपाल फोटो प्रतियोगिता २०७५का उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु

फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी काठमाडौँको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि सुरु भएको फोटो प्रर्दशनीको माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन् । प्रदर्शनी बुधबार देखी ६ दिन सम्म चल्नेछ ।

फोटो प्रदर्शनीमा #experienceNepal एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरि सात विधाका उकृष्ट १६० फोटोहरु प्रर्दशनीमा राखिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका थिए ।  नेपाल पर्यटकीय देश हो । यहाँका मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटोमार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ  भन्दै मन्त्री अधिकारीले फोटो पत्रकारलाई अहिले विकास भइरहेको प्रविधि र सोसल मिडियाले चुनौती बढाएको उल्लेख गर्दै फोटोपत्रकारले आफूलाई पनि उत्कृष्ट सावित गर्दै राम्रा फोटो खिच्न सुझाव दिएका थिए ।

मन्त्री अधिकारीले भिजट नेपाल २०२० लाई सफल बनाउन र नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पिजे क्लबसँग सहकार्य गर्ने समेत बताए ।  ‘भिजिट नेपाल २०२० मा लिएको लक्ष्य पुरा गर्न हामीले पिजे क्लबसँग सहकार्य गर्न तयार छौं । उनीहरुले खिचेका तस्बिर मार्फत हामी नेपालको प्रचारप्रसार गर्छौं’ उनले भने ।

फोटो पत्रकारलाई व्यवसायिक बनाउन आफू लागि पर्ने उनले बताए । ‘फोटोपत्रकार साथीहरुले फोटो खिच्नुहुन्छ । त्यसको मूल्य पाउनुहुन्न । तर हामी अब फोटोलाई उचित रकम दिएर व्यवसायिक बनाउने छौं’ उनले भने ।

उद्घाटन कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकोले फोटो पत्रकारहरुले फोटो मार्फत पर्यटन प्रबद्र्धन गर्न आग्रह गरेका थिए । कार्यक्रममा अध्यक्ष ढकालले पिजे क्लवसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिवद्धता दोहोर्याएका थिए । उनले भने. ‘फोटो प्रतियोगितामा हामी विगत केही वर्षदेखि साथै छौं । आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने विश्वास राखेको छु ।’

कार्यक्रममा क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास कार्कीले फोटो प्रतियोगिता अबदेखि निरन्तर हुने बताए । उनले नेपालमा मात्रै नभइ दक्षिण एसियालाई नै समेट्नेगरी ‘साउथ एसिया प्रेस फोटो कन्टेष्ट’ कार्यक्रमको आयोजना गर्ने तयारीमा क्लब रहेको बताए । ‘यसखालको ठूलो प्रतियगिता गर्न हामीलाई धेरै बजेट आवश्यकता पर्छ । यसको लागि सरकारले सहयोग गर्न सक्छ’ उनले भने ।

उनले दक्षिण एसियालाई समेटेर गरिने प्रतियोगिताले नेपालको ब्रान्डिङ हुने बताए । उनले जसरी नेदरल्यान्डमा विश्वभरका फोटोसमेटेर वोर्ल्ड प्रेस फोटो’ प्रतियोगिता गराएर नेदरल्यान्डको प्रचार गरिन्छ, नेपालमा पनि दक्षिण एसियालाई समेटेर फोटो प्रतियोगिता गर्दा नेपालको प्रवर्धन हुने बताए ।

यसैगरी कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रुपैयाँ फुदन सदालाई हस्तान्तरण गरे । फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बिरमा देखिएका मृतक कमल सदाका बुबा हुन् । सदाले आफूले पाएको रकमले ४ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बताए । उनले भने, ‘मैले रकम पाएको छु । छोरा बितेर गइगयो । अब यो पैसाले म जमिन भाडामा लिएर तरकारी खेती गर्छु । जसले जीवन धान्न सजिलो होला भन्ने आशा लिएको छु ।’

श्रेष्ठको फोटो अफ दि इयर बनेको तस्बिरले १ लाख रुपैयाँ जित्न सफल भएको थियो । उनले उक्त रकमबाट ७० हजार सदा परिवारलाई बाँकी ३० हजार केहीसमय अघि निधन भएका पत्रकार यादव थपलियाको परिवारलाई हस्तान्तरण गरे ।काठमाडौंमा नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिएका फोटोहरुकोे काठमाडौं बाहिर भने विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी यसै वर्ष सम्पन्न गरिनेछ ।