म अभागी निर्माता हुँ – प्रदीप कुमार उदय

निर्माता, वितरक तथा प्रदर्शक प्रदीपकुमार उदयलाई फिल्म क्षेत्रको एक विज्ञ मानिन्छ । चलचित्र संघ नेपालको अध्यक्ष पदमा रहेका उनलाई धेरैले सत्य बोल्ने बक्ताका रुपमा पनि लिने गरेका छन् । २०४५ सालमा फिल्म ‘चेलीबेटी’ निर्माण गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका उनले आजसम्म ११ फिल्म निर्माण गरिसकेका छन् । जसमा १० वटा फिल्म रिलिज भइसकेका छन् भने एक प्रदर्शनको संघारमा छ । उनले हालै मात्र आफ्नो नयाँ फिल्म ‘शुभ लभ’को पनि निर्माण घोषणा गरिसकेका छन् ।

पिताका कारण फिल्ममा
प्रदीपकुमार उदयका पिता पनि फिल्म निर्मता हुन् । उनले लामो समय फिल्म क्षेत्रमा रहेर काम गरेका छन् । प्रदीप पनि आफ्न पिताका कारण नै फिल्ममा आएको बताउँछन् । ‘म फिल्म क्षेत्रमा बाबाको कारण आएको हुँ’, उनी भन्छन्, ‘बाबाले निर्माण गरेको फिल्ममा मेरो नाम निर्माताको रुपमा लेखिएको थियो । पछी म पनि फिल्म निर्माण तिरै लागेँ ।’

फिल्म ‘चेलिबेटी’मा उनको नाम निर्माताको रुपमा रहेको थियो । निर्माता भएपनि उनले त्यस फिल्ममा निर्माण नियन्त्रक भएर काम गरेका थिए । त्यसयता फिल्ममा रुचि बढ्दै गएका कारण आज उनी फिल्म क्षेत्रमा रहेको तर्क गर्छन् ।

त्यो बेलाको परिवारिक माहोल
उनी फिल्म निर्माणमा सकृय हुन थालेको समयमा नेपाली फिल्म क्षेत्रमा छुट्टै पारिवारिक माहोल हुने गरेको अनुभव सुनाउँछन् । ‘त्यो बेला फिल्म क्षेत्रका हरेका मानिसहरुसँग परिवारिक सम्बन्ध हुन्थ्यो । सबैले एक-अर्कालाई रेस्पेक्ट गर्नुहुन्थ्यो । कोही पराई लाग्दैनथ्यो । तर, यसको मतलब अहिले पारिवारिक माहोल छैन भन्न खोजेको होइन त्यस समयको माहोल र अहिलेको माहोलमा फरक छ’ उनले भने ।

त्यो बेला कसैको विवाहमा गएर भोज गरेको जस्तो गरी फिल्ममा काम गरिन्थ्यो । त्यसरी नै फिल्मको छायांकन सकिन्थ्यो । उनी भन्छन्, त्यो बेला फिल्म सुटिङमा यो ठुलो त्यो सानो भन्ने नै हुन्थेन । कलाकारहरु पनि भान्सासम्म पुगेर काम गर्नु हुन्थ्यो । अहिले त्यो माहोल पाउन निकै गाह्रो छ ।

व्यवसायिकताको नाममा भित्रिएको विक्रृति
अहिले भने फिल्म क्षेत्रमा व्यवसायिकता बढि भएको महशुस गर्छन् प्रदीप । पहिलाको भन्दा अहिले फिल्ममा प्रोफेस्नालिजम बढेको छ तर, पूर्ण रुपमा भने छैनु । उनी भन्छन्, ‘अहिले फिल्म क्षेत्रका मान्छेहरुलाई आफ्नो काम बहेक अन्य कुराको मतलव नभएको जस्तो लाग्छ ।

अहिले फिल्म क्षेत्रमा आइरहेको विवादको कारण पनि व्यवसायिकरण नै भएको प्रदिपको बुझाई छ । कुनै पनि कलाकार वा प्राबिधिक फिल्ममा अनुबन्धित हुने बेला आफु पूर्ण प्रोफेसनल हुने तर जब काम सुरु हुन्छ त्यो बेला प्रोफेस्नालिजम नदेखिएका कारण आन्तरिक द्वन्द्व देखिन्छ । कलाकारको दायित्व अभिनय गर्नु मात्र नभएर फिल्मको प्रचार प्रसारलाई पनि समय दिनुपर्ने हो । तर, एकाध कलाकारलाई छोडेर धेरै जसो कलाकार अन्य कुनै काममा ब्यस्त भइदिन्छन् । अनि अगाडीको प्रोजेक्टलाई बेवास्ता गरिदिन्छन् ।

अहिले फिल्म क्षेत्रमा एक-आपसमा हुने वा गरिने सम्मान पनि हराउँदै गएको छ । एक निर्माताले कलाकारलाई गर्ने सम्मान, कलाकारले प्रविधिकलाई गर्ने सम्मान वा फिल्म युनिट विच कुनै सम्मान नभएको जस्तो देख्दा दु:ख लाग्छ, प्रदिपले भने । जब म यस क्षेत्रमा लागेँ त्यो बेला मैले काम गरेका साथीहरुसँग अझै पनि आफ्नै परिवारको सदस्य जस्तै सम्बन्ध छ । तर, पछिल्लो समय म आफैँले काम गरेका कतिपय व्यक्तीहरुसँग त्यत्ती राम्रो सम्बन्ध छैन् ।

रहर र प्रलोभनमा परेर डुविरहेछन् निर्माता
वर्ष भरी लगभग एक सयको हाराहारीमा फिल्म रिलिज हुने गर्छन् । तर रिलिज भएका मध्ये १० प्रतिशत फिल्मले पनि लगानी उठाउन हम्मे हम्मे परिरहेको हुन्छ । तर यो कुरा नयाँ निर्मातालाई थाहा हुदैन् । उनीहरु फिल्म क्षेत्रमा आउँछन्, फिल्म निर्माण गर्छन्, डुब्छन् अनि पुन फिल्म क्षेत्रलाई गाली गर्दै फर्किन्छन् ।

फिल्म क्षेत्रमा नयाँ निर्माता आएर डुब्नुको कारण कसैमा उनीहरुकै रहर त कोही प्रलोभनमा फस्नु भएको प्रदीपले बताए । उनले भने, कोही निर्माताहरु आफ्नो नाम मिडियामा आउने वा सबैले आफुलाई चिन्ने रहरमा फिल्म निर्माणमा लागेका छन् भने केही अर्काको प्रलोभनमा परेर पनि डुबिरहेका छन् ।

फिल्म क्षेत्रमा व्यवसायिक र दिगो निर्माता धेरै कम भएको प्रदीपको बुझाई छ । फिल्म क्षेत्रले दिगो निर्माता धेरै पाएको नै छैन्, उनी भन्छन्, फिल्म बुझेर वा फिल्म क्षेत्रलाई बुझेर आउने निर्माताको सङ्ख्या हातको औलामा गन्न सकिने छन् ।

आफ्नो फिल्मलाई मुल्याङ्कन गर्दा
‘चेलीबेटी’ देखि अन्तिम प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’सम्म आइपुग्दा प्रदीपले अहिलेसम्म १० फिल्म निर्माण गरिसकेका छन् । उनी आफुले निर्माण गरेको फिल्मबाट एकदमै सन्तुष्ट भएको बताउँछन् । मैले जति पनि फिल्म निर्माण गरेँ, म ति फिल्मबाट एकदमै सन्तुष्ट छु, कारण मैले छ्या भन्ने फिल्म बनाएको छैन्, उनले भने ।

उनी आफुलाई व्यापारिक रुपमा अभागी निर्माताको रूपमा लिन्छन् । उनले निर्माण गरेका धेरै फिल्महरु व्यापारिक रूपमा असफल छन् । उनी यो कुरालाई स्विकार्छन् पनि । म व्यापारिक रूपमा अभागी निर्माता हुँ । मैले निर्माण गरेका फिल्मबाट मैले नाफा कमाउन पाएको छैन् ।

प्रदीपको पहिलो फिल्म ‘चेलीबोटी’ प्रदर्शनको लागि दुई वर्ष रोकियो । २०४६ साल चैत २६ गते फिल्म रिलिज भएको थियो । तर, त्यही दिन बहुदल आएका कारण फिल्म रोकिएको थियो । प्रदीप भन्छन् हाम्रो फिल्मको नायक अर्जुनजंग शाही प्रहरी सेवामा हुनुहुन्थ्यो । उहाँको एक आरोपले गर्दा फिल्म रोकिएको थियो । तर, दुई वर्ष पछि फिल्म रिलिज हुदाँ पनि फिल्मले एकदमै राम्रो प्रतिकृया पाएको थियो । तर, फिल्मले नाफा दिन भने सकेन ।

प्रदीप आफ्नो फिल्मलाई यसरी रेटिङ गर्छन्, रेटिङ १० मा गरिएको हो :-

फिल्म                               निर्माणमा                    व्यापारमा
चेलीबेटी                                 ७                              ६
अल्पविराम                             ५                              ५
कहीँ मिलन कहीँ विछोड           ८                              ३
पहिलो पहिलो माया                  ७                              ८
हाम्रो माया जुनी जुनीलाई          ६                               ४
मालतीको भट्टी                        ७                              ५
अर्धकट्टी                                 ८                              ८
नमस्ते नेपाल                            ५                              ४
संरक्षण                                    ८                              ३